नारायणी र मिङमार च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ३० गते २०८२ मा प्रकाशित


पोखरा-शनिबार पोखरामा आयोजित पोखरा टेन के रोड रेसको उपाधि महिला तर्फ नारायणी भण्डारी र पुरुष तर्फ मिङमारसिंगी तामाङले जित्नुभएको छ । तामाङले रोड रेस ३१ मिनेटमा पुरा गर्दै च्याम्पियन बन्दा महिला तर्फ च्याम्पियन बनेकी नारायणीले ४१.२३ मिनेटमा पुरा गर्नुभएको थियो ।

पुरुष तर्फ दिलबहादुर बुढाले ३१.३९ मिनेटमा पुरा गर्दै दोस्रो स्थानमा रहँदा बादल कार्कीले ३३ मिनेट ०८ सेकेण्डको समयमा पार गर्दै तेस्रो स्थानमा चिक्त बुझाउनुभयो । त्यस्तै गौतम श्रेष्ठले ३३ मिनेट १२ सेकेण्डमा पुरा गर्दै चौथो र कमल नेपालीले ३३ मिनेट २४ सेकेण्डमा पुरा गर्दै पाँचौ स्थानमा रहँदै प्रतियोगिता टुग्याउनुभएको थियो ।

महिला तर्फ नारायणी भण्डारी च्याम्पियन बन्दा जुनमाया श्रेष्ठ दोस्रो स्थानमा रहनुभयो । उहाँले दौड पुरा गर्न ४२ मिनेट ०६ सेकेण्डको समय लगाउनुभयो । दौपतीकुमार कठायतले ४४ मिनेट ५३ सेकेण्डको समय लगाउँदै तेस्रो, यमुना घर्तीमगरले ४५ मिनेट ४६ सेकेण्ड तथा सानी चौधरीले ४९ मिनेटमा पुरा गर्दै पाँचौ स्थान प्राप्त गर्नुभएको थियो ।

५ किलोमिटर विद्यालयस्तरीय छात्रा तर्फको दौडमा गौरीशंकर माविकी पुष्पा भण्डारी, मेघराजकी एन्जिला जिटी, छोरेपाटन माविकी साधना परियार, त्रिवेणी एकेडेमीकी एन्जल अधिकारी र शुक्ला गण्डकीकी अनुषा बुढाले क्रमश प्रथम, द्धितीय, तृतीय, चौथो र पाँचौ स्थान प्राप्त गर्न सफल हुनुभयो । छात्र तर्फको प्रतिस्पर्धामा त्रिवेणी एकेडेमीका अमृत विश्वकर्मा प्रथम हुदाँ, रुपेशकुमार माझी दोस्रो, तेन्जन रोका तेस्रो, रोहनकुमा माझी चौथो र सुजन नेपाली पाँचौ स्थानमा रहँदै दौड टुग्याउनुभयो ।

कास्की जिल्ला एथलेटिक्स संघको आयोजना तथा एग्रो थाई फुड्स प्रालि नेपालको उत्पादन एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन रहेको प्रतियोगितामा महिला तथा पुरुष टेन के रोड रेस विजेतालाई नगद २०, १५, १०, ७ र ५ हजार रुपैयाँ प्रदान गरिएको थियो । द्यिालयस्तरीय पाँचकिलोमिटर दौड विजेता छात्र तथा छात्रालाई नगद १०, ७, ५, ३ र दुई हजार रुपैयाँ प्रदान गरिएको थियो । प्रतियोगिताको उदघाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो ।

पोखरा मात्रै एउटा यस्तो शहर हो जहाँ म्याराथन, हाफ म्याराथन र टन के रोड रेसको शुरुवात भएको छ । एथलेटिक्स खेल मार्फत आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्ेश्यसहित संघले पोखरा टेन के रोड रेस गरिएको संघका सचिव सिद्धान्त अधिकारीले बताउनुभयो । रोड रेस पुरा गर्ने सबै धावकहरुलाई पदकबाट सम्मानित गरिएृको थियो ।

पोखरा टेन के रोड रेसमा पुरुष तर्फ ४ सय १०, महिला तर्फ ५० जना भन्दा बढीको सहभागिता रहेको थियो । पाँच किलोमिटर दौडमा छात्र तथा छात्रा गरी ७ सय १६ जना सहभागिता रहेको थियो । दौड पुरा गरेका शीर्ष २५ धावकलाइ उपहार समेत प्रदान गरिएको थियो ।