सोमबारदेखि पोखरामा विश्व टेनिस टुर जे३० शुरु हुदैं

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १५ गते २०८२ मा प्रकाशित


पोखरा-सोमबारदेखि पोखरामा विश्व टेनिस टुर जे३० पोखरा शुरु हुदैं छ । पोखरामा यो प्रतियोगिता विगत आठवर्षदेखि आयोजना हुदै आएको छ ।
आठौं संस्करणसम्म आईपुग्दा कास्की जिल्ला टेनिस संघले एउटा क्ले कोर्ट थप्न सरकारसँग अनुरोध गर्दै आएको छ । अतिरिक्त क्ले कोर्ट नथपिदाँ आगामी वर्ष पोखराले २४ को ड्रमा सीमित हुने छ । पोखराले सोमबारदेखि ३२ को ड्र खेलाउने छ । त्यसको लागि आवश्यक तयारी पुरा भईसकेको छ । १३ देखि १८ वर्ष उमेर समूहको ब्वाईज तथा गल्स टेनिस खेलाडी पोखरा आईसकेका छन् । प्रतियोगिता दुई साता चल्ने छ ।

पोखरा रंगशालास्थित ६ वटा क्ले कोर्टमा १६ देशका ८० भन्दा बढी टेनिस खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल टेनिस संघका सचिव अजय विष्टले जानकारी दिनुभयो । उहाँले आगामी वर्ष पोखरा रंगशालामा एउटा क्ले कोर्ट नथपिए भईरहेको ड्रको खेल खेलाउने अवसर गुम्ने बताउनुभयो । उहाँले ३२को ड्र खेलाउन खेलाडीलाई प्रशिक्षण कोर्ट अत्यावश्यक र प्रतियोगिताको लागि ६ वटा क्ले कोर्ट अनिवार्य हुनुपर्ने प्रावधान टेनिसको सर्वोच्च संस्था आईटिएफले उल्लेख गरिसकेको सुनाउनुभयो ।

६ वटा कोर्टमध्ये ५ वटामा मात्रै प्रतियोगिता खेलाउन सकिन्छ । एउटा कोर्ट खेलाडीलाई वार्मअपको लागि छोड्नुपर्ने प्रावधानकै कारण नयाँ कोर्ट नथपिए पोखरामा २४ को मेन ड्र हुने छ । प्रतियोगितामा १३ देखि १८ वर्ष उमेर समूहका खेलाडीहरुले विश्व बरियताको आधारमा मेन ड्रमा प्रवेश पाउने उहाँले बताउनुभयो । विजेताले ३० अंक पाउने छ । उपविजेताले १८ र सेमिफाईनलिष्टले ९ अंक, क्र्वाटरफाईनलिष्टले ५ र राउण्ड १६ मा प्रवेश गर्नेले २ अंक प्राप्त गर्ने कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङले बताउनुभयो । त्यस्तै डबल्स तर्फ २५, १३, ६ र क्र्वाटर फाईनलिष्ट ३ अंक प्राप्त गर्ने छन् ।

दुई सर्किटमा हुने प्रतिस्पर्धामा १६ देशका खेलाडीहरुको सहभागिता रहेको छ । नेपाल, भारत, चीन, अमेरिका, न्युजिल्याण्ड, ताईवान, अष्ट्रेलिया, कोरिया, युके, बंगलादेश, क्यानडा, सिंगापुर हङकङ, मलेसिया, श्रीलंका तथा इजरायलबाट ८० खेलाडीहरुको नाम दर्ता भएको कास्की जिल्ला टेनिस संघले जनाएको छ । प्रतियोगितामा विजेताले पदक तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।