पोखरेली खेलाडी दर्शिलको उत्कृष्ट शुरुवात

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १६ गते २०८२ मा प्रकाशित


पोखरा-पोखरेली युवा टेनिस प्लेयर दर्शिल श्रेष्ठले पोखराको घरेलु कोर्टमा भारतीय खेलाडीलाई पराजित गर्दै विश्व बरियता टेनिस टुर जे३० को सुखद शुरुवात गरेका छन् । सोमबारदेखि पोखरा रंगशालास्थित टेनिस कोर्टमा शुरु भएको ब्वाईज तर्फको मेन ड्रमा दर्शिलले भारतीय खेलाडी अयन दहियालाई सोझो सेटमा पन्छाउँदै जित आत्मसात गरे । ब्वाइज सिंगल्सतर्फ खेलमा दर्शिल श्रेष्ठले भारतीय खेलाडी अयन दहिया विरुद्ध ६–०, ६–१ को नतिजा निकाल्न सफल भए ।

शीर्ष नं १ ताइपेइका टिङ–हो याङले नेपालका असव सम्राट हाडालाई ६–०, ६–२ ले पराजित गर्दै पोखराको यात्रालाई सुखद बनाए । आइटिएफ जे३० टेनिस टुर पोखरामा नेपाली खेलाडीले मिश्रित नजिता आत्मसात गरेका छन् । नेपालका आयुष्मान हजुर घलेले दक्षिण कोरियाका ह्यो जिन हा विरुद्ध ६–३, ६–० को सहज जित निकाल्दै घरेलु समर्थकलाई उत्साहित बनाए । तेस्रो वरीयताका कोरियाली खेलाडी युल हो जुङले नेपालका शाश्वत बज्राचार्य विरुद्ध बलियो प्रदर्शन गर्दै ६–०, ६–० को सोझो सेटमा चुनौति पन्छाए ।

नेपालका करण थापाले चौथो वरीयताका शौनाक चटर्जी (भारत) लाई ६–१, ६–२ को सेटमा पराजित गरे । पाँचौं वरीयता प्राप्त प्रणव मानन्धर (नेपाल)ले चीनका जियालियाङ गुओलाई ६–२, ७–५ ले हराउँदै अर्को चरणमा प्रवेश गरेका छन् । त्यस्तै ब्वाइज तर्फनै अन्य विजेतामा रेहान गुणवर्धन (श्रीलंका), फजल अली मीर (भारत), गनुका फर्नान्डा श्रीलंका), यांशुओ पान(चीन) तथा रोबर्ट डोल्या (सिंगापुर) रहेका छन् ।
गल्र्स सिंगल्सतर्फ नेपाली खेलाडीद्वय शाल्बी शेरचन र स्वस्तिका विष्ट मेन ड्रको पहिलो खेलबाट बाहिरिएका छन् ।

शाल्बी भारतीय खेलाडी इशा शर्मासँग ६–२, ६–२ ले तथा स्वस्तिका तेजस्वी मानेनीसंग टाइ–ब्रेकमा ७–६(६), ६–४ ले पराजित हुन पुगिन् । गल्र्स सिंगल्सतर्फ भारतका खेलाडीहरूले प्रभाव जमाउँदै इशा शर्मा, शताक्शिखा सहायाक, नोराह चौधरी, रञ्जना संग्राम र मेहा पाटिल सबैले आफ्नो खेल जित्दै अर्को चरणमा स्थान सुरक्षित गरे भने ताइपेइकी के–चियाह हसु र चीनकी युनर ची ले आ–आफ्नो खेल जित्दै अर्को चरणमा प्रवेश गरे । नाला जोसेफिन मास्की (अमेरिका) र आयेशा बगला (भारत) बीचको प्रतिस्पर्धा हेर्न लायक बन्यो । मास्कीले ६–२, ६–७(७), ६–२ ले जित हाँसिल गरिन् ।

मंसिर २७ गते दुई सातासम्म लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० मा १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ । ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना रहेका छन् । दुई सर्किटमा खेल हुने छ । प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन्