एनएसए कप च्याम्पियनसिप, पहिलो दिन तीन राष्ट्रिय किर्तिमान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २२ गते २०८२ मा प्रकाशित


काठमाडौं-नेपाल पौडी संघको आयोजनामा भएको १३ औं एनएसए कप च्याम्पियनसिपको पहिलो दिन तीन राष्ट्रिय किर्तिमान कायम भएको छ । आज भएको १५०० मिटर फ्रिस्टायलमा जेम्सका कल्किन श्रेष्ठले १७ मिनट ०५ । ६४ सेकेन्ड समयका साथ राष्ट्रिय किर्तिमानमा आफ्नो नाम लेखेका हुन् । यस अघि नासिर याहा हुुसेनको नाममा १७ मिनट ४९।९५ सेकेन्ड समयको किर्तिमान कायम थियो । हुसेनले उक्त किर्तिमान काठमाण्डौमा भएको १३ औं सागमा कायम गरेका थिए ।

यस्तै अर्को किर्तिमान २०० मिटर फ्रिस्टायलमा भएको थियो । उक्त दुरी १ मिनट ५६।२७ सेकेन्ड समयका साथ पुरा गर्दै नेपाल पुलिस क्लबका इरभिन श्रेष्ठले आफ्नो नाम लेखाए । यस अघि नासिको नाममा १ मिनट ५८।३० सेकेन्ड समयको किर्तिमान थियो । उनले १५ औं फिना वल्र्ड पौडी च्याम्पियनसिपमा किर्तिमान राखेका थिए ।

यसै गरि अर्को किर्तिमान सौर्यन बहादुर सिंहले १०० मिटर बटरफ्लाईमा राखे । सिंहले उक्त दुरी ५८।६४ सेकेन्ड समयका साथ किर्तिमान राखेका हुन् । यस अघि अजल काजी ताम्रकारले ललितपुरमा भएको पहिलो नेपाल एक्वाटिक्स च्याम्पियनसिप २०२४ मा ५९।१७ समयको किर्तिमान राखेका थिए ।

आज भएको च्याम्पियनसिपमा १४ स्वर्णको छिनोफानो भएको छ । १५०० मिटर फ्रिस्टायलमा नेपाली सेनाको आर्मी क्लबका सनिल कुमार थापा मगर दोश्रो र जेम्सका मायोन श्रेष्ठ तेश्रो भए । २०० मिटर फ्रिस्टायलमा बिहान भएको हिट चरणमा राष्ट्रिय किर्तिमान कायम गरेका नेपाल पुलिस क्लबका इरभिन श्रेष्ठले फाईनलमा १ मिनट ५७।६० सेकेन्ड समयका साथ पहिलो स्थान हात पारे । दोश्रो स्थानमा जेम्सका कल्किन श्रेष्ठ र तेश्रो स्थानमा सुदुरपश्चिम प्रदेशका अथर्व सिंह रहे ।

१०० मिटर बटरफ्लाईमा दोश्रो स्थानमा नेपाल पुलिसका अशिम भण्डारी र तेश्रो स्थानमा नेपाली सेनाको आर्मी क्लबका अभिभ प्रधान रहे ।
२०० मिटर ब्रेष्ट स्ट्रोकमा सुदुरपश्चिमका अभर्व सिंहले २ मिनट ३१।७० सेकेन्ड समयका साथ पहिलो भए । दोश्रो स्थानमा कोशी प्रदेशका बिकास कुमाल भए भने तेश्रो स्थानमा आर्मीका आरभ अग्रवाल रहे ।

५० मिटर ब्याक स्ट्रोकमा नेपाल एपिएफका जेडन श्रेष्ठले २८।३३ सेकेन्ड समयका साथ स्वर्ण पाए । आर्मीका रेवन्त बहादुर श्रेष्ठले रजत र एपिएफका निर्भय थापाले कास्य पाए । ५० मिटर फ्लाईमा नेपाल पुलिसका अशिम भण्डारीले २६।७७ सेकेन्ड समयका साथ स्वर्ण हात पार्दा आर्मीका अभिभ प्रधानले रजत र कोशीका बिकास कुमालले कास्य हात पारे । २०० मिटर महिला तर्फ नेपाल पुलिस क्लबकी अध्याश्री जोशीले ३ मिनट ४।०७ सेकेन्ड समयमा दुरी पार गर्दै स्वर्ण जितिन् । न्यू मिलेनियमकी प्राज्ना ताम्राकारले रजत र नेपाल पुलिस क्लबकी मेधावी के।सी।ले कास्य हात पारे ।

४०० मिटर फ्रिस्टायलमा आर्मीकी मिखा थापाले स्वर्ण जितिन् । उनले उक्त दूरी ४ मिनट ४८।८४ सेकेन्ड समयमा पुरा गरिन् । एपिएफकी आर्या महर्जनले रजत र पुलिसका लुना श्रेष्ठले कास्य पाए ।५० मिटर ब्याक स्ट्रोकमा आर्मीकी मिखा थापाले ३२।३८ सेकेन्ड समयका साथ स्वर्ण जित्दा एपिएफकी आर्या महर्जनले रजत र पुलिसका लुना श्रेष्ठले कास्य जिते । १०० मिटर फ्लाईमा नेपाल पुलिस क्लबकी देवांशी जोशीले १ मिनट १२।९६ सेकेन्ड समय लगाउँदै स्वर्णमा नाम लेखिन् । मिल्स वेरीकी सिशोम्बु राईले रजत र आर्मीकी आभा बैद्यले कास्य जिते । २०० मिटर प्mलाईमा आर्मीकी मिखा थापाले स्वर्ण जितिन् । थापाले उक्त दूरी २ मिनट १६।५६ सेकेन्ड समय लगाईन् । नेपाल पुलिसकी इभाना श्रेष्ठले रजत र जेम्सकी श्रेया महर्जनले कास्य जिते । ५० मिटर फ्लाईमा आर्मीकी मिखा थापाले ३०।९० सेकेन्ड समय लगाउँदै स्वर्ण जितिन् । नेपाल पुसिलका देवांशी जोशी र लुना श्रेष्ठले रजत र कास्य हात पारे ।

५० मिटर गुणा ४ फ्रिस्टायल रिलेमा पुरुष तर्फ नेपाल आर्मी क्लबले स्वर्ण जित्यो । अभिभ प्रधान, सनिल कुमार थापा मगर, आरभ अग्रवाल र रेवन्त बहादुर श्रेष्ठको संयुक्त टिमले १ मिनट ४२।९१ सेकेन्ड समयका साथ दुरी पुरा गरेका थिए । नेपाल पुलिसका खेलाडीहरुले रजत र एपिएफका खेलाडीहरुले कास्य पाए । यस्तै महिला तर्फ नेपाल एफएफ पहिलो, पुलिस दोश्रो र आर्मीले तेश्रो स्थान प्राप्त ग¥यो । एपिएफका रोशी न्यौपाने, जोया थापा, बैनभी श्रेष्ठ र आर्या महर्जनको टिमले २ मिनट १।१३ सेकेन्ड समयका साथ स्वर्ण जितेका थिए । च्याम्पियनसिपको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले उद्घाटन गरेका थिए । च्याम्पियनसिपमा ३१ स्वर्ण पदकका लागि १८३ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ७७ महिला र १०६ पुरुष खेलाडीहरु रहेका छन् ।