एशियन गेम्समा सहभागि पूर्व एथलिट रानालाई सम्मान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २६ गते २०८२ मा प्रकाशित


पोखरा-कास्की जिल्ला एथलेटिक्स संघले एथलेटिक्सका पूर्व एथलिट सोमबहादुर रानालाई नगदसहित सम्मान गरिएको छ । जिल्ला एथलेटिक्स संघको सभाहलमा शनिबार आयोजित दोस्रो वार्षिक साधारण सभामा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता समेत जनाईसकेका पूर्व खेलाडी रानालाई सम्मान गरिएको हो । कास्की जिल्ला एथलेटिक्स संघका अध्यक्ष गजबहादुर गुरुङ र सचिव सिद्धान्त अधिकारीले खादा, सम्मानपत्रसहित नगदबाट सम्मान गरेका हुन् । नगद १० हजार राशी रहेको छ ।

सम्मानित राना नेपाली सेनाका अवकाश प्राप्त हुन् । सेनामै रहँदा उनले विभिन्न एथलेटिक्सका राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाईसकेका एथलिट हुन् । रानाले सन १९९४ मा जापानमा आयोजित एशियन गेम्समा १५ सय मिटर दौडमा सहभागिता जनाएका थिए । १९९५ मा भारतको मद्रासमा आयोजित साफ च्याम्पियनसिपमा समेत सहभागिता जनाएका थिए । साधारण सभामै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ तथा पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारलाई समेत सम्मानित गरिएको थियो ।

साधारण सभामा संघका कोषाध्यक्ष गोपबहादुर अधिकारी र सचिव सिद्धान्त अधिकारीले प्रतिवेदन पेश गरेका थिए । सचिव अधिकारीको प्रतिवेदनमा संघले एक वर्षको अवधिका पोखराा ओपन एथलेटिक्स मिट, राष्ट्रिय एथलेटिक्स रेफ्री लाईसेन्स कोर्ष, पोखरा १० के सडक दौड, खेलाडीहरुलाईै नियमित निशुल्क प्रशिक्षण, रंगशाला सरसफाई तथा खेलाडी खेलकुद सामाग्री हस्तान्रण गरिएको उल्लेख छ । साधारण सभाको प्रमुख आतिथ्य संघका पूर्व अध्यक्ष खेम गुरुङले गरेका थिए भने स्वागत संघका बरिष्ठ उपाध्यक्ष हरिबहादुर थापाले गरेका थिए ।