२५ औं आहा रारा गोल्डकप फ्लड लाईटमा गर्ने सहाराको तयारी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २८ गते २०८२ मा प्रकाशित


पोखरा रंगशालास्थित फुटबल मैदान तथा प्यारापिट

कास्की –आगामी माघको अन्तिमसातादेखि शुरु हुने आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करणमा पोखरेली फुटबलप्रेमीले रात्रीकालिन फुटबलको अुनभव लिन पाउने छन् । त्यसको लागि सहारा क्लब पोखराले आन्तरिक गृहकार्य गरिसकेको छ ।

पोखरामा पहिलो पटक पोखरा रंगशाला फुटबल मैदानमा फ्लडलाईटमा आहा रारा गोल्डकप हुने छ । फ्लड लाईट जडान गर्ने विषयमा सहारा क्लबले सम्झौता समेत गरिसकेको छ । प्रतियोगिताको उदघाटन नै बत्तीमा खेलाउने योजनासहित काम अघि बढाइएको सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिनुभयो । “उदघाटन खेल नै बत्तीमा खेलाउने योजना छ । योजना अनुसार प्राविधिकले बत्ती जडान गर्ने छन् । जडान भ्याइएको अवस्था प्रतियोगिता रातीमा खेलाउने क्लबको लक्ष्य छ ।” उहाँको भनाई थियो ।

बत्ती जडानको लागि क्लबले कोशी फुलबारी क्रिकेट क्लबका अध्यक्ष शिवकुमार यादवसँग सम्झौता भईसकेको जनाएको छ । सम्झौता अनुसार फुटबल मैदानको चार दिशामा बत्ती जडान गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार एउटा पोलामा १६ वटासम्म बत्ती जडान गरिने छ ।
बत्तीको उचाई ३५ फिटको हुने क्लबले जनाएको छ । “यो हाम्रो पहिलो प्रयास हो । २५ औं वर्षको अवसरमा यो प्रयास सफल भए आगामी दिनमा पनि रात्रीकालिन समयमा फुटबल प्रतियोगिता खेलाउन सकिन्छ भन्ने सन्देश जाने छ । सन्देश मात्रै नभई बत्ती जडान गर्नुपर्छ भन्ने दबाव अखिल नेपाल फुटबल संघ र राष्ट्रिय खेलकुद परिषदलाई हुने छ ।” उहाँको भनाई थियो । बत्ती जडान गर्ने क्लबले २० लाख खर्च हुने अनुमान गरेको छ । यद्यपी सम्झौत भएपनि सम्झौता रकम भने क्लबले उल्लेख गर्न चाहेन् ।

२५ औं संस्करणको आहा रारा गोल्डकप आगामी माघ २७ देखि फागुन ९ गतेसम्म आयोजना हुने मिति तय भएको छ । क्लबले रजत जयन्ती फुटबल प्रतियोगितालाई अझ व्यवस्थित र भव्य बनाउने योजनासहित अघि बढेको छ । तीन विदेशी क्लब, आयोजक र अन्य ए डिभिजनका क्लबलाई प्रतियोगितामा समावेश गर्ने योजना क्लबको छ । पोखरा महानगरपालिकासँग समेत सहकार्य गर्दै भगिनी सम्बन्ध विस्तार भएका विदेशी शहरको फुटबल टिमलाई पोखरा उतार्ने लक्ष्य समेत क्लबले राखेको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो । प्रतियोगिताको मुख्य प्रायोजक हिम श्री फुड्स प्रालिले निरन्तरता दिदैं आएको छ ।