फेवा किङ्स कप भलिबल- आयोजक किङ्स क्लब विजयी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १० गते २०८३ मा प्रकाशित


पोखरा-युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा बुधबारदेखि सुरु भएको ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गतको उद्घाटन खेलमा आयोजक किङ्स क्लब पोखराले विजयी सुरुआत गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा आयोजक टिमले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आयोजकले कोशीलाई २६–२४, २५–१८ र २५–२० सेटमा हराउँदै लिग तालिकामा ३ अंक जोडेको हो ।

फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा बुधबारदेखि सुरु भएको पतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ । प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै ३ अंक जोडेको छ । दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई ३–२ सेटमा हराएर २ अंक जोडेको थियो भने हारेको पुलिसले १ अंक बनाएको छ ।

प्रतियोगिता अन्तर्गत बिहीबारको पहिलो खेल किङ्स क्लब पोखरा र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । दोस्रो खेलमा कोशी प्रदेश र नेपाल पुलिस क्लब, तेस्रो खेलमा एपिएफ र गण्डकी प्रदेश खेल्ने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए ।

राउण्ड रोबिन फर्म्याटमा सञ्चालन हुने प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए । उनका अनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव अशोक थापाले जानकारी दिए ।