
गजेन्द्र र पुष्पा हाफ म्याराथन च्याम्पियन
काठमाडौं -नेपाली सेनाका गजेन्द्र राई र एपीएफ क्लबकी पुष्पा भण्डारी प्रथम किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार पहिलो भएका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको पुरुषमा गजेन्द्रले निर्धारित दूरी १ घण्टा ६ मिनेट ५१ सेकेन्डमा पूरा गरे । गजेन्द्रसहित शीर्ष पाँच स्थानमा सेनाकै खेलाडी रहे । १ घण्टा ७ मिनेट २० सेकेन्डमा खगेन्द्र भाट, १ घण्टा ९ मिनेट ३९ सेकेन्डमा रामजी बस्नेत, १ घण्टा १० मिनेट २९ सेकेन्डमा देवराज बस्नेत र १ घण्टा ११ मिनेट ४३ सेकेन्डमा जितेन्द्र अधिकारी दनुवारले क्रमशः दोश्रोदेखि पाँचौ स्थानमा दौड टुंगाए । शीर्ष तीन स्थानमा रहनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाए । चौथो र पाँचौले समान ५–५ हजार नगद पुरस्कार हासिल गरे ।
महिलामा बंगलादेशको ढाकामा भएको फुल म्याराथनमा स्वर्ण जित्दै महिलातर्फ इतिहास रचेकी पुष्पाले निर्धारित दूरी तय गर्न १ घण्टा २३ मिनेट ३७ सेकेन्ड समय खर्चिन् । सेनाकी पूर्णलक्ष्मी न्यौपाने १ घण्टा २८ मिनेट ४१ सेकेन्डमा दोश्रो, एपीएफकी आशा रावत १ घण्टा ३६ मिनेट ४९ सेकेन्डमा तेश्रो र काठमाडौंकी रोशना रिजाल १ घण्टा ५१ मिनेट २६ सेकेन्डमा चौथो भए । महिलाले पनि पुरुष सरहनै नगद पुरस्कार जिते ।
विजेतालाई नेपाली कांग्रेसका नेता पूर्व मन्त्री पूर्णबहादुर खड्का, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । त्यसअघि प्रतियोगिताको सांसद् गगनकुमार थापाले उद्घाटन गरेका थिए । दौड गोल्फुटारबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी सोही स्थानमा आएर टुंगिएको थियो ।
समापनका अवसरमा ओलम्पियनत्रय एथलेटिक्सका बैकुण्ठ मानन्धर, जितबहादुर केसी र पुष्पराज ओझा तथा बक्सिङका सुरेश आले मगरलाई सम्मान गरिएको थियो । त्यसै अवसरमा वरिष्ठ फोटो पत्रकार श्याम चित्रकार पनि सम्मानित भए । पाँचैलाई दोसल्ला, कदरपत्र र नगद ५ हजारसहित सम्मान गरिएको थियो । बक्सिङका मगर भने स्वास्थ्यका कारण उपस्थित थिएनन् । उनको पुरस्कार बक्सिङका किशोर केसीले ग्रहण गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…