नाटकीय जित निकाल्दै काठमाडौं प्लेअफमा, चितवनको पहिलो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २३ गते २०७८ मा प्रकाशित


काठमाडौं । ललितपुर सिटी एफसीले राजधानीमा जारी नेपाल सुपर लिगमा पहिलो जित निकाल्दा दिनको दोस्रो खेलमा काडमाडौं रेजर्स विराटनगर सिटी फुटबल क्लबविरुद्ध नाटकीय जित हात निकालेर प्लेअफमा पुग्ने दोस्रो टोली भएको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा लुम्बिनी फुटबल क्लबलाई पराजित गर्ने क्रममा ललितपुरले १–० को रोमाञ्चक जित निकालेको हो । दोस्रो खेलमा नाटकीय जित हात पार्दा काठमाडौं रेजर्सले विराटनगर सिटीलाई ५–४ ले हराउँदै प्लेअफमा स्थान बनाएको हो ।

नाटकीय जितमा काठमाडौं रेजर्सले २–० ले पछि परेको अवस्थामा उल्टाएर आत्मसात गरेको हो । पहिलो हाफमा पाँच गोल हुँदा काठमाडौंले २–० ले पछि परेको अवस्थामा अग्रता उल्टाउन सफल भएको छ । पहिलो हाफ ३–२ ले नतिजा निकालेको काठमाडौंले दोस्रो हाफमा थप दुई गोल गर्दा दुई गोल खान पुगेको थियो ।

काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले ह्याट्रिक पूरा गर्दा स्टेफेन बिनोङ र छिरिङ गुरुङले एक÷एक गोल गरे । विराटनगरका पेड्रो मान्जीले दुई गोल फर्काउँदा एडिलाजा सोमिडे र रञ्जित धिमालको नाममा एक÷एक गोल रह्यो ।

छैटौं मिनेटमा एडिलाजा सोमिडेले गोल गर्दै विराटनगरलाई अग्रता दिलाए । ३३ औं मिनेटमा पेड्रोले गोल गर्दै विराटनगरको अग्रता दोब्बर बनाएका थिए । तर ३५ औं मिनेटमा मेसौके ओलोमोउले गोल गर्दै काठमाडौंलाई २–१ को स्थितिमा झारे । त्यसको एक मिनेट नबित्दै मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २–२ को बराबरीमा फर्काए । मैदानको बायाँ भागबाट क्रस गरेको एयर बलले सिधै गोलको दिशा लिएको थियो । ४१ औं मिनेटमा स्टेफेन बिनोङले गोल गर्दै काठमाडौंलाई ३–२ को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा काठमाडैंले विराटनगरलाई दबाब दिएर खेल्यो ।

६८ औं मिनेटमा मेसौकेले ह्याट्रिक पूरा गर्दै काठमाडौंलाई ४–२ को अग्रता दिलाए । करिब ६ यार्डबाट प्रहार गरेको बल दोस्रो बारको टप कर्नरमा लाग्दै गोलपोस्टको दिशा लिएको थियो । ७९ औं मिनेटमा विराटनगरका कप्तान रन्जित धिमालले गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याए । मध्ये भागबाट अगाडी बढाउदै प्रहार गरेको बल पोस्टको दायाँ बारमा लाग्दै गोलमा परिणत भएको थियो । ८३ औं मिनेटमा छिरिङ गुरुङले गोल गर्दै काठमाडौंलाई ५–३ को अग्रता दिलाए । इन्जुरी समयमा पेड्रोले व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई ५–४ को स्थितिमा ल्याए पनि टोलीको हारलाई टार्न सकेनन ।

जितसँगै काठमाडौंले ५ खेलमा १० अंक जोडेर प्लेअफमा स्थान बनाएको छ । यससँगै काठमाडौं प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ । विराटनगरले ५ खेलमा ७ अंक जोडेको छ । विराटनगरको पनि प्लेअफ सम्भावना रहेको छ ।

खेलमा काठमाडौं रेजर्सका विश्वस श्रेष्ठ इमिर्जिङ प्लेयर्स घोषित हुँदै नगद १० हजार रुपैयाँ हात पारे । यस्तै जारी प्रतियोगितामा पहिलो ह्याट्रिक पूरा गरेका काठमाडौंकै मेसौके ओलोमोउले सुपर प्लेयर्स चुनिँदै नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै दिनको पहिलो खेलमा ललितपुरलाई जित दिलाउन नुर्लान नोभ्रुजुभ जाहिदले पाँचौ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । सुरुआती अग्रतालाई अन्तिम मिनेट सम्म ललितपुरले निरन्तरता दिँदै जारी प्रतियोगितामा पहिलो जित पनि निकालेको हो । कप्तान अन्जन बिष्टको हेडर पासमा अनमार्क रहेका नुर्लानले हेडमार्फत गोल गरेका थिए ।

जितसँगै ललितपुर लिगको चौंथो स्थानमा उक्लिएको छ । ललितपुरले ५ खेलमा ६ अंक जोडेको ललितपुरको एक खेल बाँकी रहेको अवस्थामा अझै पनि प्लेअफ सम्भावना काममै रहेको छ । पराजित बुटवल भने लिगको पाँचौं स्थानमा झरेको छ । बुटवलले ५ खेलमा ५ अंक नै छ ।

खेलमा ललितपुरका कप्तान अन्जन विष्ट प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । यस्तै इमर्जिङ प्लेयर अफ दि म्याच ललितपुरका मिक्छेन तामाङ चुनिए । उनले १० हजार प्राप्त गरे । प्रतियोगितामा भोली पोखरा थन्डर्स र एफसी चितवनबीच खेल हुनेछ ।