सुटिङमा कल्पनाद्वारा राष्ट्रिय कीर्तिमानमा सुधार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण ९ गते २०७८ मा प्रकाशित


काठमाडौं । टोकियो ओलम्पिक २०२० अन्तर्गत सुटिङ विधामा आज भएको छनोट चरणको खेलमा नेपालकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

कल्पनाले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । आसाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा ६ सय १६.८ अंक जोड्दै आफैले बनाएको राष्ट्रिय कीर्तिमानलाई सुधार गरेकी हुन् । यस अघि कल्पनाले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४.५ अंक जोडेकी थिइन् ।

राष्ट्रिय कीर्तिमान बनाउने क्रममा कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४, तेस्रोमा १०१.०, चौंथोमा १०४.१, पाँचौमा १०३.४ र छैटौं १००.७ अंक जोडेकि थिइन् । ५० खेलाडी रहेको छनोट चरणमा कल्पना ४६ औं स्थानमा रहँदा फाइनल चरणमा भने पुग्न सकिन ।

छनोटको शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका छन् । नेपालबाट सुटिङको प्रतिनिधित्व गरेकी कल्पनाले वाइल्डकाडको माध्ययमबाट ओलम्पिकमा छनोट भएकी हुन ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबाट खेल्दै आएकी कल्पनासँगै टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडी सहभागी जनाएका छन् ।

वर्ष दिन पछि धकेलिएको ओलम्पिक शुक्रबार भव्य रुपमा उद्घाटन भएको थियो ।