पुरानो नहट्दै नयाँ नियुक्ति गर्न लबिङ

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २ गते २०७८ मा प्रकाशित


जिल्ला खेलकुद विकास समितिको कार्यालय । तस्बिर खेलाडी न्युज

पोखरा-जिल्ला खेलकुद विकास समिति कास्कीमा नयाँ कार्यसमितिको लागि चर्चा शुरु भएको छ । संघीय सरकारले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि जिल्ला खेलकुद विकास समितिमा नियुक्त भएकाहरुलाई हटाउने चर्चा शुरु भएको हो । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले दशैं लगत्तै अघिल्लो सरकारले निर्णय गरेर राजनीतिक नियुक्त भएका खेलकुद विकास समितिका पदाधिकारी एवं सदस्यहरुलाई हटाउने सार्वजनिक अभिव्यक्ति दिईसकेका छन् ।

मन्त्री गुरुङले दशैं अघि नै खेलकुदमा नियुक्त भएका सदस्य एवं पदाधिकारी हटाउने कार्यविधी तयार भईसकेको उल्लेख गर्दै गण्डकी प्रदेश गठबन्धन सरकारले पनि समितिमा नयाँ नियुक्त गर्ने तयारी गरेको छ । यद्यपी अघिल्लो सरकारले नियुक्त गरेको समितिका पदाधिकारी एवं सदस्यहरु भने हटिसकेको अवस्था भने छैन् । खेलकुद मन्त्रालय स्रोतका अनुसार कास्कीमा अध्यक्षको आन्तरिक लबिङ शुरु भईसकेको छ ।
प्रदेशमा ११ जिल्ला छन् । राजनैतिक पार्टीको भागवण्डाको छलफलपछि निर्णयमा पुग्ने जनाइएको छ । ‘गठबन्धन सरकार भएकोले राजनैतिक नियुक्तिमा समझदारी गर्ने हो ।’ गण्डकी प्रदेश सदस्य एवं अर्थ समितिका संयोजक दिपक कोईरालाले भने–‘११ वटै जिल्लाको भागबण्डाको लागि छलफल हुदै छ । त्यसपछि मात्रै नियुक्तिको प्रक्रिया अघि बढ्छ ।’ उनका अनुसार नियुक्त भएको खेलकुद समितिका पदाधिकारी एवं सदस्यहरु हटिसकेको अवस्था नहुदाँ राजनैतिक पार्टीहरु बीच छलफलभएपछि मात्रै टुंगो लाग्ने छ । ‘प्याकेजमा सहमतिको लागि छलफल गर्ने छौं ।’ उनको भनाई थियो ।

माओवादीको युवा तथा खेलकुद प्रमुख समेत रहेका उनले आफनो भागमा पर्ने जिल्लाको टुंगो लागेपछि मात्रै नियुक्तिको विषयमा पार्टीभित्र छलफल शुरु गरिने स्पष्ट पारे । पूर्व पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका कोईरालाले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले सबै पार्टी मिलेर आउन आग्रह गरिसकेको जानकारी दिए । ‘सबै पार्टी मिलेर आउनुस भन्नुभएको छ ।’ उनले भने–‘हाम्रो पार्टीभित्र छलफल भईसकेको छैन् । खासै ठोस निर्णय गरिएको छैन् ।’

खेलकुद विकास समितिमा राजनैतिक नियुक्तिको लागि राजनैतिक पार्टीभित्र छलफल भईनसकेको सरकारका प्रवक्ता कुमार खड्काले बताए । ‘खेलकुदको राजनैतिक नियुक्ति हटाउने सरकारमा छलफल भईसकेको छैन् ।’ उनले भने–‘निर्णय भएको छैन् । बजार हल्ला के छ त्यो मलाई थाहा छैन् ।’ भोलि निर्णय नै भएर आएको अवस्थामा मात्रै राजनैतिक पार्टी बीच बसेर ११ जिल्लामा कुन कुन जिल्ला कसले लिने भन्ने बारेमा छलफल हुने स्पष्ट पारे ।