प्रतिष्ठा जोगाउँदा स्थानीय धावकको सहभागिता शून्य

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २० गते २०७८ मा प्रकाशित


पोखरा म्याराथनमा दौडिदैं धावकहरु । file pic

पोखरा-फागुन ७ नजिकिदैं छ । यो दिन धावकको लागि विशेष पनि छ । प्रजातन्त्र दिवस मनाईरहँदा राष्ट्रिय तथा अन्तराष्ट्रिय धावकहरु भने ‘अन्तराष्ट्रिय सफल पोखरा म्याराथन’ मा दौडिने छन् । त्यहि मितिमा म्याराथनसँगै महिला हाफ म्याराथन हुने छ । हाफ म्याराथनलाई भने पछि थप गरिएको इभेण्ट हो ।

नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने ‘सफल पोखरा अन्तराष्ट्रिय म्याराथन’ वार्षिक कार्यक्रम हो । १५ वर्ष निरन्तर आयोजना भईसकेको छ । आगामी फागुन ७ गते शनिबार १६ औं सस्करणको म्याराथनको संघारमा मञ्च छ । १६ वर्षसम्म निरन्तरता दिएपनि विडम्बना कास्कीबाट म्याराथन दौडिने धावक नै भेटिन् मुश्किल छ ।

‘आयोजनाको उद्देश्य नै खेलाडी उत्पादन हो । तर विडम्बना अहिलेसम्म कास्कीबाट म्याराथन धावक उत्पादन भएको तथ्य छैन् ।’ भुतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरिप्रसाद पराजुलीले भने–‘दुःख गरेर इभेण्ट गर्यो । उत्पादन शून्य भयो ।’ १५ वर्षसम्म दौडाउँदा पोखराको प्रतिनिधित्व गरेर म्याराथनमा नाम राख्ने खेलाडी मञ्चले अझै पाएको छैन् । मञ्चका अनुसार म्याराथनमा उत्कृष्ठ दशभित्र आउने धावक नै छैनन् ।
स्थानीय धावकलाई म्याराथनप्रति प्रोत्साहित गर्ने योजना मञ्चको छ । उत्कृष्ट दशमा आउनेलाई पुरस्कृत गर्दै हौसला थप्ने मञ्चको भित्रीचाहना हो । तर त्यो चाहना पुरा गर्ने धावकका खडेरी नै रहेको मञ्चका अध्यक्ष पराजुलीको बुझाई थियो । ‘म्याराथन वर्षेनी आयोजना हुन्छ । मञ्चले म्याराथनको श्रृखंला दिने हो ।’ उनले भने–‘तर रिजल्ट छैन् । मेहनत बढी रह्यो । स्थानीय म्याराथन धावकको खडेरी पुरा हुन सकेन् ।’

राष्ट्रिय खेलकुद प्रतियोगिता प्रत्येक दुई वर्षमा आयोजना हुन्छ । दुई वर्षमा आयोजना गर्ने भनिएपनि राजनीतिक अस्थिरता र विभिन्न कारणले धकेलिदैं गएको छ । राष्ट्रिय प्रतियोगितामा समेत कास्कीबाट म्याराथनमा सहभागि हुने खेलाडी पाउनै मुश्किल रहेको उनको भनाई थियो । पोखरामै आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्कीबाट म्याराथनमा दौडिने धावक छैनन् ।

भुतपूर्व खेलाडी मञ्चले म्याराथनलाई पोखराको प्रतिष्ठासँग जोडेको छ । प्रतिष्ठासँग जोडिएपनि धावक उत्पादन नहुदाँको पीडा मञ्चसँग छ । म्याराथनलाई सरकारी निकायले चासो दिएका छन् । आर्थिक रुपमा सहयोग गरेका छन् । ‘सरकारी निकाय म्याराथनसँग कनेक्सन भईदिएका छन् ।’ उनले भने–‘प्रदेश सरकार र स्थानीय निकायले सहयोग गरेका छन् तर खेलाडी नहुदाँको पीडा उस्तै छ ।’

पोखरा म्याराथन २०५८ सालमा शुरुवात भएको थियो । शुरुवातको समयमा राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको थियो । त्यसपछि राजनीतिक अस्थिरतासँगै वाणिज्य बंैंकले मुख्य प्रायोजनबाट पछि हट्यो । २०६५ सालमा १० किलोमिटर दौड मात्रै आयोजना गरिएको थियो । त्यसपछिको संस्करण एकैपटक ०७२ सालमा आएर आयोजना गरिएको थियो । २०६४ पछि २०७२ सम्मको अवधिमा मुख्य प्रायोजनकै अभाव र आर्थिक सहयोग जुटाउन नसक्दा मञ्चले म्याराथनलाई थाँती राख्यो ।

पोखराको प्रतिष्ठासँग जोडिएको म्याराथनलाई सुजल डेरीको उत्पादन सफल दूधले प्रायोजन गरेपछि फेरी व्यँुतिएको हो । सफल दूधले निरन्तर मुख्य प्रायोजन गर्दै आएको छ । मञ्चको आयोजना र सफल दूधको मुख्य प्रायोजन रहेपनि कास्कीबाट म्याराथन धावकको नाम उत्कृष्ट दशभित्र परेको उदघोष मञ्चले अझै गर्न पाएको छैन् । पोखरा म्याराथनमा नेपाल आर्मीका धावक आनन्दमान श्रेष्ठले २ घण्टा २५ मिनेट ०५ सेकेण्डमा पुरा गर्दै उपाधि जित्दा बनाएको किर्तिमानी समय अझै तोडिएको छैन् ।