अन्तराष्ट्रिय म्याराथनमा अफ्रिकन देशका धावकको एकलौटी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ८ गते २०७८ मा प्रकाशित


पोखरा-भुतपुर्व खेलाडी मञ्चले पोखरा म्याराथन आयोजना गर्न लागेको डेढदशकपछि अन्तराष्ट्रिय धावकको सहभागिता हुन शुरुभएको छ । दुई वर्ष अघि आयोजित १४ औं संस्करणमा जापानीज धावक योसुके ताकानासी च्याम्पियन बनेपछि पोखरा म्याराथनको यात्रा समुद्रपारी पुग्यो ।
त्यसको दुईवर्षपछि पोखरा म्याराथनको उपाधि फेरी विदेशिएको छ । यसपटक भने केन्याली धावकको नाममा लेखियो । नाममा मात्रै नभई पोखरा म्याराथनको नयाँ किर्तिमानी समय बनाए । उपाधि जितेका स्टेफन कोसगेईले तेस्रो भएका नेपाली धावकलाई १४ मिनेटले पछि पारिदिए । नेपालकै म्याराथनमा पहिलो पटक सहभागिता जनाएको केन्याली दुई धावक पहिलो र दोस्रो पुरस्कार थापे । उनीहरुको सहभागिताले म्याराथनलाई अन्तराष्ट्रिय म्याराथन बजारमा लैजान आयोजकलाई कोशेढुगा सावित भएको छ ।

अन्तराष्ट्रिय म्याराथनलाई नियाल्दा अफ्रिकन देशका धावकहरुले बलियो पकड बनाएका छन् । विश्वमा लण्डन म्याराथन बढी चर्चामा छ । लण्डन म्याराथनमा अफ्रिकन देशका खेलाडीले नै प्रभुत्व जमाएका छन् । दिल्लीको हाफ म्याराथनमा पनि अफ्रिकन खेलाडीले अधिपत्य जमाउँदै आएका छन् । पोखरामा पहिलो सहभागितामै केन्याली धावकले उपाधि लिएर फर्किनु अफ्रिकन खेलाडीको अन्तराष्ट्रिय म्याराथनमा बर्चस्व प्रष्टै छ । नेपालमा अहिलेसम्म सहभागिता भएका थिएनन् । सायद केन्याली धावकको सहभागिता बाक्लिदै जाने विश्वास आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालले लिएको छ ।

लण्डन म्याराथन शुरु भएको ४० वर्ष भएको छ । यो ४० वर्षको इतिहासमा सबैभन्दा धेरै लण्डन म्याराथन दौडको उपाधि अफ्रिकी मुलुक केन्याली धावकको नाममा छ । सन १९८१ मा देखि शुरु भएको दौड अमेरिकन धावक डिक ब्राडस्ले र नर्वेजियन धावक इन्ज सिमोन्सन बराबरीमा टुंगिएको थियो । त्यतिबेला उनीहरुको दौडको समय २ घण्टा ११ मिनेट ४८ सेकेण्ड थियो जुन त्यतिबेलाको कोर्ष रेकर्डको रुपमा रहेको थियो । त्यसपछिको चार वर्ष बेलायती धावकको नाममा उपाधि लेखिन पुग्यो । १९८५ मा बेलायती धावक स्टेभ जोन्सले २ घण्टा ८ मिनेट १६ सेकेण्डमा पार गर्दै कोर्ष रेकर्ड आफनो नाममा लेखाउन सफल भए । १९८६ र १९८७ को म्याराथनको उपाधि जापानीज धावकले जित्न सफल भए । सन २००४ पछिको लण्डन म्याराथनको उपाधि केन्या र इथोपियन धावकले आफनो बर्चस्व जमाउँदै आएका छन् । १५ पटक केन्याली धावकको नाममा म्याराथनको उपाधि लेखिएको छ । इथोपियन धावक तीन पटक म्याराथन जितेको तथ्यांक छ ।

पोर्चुगलका धावकले तीन पटक म्याराथन जित्दा मेक्सिकन धावकले डिओनिसियो सेरोनले लगातार तीन पटक उपाधि जित्दै ह्याट्रिक गरेका थिए । केन्याका धावक इलोड किप्चोगेले चारपटक उपाधि जितेका छन् ।केन्याकै मार्टिन लेलले भने तीन पटक जित्न सफल भएको तथ्यांक । कोभिड संक्रमण शुरुहुनुभन्दा अघि मात्रै भएको प्रतिस्पर्धामा इथोपियाका धावक सुरा किताता तोलाले जितेका थिए । दिल्लीको हाफ म्याराथनको सन २००५ देखि शुरुभएको हो । तथ्यांक नियाल्ने हो भने केन्याली धावक र इथोपियन धावकको बर्चस्व छ । १६ औं संस्करणसम्म आईपुग्दा इथोपियन धावकले १० पटक उपाधि जितेका छन् । केन्याली धावकले ५ पटक आफनो नाममा उपाधि लेखिसकेका छन् । इथोपियन धावक अम्देवर्क वालेलेनले उपाधि जित्दा उत्कृष्ट टाईमिङ निकालेका थिए । उनले उपाधि जित्दा ५८ मिनेट ५३ सेकेण्डमा पुरा गरेका थिए । जुन दिल्ली हाफ म्याराथनको सबैभन्दा कम समय हो ।

म्याराथनको यो तथ्यांकलाई केलाउँदा अफ्रिकन देशका धावकहरुले विश्व म्याराथनमा आफनो एकलौटी गर्ने सम्भावना छ । दिल्ली हाफ म्याराथन र लण्डन म्याराथनसँगै नेपालको म्याराथनमा पनि उपस्थिति हुन शुरु भईसकेको छ । नेपालमा पोखरा, नेपालगन्ज, काठमाडौं र नेपाली सेनाको गरी ४ म्याराथन आयोजना हुने गरेका छन् । चार म्याराथनमध्ये पोखरा म्याराथनमा अन्तराष्ट्रिय धावकको सहभागिता शुरु भईसकेको छ । आगामी दिनमा अन्य म्याराथनमा पनि सहभागिताको अपेक्षा गरिएको छ ।

अन्तराष्ट्रिय धावकको सहभागिताले नेपाली धावकलाई कडा चुनौति हुने प्रष्टिएको छ । विभागीय बर्चस्वलाई अन्तराष्ट्रिय धावकले तोडिदिएका छन् । म्याराथनलाई अन्तराष्ट्रिय एरिनामा पुर्याउन विदेशी धावकको सहभागिता अनिवार्य हुन्छ । अन्तराष्ट्रिय धावकको सहभागिताले पोखरालाई खेलकुदको शहर एवं स्पोर्टस टुरिज्म सिटी बनाउने अभियानमा थप बल पुगेको विश्वास नेपाल भुतपुर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरिप्रसाद पराजुलीले लिएका छन् । उनी भन्छन–‘आगामी संस्करणमा अझ बढी विदेशी धावकको सहभागिता बढ्ने छ । यसले पोखरालाई अन्तराष्ट्रिय म्याराथन बजारमा छुट्टै छाप छोड्ने छ ।’