केआईईसी एम १२ भक्कुको फराकिलो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १० गते २०७९ मा प्रकाशित


केआईईसी एम १२ भक्कुको टिम । तस्बिर चाउथे एफसी ।

पोखरा-जनएकता युवा क्लबको आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार ७ खेल सम्पन्न भएका छन् । रामेश्वरी माविको खेल मैदानमा आयोजित प्रतियोगिताको मंगलबारको खेलमा भीमाद युथ क्लबले रन्जन स्मृति युथ क्लब भीमादलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । भीमादका लागि लोकेश थापाले दुई र अभिषेक राईले एक गोल गर्दै जित दिलाउँदा रन्जन स्मृतिका लागि राजन सोसान गुरुङ र आगमन खड्काले गोल फर्काएका थिए ।

शहीद स्मृति विद्यालयले मेरो नेपाल युवा क्लब एलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गरेको छ । शहीद स्मृतिको तर्फबाट आशिष थापा, सुजन तामाङ र सन्दीप गुरुङले गोल गरे । मेरो नेपाल लागि सौरभ कार्की र सरोज सुनारले गोल गरेपनि जित पर्याप्त हुन सकेन् । त्यसैगरी अर्को खेलमा विजयपुर एफसीमाथि भण्डारढीकको आर्दश क्लबले २–० गोलको नजिता निकाल्यो । जितका लागि विकास परियारले दुवै गोल गरेका थिए ।

काउरे बयरघारी स्याङजालाई मसिना एफसीले ४–० फराकिलो गोल अन्तरले पराजित गर्यो । विजय श्रेष्ठले दुई, क्षितिज जिटीले एक र विश्व थापाले एक गोल गरेका थिए । केआईईसी एम १२ भक्कुले खाल्टे गैरी गाँउलाई १०–० गोलले पराजित गरेको छ । सरोज तितुङले डबल ह्याट्रिक गरे । त्यस्तै विकास गुरुङले २, मनोज गुरुङ र मीन गुरुङले एक एक गोल गरेका थिए ।

हाम्रो एफसीलाई जनएकता युवा क्लब हरियोले ४–० को नजिता निकाल्दै अर्को चरणमा प्रवेश गरेको छ । जनएकताका लागि आशिष कार्कीले २, सन्देश देवकोटाले १ र समुन्द्र सुवेदीले एक थपेका थिए । विजयपुर एफसीले मसिना मेनचेष्टर फुडजोनलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा विजेताले १ लाख ११ हजार, उपविजेताले ६१ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ठ खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्ने जनएकता युवा क्लबका सचिव घनश्याम अधिकारी(श्याम)ले जानकारी दिए । फाईनल जेठ १४ गते हुने छ ।