
पोखरा-पोखरामा ३४ वर्षपछि जिमन्याष्टिक प्रतियोगिता आयोजना गरियो । कास्की जिल्ला जिमन्याष्टिक संघको आयोजनामा प्रथम गण्डकी प्रदेशस्तरीय जिमन्याष्टिक महिला तथा पुरुष प्रतियोगितामा महिला तथा तर्फ सीताकुमारी खड्का र पुरुष तर्फ रोशन पुन च्याम्पियन बनेका छन् । फ्लोर इभेण्टमा गरिएको प्रतिस्पर्धामा महिला तर्फ सुवी भासिमाले रजत र कृति खत्रीले कास्य पदक जितिन् । पुरुष तर्फ कास्कीका विशाल पुनले रजत र बाग्लुङका कृष्ण कँडेलले कास्य पदक जिते । प्रतियोगतामा कास्कीसहित बाग्लुङ, म्याग्दी, तनहुँ, गोरखा, लमजुङका गरी ५० जना खेलाडीले फ्लोर इभेण्टमा प्रतिस्पर्धा गरेका थिए ।

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालययको आर्थिक सहयोगमा ३४ वर्षपछि पहिलो पटक जिमन्याष्टिक प्रतियोगिता आयोजना गरिएको कास्की जिल्ला जिमन्याष्टिक संघका अध्यक्ष योगेन्द्र गुरुङले बताए । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले पदक तथा प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरे । विजेता खेलाडीहरुले नगद ३ हजार, २ हजार र १ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको लागि युवा तथा खेलकुद मन्त्रालयले २ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।
पोखरामा २०४५/४६ सालमा जिमन्याष्टिकको प्रतियोगिता आयोजना गरिएको थियो । त्यसपछि पोखरामा जिमन्याष्टिकको गतिविधि शून्य अवस्थामा रह्यो । संघमा योगेन्द्र गुरुङले नेतृत्व गरेपछि उनकै पहलमा गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले उपलब्ध गराएको तीन लाख रुपैयाँबाट डेढमहिना अघि मात्रै पोखरामा जिमन्याष्टिकको फ्लोर म्याट ल्याइयो । सामान नहुदाँ खेलाडीहरु समेत तितरवितर थिए । ‘पहिला म्याट थिएन् । म्याट आएपछि प्रशिक्षण शुरु गर्यौं । छोटो समयको प्रशिक्षणपछि प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्ने आँट गर्यौं ।’ संघका कोषाध्यक्ष समेत रहेका जिमन्याष्टिकका स्वयंसेवक प्रशिक्षक थमन थापा मगरले सुनाए ।

आवश्यक खेल सामाग्रीकै अभावमा पोखरामा जिमन्याष्टिकको गतिविधि शून्य अवस्थामा रहेको अध्यक्ष गुरुङले बताए । ‘संघसँग जिमन्याष्टिकको आवश्यक सामान केही थिएन् । सामान नहुदाँ प्रतियोगिता आयोजना गर्न सकिएन् ।’ उनले भने–‘युवा तथा खेलकुद मन्त्रालयको सहयोगबाट म्याट ल्याई जिमन्याष्टिकको गतिविधिलाई अगाडि बढाएका हौं ।’ उनले लामो समयपछि आयोजना गरिएको प्रतियोगिताले जिमन्याष्टिकलाई फेरी पुर्नजागृत गराउने प्रयासको थालनी भएको स्पष्ट पारे ।
प्रदेश सरकारकै सहयोगमा जिमन्याष्टिकका थप आवश्यक सामाग्री ल्याउने तयारी संघले गरेको छ । प्रदेश सरकारले साढे २ लाख रुपैयाँ बजेट छुट्टाएको उनले बताए । ‘मन्त्रालयले छुट्टाएको बजेटबाट जिमन्याष्टिकको भोल्टिङ, लङहर्स र ल्याण्डिङ म्याट ल्याइने उनले बताए । संघसँगै भएको पुरानो साईड हर्सलाई मर्मत सम्भार गरेर प्रयोगमा ल्याउने उनको भनाई थियो । आवश्यक सामाग्रीकै अभावले अन्य इभेण्टहरु आयोजना गर्न नसकिएको उनको गुनासो थियो । ‘जिमन्याष्टिकको फ्योर इभेण्ट मात्रै होईन सामान ल्याइएपछि अन्य इभेण्टलाई समेत जोडेर राष्ट्रियस्तरको जिमन्याष्टिक प्रतियोगिता आयोजना गरिने उनले बताए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…