
हेटौंडा-स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिताअन्तर्गत् हेटौंडामा आइतबार दिउँसो भएको खेलमा नेपाल पुलिस क्लबले खुमलटार युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको छ । पुलिसका लागि खेलको दोस्रो मिनेटमै अभिषेक रिजालले गोल गरेका थिए । २३ औं मिनेटमा भरत शाहले अग्रता दोब्बर पारे । खुमलटारका लागि अजित लामाले ९० औं मिनेटमा गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन् । खेलको म्यान अफ दी म्याच खुमलटारका दिवस सत्याल भए ।
यसअघि विहानको खेलमा गोल्डकपमा सशस्त्र प्रहरीको नेपाल एपीएफले ३–० को सहज जित हात पारेको थियो । हेटौंडा–५ को पिप्ले रंगशालामा आइतबार विहान भएको खेलमा एपीएफले फ्रेन्ड्स् क्लब ललितपुरलाई फराकिलो गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफको २८ औं मिनेटमा एपीएफका नवीन लामाले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलाएका थिए । फ्रेण्ड्स्का डिफेन्डरले एपीएफका प्रदीप लामालाई डीबक्स क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै लामाले गोल गरेका हुन् । खेलको दोस्रो हाफको ३१ औं मिनेटमा एपीएफका सबिन गुरुङले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अतिरिक्त समयमा एपीएफका रवि थिङले गोल गर्दै सहज जित दिलाए । थिङले फ्रेन्ड्स्का गोलरक्षकले गरेको गल्तीको फाइदा उठाउँदै टोलीलाई ३–० को सहज जित दिलाए । वान भर्सेस वानको अवस्थामा रविको प्रहार गोलमा परिणत भयो ।
खेलको ५५ औं मिनेटमा एपीएफका राजीव पहरी रातो कार्ड पाउदै मैदान छाडेपछि एपीएफ १० खेलाडीमा समेटिएको थियो । ७६ औं मिनेटमा एपीएफका लागि वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका सबिन गुरुङले गोल गर्दै अग्रता फराकिलो बनाए । खेलको अतिरिक्त समयमा एपीएफका लागि रवि थिङले अन्तिम तथा तेस्रो गोल गरे । उनको सशक्त प्रहार फ्रेण्ड्स्का गोलरक्षक राजाबाबु मगरको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।
नेपाली टोलीका पूर्वकप्तान विराज महर्जनको कप्तानीमा मैदान उत्रेको फ्रेण्ड्स्ले केही मौका पाए पनि सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भएको छ । ४९ औं मिनेटमा जय गुरुङको प्रहार एपीएफका गोलरक्षक राजु योगीले मुस्किलले बचाए । ६६ औं मिनेटमा सुवास गुरुङको प्रहार पोष्टनजिकबाट बाहिरियो । ८८ औं मिनेटमा फ्रेण्ड्स्का दिपेश आलेले वान भर्सेस वान बललाई पोष्टको दिशा दिन सकेनन् । एपीएफले पनि केही राम्रा अवसर खेर फालेको थियो । खेलमा एपीएफका प्रदीप लामा म्यान अफ दी म्याच घोषित भएर १० हजार रुपिया“ नगद प्राप्त गरे ।
एपीएफले सेमिफाइनल प्रवेशका लागि अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । आर्मी र एपीएफबीचको खेल सोमबार दिउ“सो ३ बजे हुनेछ । ३० गतेसम्म जारी रहने प्रतियोगितामा विजेता टोलीले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलीले १० लाख प्राप्त गर्नेछन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…