खेलकुद प्रवद्र्धनात्मक कार्यक्रमलाई दुई करोड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ११ गते २०७९ मा प्रकाशित


पोखरा-पोखरा महानगरपालिकाले पोखरामा खेलकुद पूर्वाधार र प्रवद्र्धनात्मक कार्यक्रमलाई दुई करोड रुपैयाँ बजेट छुट्टाएको छ । छुट्टाइएको बजेट गतवर्षको भन्दा केही बढी हो ।

महानगरपालिकाले गतवर्षको झैं यो वर्षपनि एक टोल एक खुला क्षेत्र एक व्यायामशाला निर्माणलाई निरन्तरता दिएको छ । पोखरालाई क्रिकेट र गल्फ जस्ता खेलकुदबाट पर्यटन प्रवद्र्धन गर्न सकिने जनाउँदै क्रिकेट मैदान र गल्फ कोर्ष निर्माणको लागि सम्भाविता अध्ययन गरिने उल्लेख छ । महानगरले महानगर खेलकुद विकास समितिलाई प्रभावकारी बनाउन खेलकुद कार्यक्रमलाई वडास्तरसम्म सञ्चालन गर्दै लैजाने जनाएको छ ।

पोखरालाई खेल शहरको रुपमा विकास गर्न निर्मित संरचनालाई आधुनिकीकरण र थप पूर्वाधार निर्माण गर्न संघ र प्रदेश सरकारसँग सहकार्य गर्ने जनाएको छ । विद्यालयस्तरीय खेल कार्यक्रमलाई निरुन्तरता दिदैं महानगरस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने उल्लेख छ । महानगरले चार खेलका उत्कृष्ट खेलाडी छनोट गरी सम्मान गर्ने समेत जनाएको छ ।

महानगरले पोखरालाई एथलेटिक्स, भलिबल, मार्शल आर्ट्स, स्क्वास, पौडी लगायतका प्रतियोगिताको केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिदै आएको छ । खेलकुद प्रतियोगिताले खेल पर्यटनको विकासमा टेवा पुर्याउने भन्दै खेलकुद प्रतियोगिता आयोजनालाई प्रथामिकतामा राख्ने महानगरले जनाएको छ ।

महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले खेलकुद प्रर्वद्धनात्मक कार्यक्रमलाई दुई करोड भएको उल्लेख गरे । ‘खेलकुद पूर्वाधारको बजेट छुट्टै छ । दुई करोड केवल खेलकुद प्रतियोगिताको लागि मात्रै हो ।’ उनले भने–‘गतवर्ष एक करोड २५ लाख रुपैयाँ प्रतियोगिता प्रवद्र्धनात्मक कार्यक्रमलाई थियो ।’

महानगरले आफनै योजनाको लागि रुपमा पोखरा–१३ आर्बा र पोखरा–२० भलाम आँटीघरमा खेल मैदान निर्माण शुरु गरेको छ । मौजाको झण्डै १७ सय मिटरको उचाईमा खेल मैदान निर्माण गरिदैं आएको छ । जुन महानगरकै उच्च उचाईको खेल मैदान बन्ने छ । आँटीघर मौजामा निर्माणाधिन खेलग्राम झण्डै १६ करोडको योजना समेत हो । गुरुयोजना बनाई काम बढाइएको योजनालाई महानगरले विशेष चासो समेत दिएको छ ।