प्रिन्स र प्रफुल, रसिला र नङसाल उपाधि प्रतिस्पर्धा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १६ गते २०७९ मा प्रकाशित


पोखरा-व्याडमिन्टनका युवा खेलाडीद्वय प्रिन्स दाहाल र प्रफुल महर्जन पोखरामा आयोजित प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रतिष्प्रर्धा गर्ने छन् ।
पुरुष एकल तर्फको विधामा नेपाल पुलिस क्लवका दाहाल र त्रिभुवन आर्मी क्लवका महर्जनबीच उपाधि प्रतिस्पर्धा हुने छ । आर्मीका महर्जनले नेपाल पुलिस क्लवका बिष्णु कटुवाललाई २१—१३, १७—२१ र २१—११ को सेटमा पराजित गरेका थिए । दाहालले त्रिभुबन आर्मी क्लवका डेविड थापा मगरलाई २१—१५ र २१—९ को सोझो सेटमा पराजित गरी महर्जनसंग फाइनलमा यात्रा बनाएका हुन्।

महिला एकल तर्फ नेपालको नम्बर १ र्याङकीङ खेलाडी नङसाल तामाङ र आर्मीकी रशिला महर्जन बिच शनिबार फाइनल खेल हुने भएको छ । शुक्रबार राती भएको खेलमा भोजपुरकी तामाङले शसस्त्र प्रहरी वल एपिएफकी शोभा गौचनलाई २१—१४ र २१—११ को सोझो सेटमा पन्छाउदै फाइनलमा यात्रा तय गरिन। । अर्को खेलमा नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता आर्मीकी महर्जनले बेल्टार व्यडमिन्टन एकेडेमीकी सीमा राजवंशीलाई २१—११ र २१—११ को सोझो सेटमा पराजित गरी तामाङसंग फाइनल यात्रामा भेट पक्का गरेकी कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठले जानकारी दिए ।

पुरुष डवल ३५ बर्ष माथि उमेर समुहमा कास्कीका बिशाल खड्का र आर्मीका सुरज महर्जनको जोडीले कास्कीका होम गुरुङ र पुलिसका बिष्णु कटुवालको जोडीसंग फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएका छन् । खड्का र महर्जनको जोडीले शुक्रबार भएको सेमिफाइनल खेलमा चितवनका विधान गुरुङ र पर्वतका राजन गुरुङको जोडीलाई २१—८ र २१—१७ को सोझो सेटमा पराजित गरेका हुन् । अर्को खेलमा गुरुङ र कटुवालको जोडीले एपिएफका धिरेन्द्र चन्द र बिशाल प्रधानको जोडीलाई २१—१३ र २१—१३ को सेटमा पन्छाउदै फाइनलमा यात्रा बनाएका हुन् ।

१७ बर्ष मुनिको पुरुष प्रतिस्पर्धामा आर्मीका डेभिड थापा मगर र एपिएफका रोशन साउद फाइनलमा प्रबेश गरेका छन्। आर्मीका मगरले कपिलबस्तुका सुविन श्रेष्ठलाई २१—१७ र २१—१३ को सोझो सेटमा पन्छाए । साउदले सुर्खेतका अनिल मल्ललाई २१—१६ र २२—२० को सोझो सेटमा हराए । १७ बर्ष मुनि महिला तर्फको खेलमा आर्मीकी शेश्ना र्शीपाली र आर्मीकै रेहाना शेरचन उपाधिको लागि शनिबार फाइनल खेलमा भिड्ने भएका छन्। र्शीपालीले कास्कीकी दिलशा रानालाई २१—१७, र २१—१८ को सेटमा पराजित गरेकी हुन्। अर्को खेलमा शेरचनले कास्कीकी आयुष्मा नेपाललाई २१—११, र २१—१५ को सेटमा पन्छाउदै उपाधि नजिक पुगिन ।

पुरुष डवल तर्फको विधामा पुलिसका प्रिन्स दाहाल र बिष्णु कटुवालको जोडीले शनिबार कास्कीका विधान अधिकारी र आर्मीका पविन लिङथेपको जोडीसंग फाइनल खेलमा उपाधिको लागि भिड्ने भएका छन्। शुक्रबार भएको खेलमा दाहाल र कटुवालको जोडीले आर्मीका प्रफुल महर्जन र रुकेश महर्जजनको जोडीलाई २१—१७, र २१—१३ को सेटमा पराजित गरेका हुन्। अर्को खेलमा अधिकारी र लिङथेपको जोडीले चितवनका बिधान गुरुङ र नवलपुरका वलराम क्षेत्रीको जोडीलाई २१—११ र २१—१२ को सेटमा पराजित गरेका हुन्।

महिला डवल तर्फको विधामा एपिएफकी पुजा श्रेष्ठ र भोजपुरकी नङसाल तामाङको जोडी तथा आर्मीकी प्राथना देउवा र आर्मीकी अनु माया राईको जोडी फाइनलमा प्रबेश गरेका छन्। श्रेष्ठ र तामाङको जोडीले आर्मीका अमिता गिरी र रशिला महर्जनको जोडीलाई ९—२१, २२—२० र २१—१२ को सेटमा पराजित गरेका हुन्। देउवा र राईको जोडीले एपिएफकी जेस्सिका गुरुङ र सुनयना मुखियाको जोडीलाई २१—११, १४—२१ र २१—१७ को सेटमा पराजित गरे ।

१२ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू—१२) पुरुष तर्फको खेलमा तनहुँका सफल भुजेल र आर्मीका सुदेश राजकोटी फाइनलमा प्रबेश गरेका छन्। शुक्रबार भएको खेलमा भुजेलले कन्चनपुरका आशीस खत्रिलाई २४—२२ र २१—११ को सेटमा पन्छाउदा अर्को खेलमा राजकोटीले एपिएफका आरुष सिंखडालाई २१—१४ र २१—१७ को सेटमा पराजित गरी फाइनलमा यात्रा बनाएका हुन् ।

१२ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू—१२) महिला तर्फको खेलमा नेक्सश इन्टरनेश्नल स्कुलकी र्शोलिन श्रेष्ठ र वेल्टर व्याडमिन्टर एकेडेमीकी नितसा रैका मगर फाइनलमा प्रबेश गरेका छन्। श्रेष्ठले शुक्रबारको खेलमा आर्मीकी समृद्धि श्रेष्ठलाई २१—१३ र २९—२७ को सेटमा पराजित गरी फाइनलमा प्रबेश गरेकी हुन्। त्यसै गरी मगरले दिपक व्याडमिन्टन एकेडेमीकी अस्मिता खत्रिलाई २१—९ र २१—१४ को सेटमा पराजित गरिन्।

प्रदेश खेलकुद परिषद, गण्डकीको आयोजनामा कास्की जिल्ला व्याडमिन्टन संघको संचालन तथा व्यबस्थापनमा आयोजित प्रतियोगिता शनिबार विभिन्न इभेण्टको फाइनल खेल हुने संघका सचिव फणिन्द्र प्रसाद तिमिल्सिनाले बताए ।