बस्नेतलाई लेखनाथ हाफ म्याराथनको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २७ गते २०८० मा प्रकाशित


हाफ म्याराथनका विजेतासहित अन्य विधाका विजेता खेलाडीहरु सामूहिक तस्बिरमा

पोखरा-लेखनाथ हाफ म्याराथनको उपाधि रामजी बस्नेतले जितेका छन् । २१.९८ किलोमिटरको दुरीलाई बस्नेतले १ घण्टा १३ मिनेट ३३ सेकेण्डको समयमा पुरा गर्दै पहिलो पटक आयोजित लखेनाथ हाफ म्याराथनको उपाधि जितेका हुन् । शनिबार पोखरा–२९ भण्डारढीकस्थित प्रस्तावित लेखनाथ रंगशालाबाट शुरुभएको दौड खल्याँड लेखनाथ साना तथा शहरी खानेपानी, बेगनासताल, पार्किङबाट ड्यामहुदै बेगनास बसपार्क, शिशुवा, कविशिरोमणि गेटहुदै कालीगण्डकी चोक पुग्ने छ । त्यसपछि खास्टेताल चोक, बुढीबजार सिमलमार्ग लक्ष्मीमावि हुदैं लेखनाथ चोक, डाडाँनाकबाट तालचोक, शिशुवा, नौविसे आदर्शचोक निस्केर भण्डारढीकस्थित लेखनाथ रंगशालामा पुगेर दौड टुंगिएको थियो ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आयोजित हाफ म्याराथनमा मोहन देव जोशी दोस्रो बने । उनले एक घण्टा १४ मिनेट ०२ सेकेण्डमा पुरा गर्दै दोस्रो बन्न सफल भए । त्यसैगरी एक घण्टा १८ मिनेट ०८ सेकेण्डको समयमा पुरा गर्दै अनिश गुरुङ तेस्रो स्थानमा रहे । चेतनाथ चालिसे पोखरा च्याम्पियन बने । उनले नगद पुरस्कार स्वरुप १० हजार रुपैयाँ प्राप्त गरे ।

महिला तर्फको १० किलोमिटर सडक दौडमा एक घण्टा ६ मिनेट ३७ मिनेटमा पुरा गर्दै पूर्ण लक्ष्मी न्यौपाने प्रथम भईन् । त्यस्तै एक घण्टा ७ मिनेट २८ सेकेण्डको समय लगाउँदै आशा रावत दोस्रो स्थान कब्जा गरिन् । सुमित्रा के. चाण्डारीले एक घण्टा ८ मिनेट १६ सेकेण्डको समय लगाउँदै तेस्रो स्थानमा चित्त बुझाईन् ।

विद्यालयस्तरीय ५ किलोमिटर दौड अन्तर्गंत छात्र तर्फ तेन्जेन रोकाले १७ मिनेट ४० सेकेण्डमा पुरा गर्दै प्रथम हुदाँ १७ मिनेट ५० सेकेण्डमा पुरा गर्दै विवेक परियार दोस्रो स्थानमा आउन सफल भए । १७ मिनेट ५५ सेकेण्डको समय लगाएका सुनिल विक भने तेस्रो स्थानमा चित्त बुझाए । छात्रा तर्फको प्रतिस्पर्धामा ५ किलोमिटर दौडमा नारायण भण्डारी प्रथम भईन् । उनले दौडलाई २४ मिनेट ५०.३२ सेकेण्डको समयमा पुरा गरिन् । त्यस्तै मेनुका अधिकारी दोस्रो र एन्जेल अधिकारी तेस्रो स्थानमा रहे ।

म्याराथन विजेताले नगद ३० हजार रुपैयाँ प्राप्त गरे । उपविजेताले नगद २० हजार र तेस्रो स्थानमा रहने धावकले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् । महिला दशकिलोमिटर दौडका धाविकाले नगद ३० हजार, उपविजेताले २० हजार र तेस्रोस्थानमा रहने धाविकलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको छ । पाँच किलोमिटर विद्यालयस्तरीय छात्रा तथा छात्र दौडका विजेताले १५, १० र ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । हाफ म्याराथनलाई कास्की जिल्ला एथलेटिक्स संघले प्राविधिक सहयोग गरेको थियो ।