प्रदेशद्वारा दर्ता र नविकरण नभएका खेल संघ खारेज गर्न जिल्लालाई निर्देशन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १९ गते २०८० मा प्रकाशित


(प्रदेश खेलकुद परिषद लोगो)

पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीले खेल संघहरुलाई अनिवार्य दर्ता गर्न परिपत्र परेको छ । परिषदले एघारवटै जिल्लामा खेल संघहरुलाई सम्बन्धित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा दर्ता एवं नविकरण गर्न ३५ दिने सूचनासहित पत्रचार गरेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीले यही भदौ ११ गते संघहरुको नाममा जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गरिसकेको छ । पत्रचार गरेपनि विदाकै कारण केहीदिन ढिलाई भएको प्रदेशले जनाएको छ । भदौ ११ गते सूचित पत्र अनुसार ३५ दिनभित्रमा सम्बन्धित संघलाई खेलकुद विकास समितिमा दर्ता हुन आग्रह गरिएको प्रदेश खेलकुद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । ‘संघ सम्बन्धित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा दर्ता वा नविकरण नभए खारेज हुन्छ ।’ उनले भने–‘सूचना भदौ ११ गते निकाल्यौं । ३५ दिनभित्रमा संघहरु सबै दर्ता वा नविकरण हुनुपर्ने छ ।’ उनका अनुसार जिल्ला खेलकुद विकास समितिमा दर्ता नभएका संघलाई कुनैपनि प्रतियोगितात्मक गतिविधिमा सहभागिता नगराईने र बजेट समेत उपलब्ध गराईने छैन ।

संघ दर्ताको लागि दुईहजार रुपैयाँ शुल्क तोकिएको छ । नविकरणको लागि एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । ‘जिल्लामा दर्ता नभएका संघहरुलाई लेटरहेड समेत प्रयोग गर्न बर्जित गरिएको छ । त्यसको लागि जिल्ला प्रशासन कार्यालयलाई पत्रचार समेत भईसकेको छ ।’ दर्ता नभएका संघले लेटरहेड प्रयोग गरिएको पाईए लेटरहेड दुरुपयोग गरिएकोमा कानूनी कारवाही समेत गरिने सदस्य सचिव शर्माको भनाई थियो । उनले दर्ता नभएका संघलाई प्रदेश खेलकुद परिषदले उपलब्ध गराउने बजेट मार्फत प्रतियोगिता आयोजना गर्ने जिम्मेवारबाट समेत नदिइने स्पष्ट पारे ।

कास्कीमा ५० भन्दा बढी खेल संघहरु छन् । कतिपय संघहरु सक्रिय छन् । कतिपय संघहरु केवल नाम मात्रै रहेका छन् । जिल्ला खेलकुद विकास समितिका कास्कीका कार्यालय प्रमुख सुनबहादुर लामाका अनुसार कास्कीमा ५० भन्दा बढी संघ भएपनि केही संघ मात्रै दर्ता भएका छन् । ‘हक्की संघको नयाँ कार्यसमिति गठन भएसँगै जिल्ला खेलकुद विकास समितिमा दर्ता भएको छ’ उनले भने–‘अन्य संघ पनि दर्ताको प्रक्रियामा छन् ।’ उनका अनुसार तेक्वान्दो, बक्सिङ तथा भलिबल संघ दर्ताको प्रक्रियामा छन् । दर्ता भएका संघलाई प्रमाणपत्र उपलब्ध गराइने छ ।

प्रदेश खेलकुद परिषदबाट संघ दर्ता वा नविकरणको लागि जिल्लामा सूचना सोमबार मात्रै आईपुगेकोले सम्बन्धित खेल संघलाई जानकारी गराइएको कार्यालय प्रमुख लमाले बताए । उनका अनुसार भदौ ११ गते प्रदेश खेलकुद परिषदले सूचना जारी गरेपनि जनै पूर्णिमाको विदा र शनिबार भएकोले पनि जिल्लामा पत्र सोमबार मात्रै आईपुगेको उनले जानकारी दिए । ‘पत्र आईआएको छ । जिल्ला खेलकुद विकास समितिले अब जिल्लाभित्रका संघहरुलाई अनिवार्य दर्ता र नविकरण गर्न सूचना गर्छौ ।’उनले भने–‘केही संघलाई सूचना भईसकेको छ । सबै संघलाई यो हप्ताभित्रमा सूचना दिने छौं ।’ उनले बुधबार विदा भएकोले पनि बिहीबार सबै संघहरुलाई जानकारी गराईने बताए ।

जिल्ला खेलकुद विकास समिति कास्कीले भईरहेका संघहरुलाई आफनो वार्षिक, आर्थिक प्रतिवेदन लगायतका सबै कागजपत्र पेश गर्नुपर्ने निर्देशन समेत गरेको छ । केही खेल संघहरुले जिल्ला खेलकुद विकास समितिलाई प्रतिवेदन बुझाउँदै आएका छन् । तर धेरैजसो संघहरुले आफनो वार्षिक तथा आर्थिक प्रतिवेदन बुझाएका छैनन् । प्रतिवेदन नबुझाउने संघहरुलाई कडाई गर्न प्रदेश खेलकुद परिषद गण्डकीले जिल्ला खेलकुद विकास समितिमा अनिवार्य दर्ता र नविकरण गर्नुपर्ने प्रावधान ल्याएको हो ।