राष्ट्रिय महिला तथा पुरुष भलिबल भदौ २९ देखि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २४ गते २०८० मा प्रकाशित


पोखरा-नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा आगामी शुक्रबारदेखि शुरु हुने दशौं संस्करणको ‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा चार क्लबले सहभागिता जनाउने छन् । लिग रोविनमा खेलाईने प्रतियोगितामा काठमाडौंको न्यु डायमण्ड युथ स्पोर्टस क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र बुटवलको न्यु एभरेष्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्ने छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पनि सहभागिता नजनाउने आयोजक समक्ष पत्रचार गरेको छ ।

पुरुष तर्फको प्रतिस्पर्धामा भने पाँच टोलीले उपाधि प्रतिस्पर्धा गर्ने छ । बुटवलको मणिमुकुन्द भलिबल क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, गल्कोट भलिवल क्लब बाग्लुङ र गण्डकी प्रदेशको टोलीको सहभागिता रहने आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । ‘दुवै प्रतिस्पर्धा लिगको आधारमा खेलाईने छ । महिलाको लिग रोविनमा हुने छ’ पत्रकार सम्मेलनमा प्रतियोगिताका जुरी डि.बी नेपालीले भने–‘पुरुषको अंकको आधारमा शीर्ष दुईमा पुग्ने टोली बीच फाईनल प्रतिस्पर्धा गराईन्छ ।’

यतिबेला महिला तथा पुरुष भलिबल खेलाडी १९ औं एशियाडको तयारीमा जुटेका छन् । बन्द प्रशिक्षणमा व्यस्त छन् । लामाचौर कपमा नेपाली भलिबलका शीर्ष राष्ट्रिय खेलाडीहरुको उपस्थिति भने रहने छैन् । राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता पुरस्कार विजेताले १ लाख ५० हजार १ सय ११ रुपैयाँ प्रदान गरिने पत्रकार सम्मेलनमा समाजका प्रथम उपाध्यक्ष प्रचारप्रसार समितिका संयोजक दिनेश भण्डारीले जानकारी दिए । उपविजेता टोलीले १ लाख १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् । तेस्रो स्थानमा रहने टोलीले नगद ५० हजार १ सय ११ रुपैयाँ पाउने छन् ।

सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई आकर्षक पुस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता भदौ २९ गतेदेखि शुरु हुने छ । पोखरा–१९ लामाचौरस्थित इन्द्रैराज्यलक्ष्मी माविको खेल मैदानमा हुने प्रतियोगिताको फाईनल असोज १ गते हुने छ । नवआदर्श सामुदायिक विकास समाजले वर्षेनी हरितालिका तीजको अवसरमा वर्षेनी महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । समाजले दुईवर्ष यता विद्यालयस्तरीय भलिबल प्रतियोगितालाई स्थगित गरेको छ ।

भलिबल प्रतियोगितासँगै समाजले मनोरन्जनको लागि तीज गीत र विद्यालयस्तरीय लोक नृत्य प्रतियोगितालाई समेत समावेश गरेको छ । एकै ठाँउमा खेलकुदसँगै मनोरन्जनको अवसर दर्शकले पाउने छन् । समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले दर्शकको लागि ४ हजार दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माण गरिने उल्लेख गरे । उनले शान्ति सुरक्षाको लागि सुरक्षा निकायसँग समन्वय गरिएको सुनाए ।नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले उदघाटन गर्ने छन् ।