गोल्डकपलाई लिगकम नकाउट स्वरुपमा सञ्चालन गर्ने विषयमा छलफल

- फोटो पत्रकार पुनलाई पत्रकारिता पुरस्कार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ३० गते २०८० मा प्रकाशित


पोखरा-सहारा क्लब पोखरा १३ औं अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्ने संघारमा छ । आफनो २५ वर्षे यात्राको शनिबार रजत जयन्ती मनाईरहेको क्लबले गोल्डकपलाई लिगकम नकाउटमा लैजाने उद्देश्य लिएको छ । आफनै पोखरा–१७ दोविल्लास्थित सहारा एकेडेमीमा आयोजित अधिवेशनको मुख्य छलफलको विषय नै गोल्डकपलाई लिगकम नकाउट सञ्चालन गर्न आवश्यक अध्ययन गर्ने जनाएको छ ।
‘क्लब आगामी २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप प्रतियोगिता सञ्चालन गर्ने तयारीमा छ । गोल्डकप प्रतियोगिता सञ्चालन लिगकम नकाउट स्वरुपमा सञ्चालन गर्ने अध्ययन गरिने छ’ सहारा क्लबका पूर्व अध्यक्ष बीरभद्र आचार्यले भने–‘त्यसको लागि अधिवेशनमा मुख्य छलफलको विषय बनाईएको छ । अधिवेशनले विषयलाई पास गरेको अवस्थामा क्लब अगाडि बढ्ने छ ।’ उनले लिगकम नकाउट स्वरुपमा सञ्चालन गर्न सकिने जनाउँदै त्यसको लागि सबैको सहयोगको अपेक्षा रहेको उल्लेख गरे । ‘फुटबलको विकासमा लिगकम नकाउटमा सञ्चालन गर्ने उद्देश्य हो ’ उनले भने–‘सहयोगी दाता खोज्नुपर्छ ।’

क्लबले फुटबल विकास गर्न व्यवसायिक फुटबल प्रशिक्षण तथा ग्रासरुट फुटबल प्रशिक्षण सञ्चालन गर्ने योजना बनाएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)द्वारा सञ्चालित डिभिजन क्वालिफाईङ लिगमा संलग्न हुनको लागि आवश्यक पहल गर्ने लक्ष्य लिएको छ । क्लबले आफनो रजत महोत्सवको अवसरमा सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यो वर्ष फोटो पत्रकार उमेश पुनलाई प्रदान गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुनलाई नगदसहित दोसल्ला ओढाई सम्मानपत्रबाट सम्मानित गरेका थिए । पुरस्कार राशी २५ हजार रुपैयाँ रहेको छ ।

पुन एकदशकदेखि नागरिक दैनिकमा आवद्ध छन् । उनीसँगै क्लबले रजत जयन्तीको अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा सदस्यको तर्फबाट धमेन्द्र बराल, संस्थापक सल्लाहकार जयलाल पुन, सहारा क्लबका सल्लाहकार महेश गुरुङ, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, डा. नारायण गौतम, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरन्जन राजवंशी, पत्रकार रामकृष्ण ज्ञवाली, हिमश्री फुड्सकी निर्देशक प्रेमकुमारी केसी, सहारा क्लब पोखराका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ, उमादेवी गुरुङ, विल तामाङ(मरणोपरान्त), उगेन लामा, मुक्षेत्र गुरुङ, सहारा क्लब युके, सहारा क्लब हङकङ तथा सहारा क्लब अष्ट्रोलिया लगायतका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

फुटबल तथा सामाजिक क्षेत्रमा सक्रिय रहेको क्लबले हालसम्म अक्षयकोषमा दुईकरोड ८५ लाख रुपैयाँ संकलन गरिएको छ । क्लबले सहारा बाल आधारभूत विद्यालयलाई ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । क्लबले अहिले सहारा एकेडेमीमा चौथो व्याचका ११ जना बालकहरुलाई भर्ना गरेको छ । क्लबले तेस्रो चरणका २८ जना बालकलाई गत चैतमा विदाई गरेको थियो । क्लबले आगामी वर्षको कार्यक्रममा एकेडेमी सञ्चालन, एकेडेमीको भौतिक पूर्वाधार मर्मत सम्भारलाई निरन्तरता दिने उल्लेख गरेको छ ।