भोलिदेखि मेयर कप विद्यालयस्तरीय खेलकुद प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ७ गते २०८० मा प्रकाशित


पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भोलिदेखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हुदैं छ । प्रतियोगितामा २ हजार ७ सय विद्यार्थीले विभिन्न खेलको विभिन्न विधामा गरी ३ सय ५४ पदकको लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता तीनदिन चल्ने छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार भलिबल छात्र तथा छात्रा, कबड्डी छात्र तथा छात्राको सहभागिता रहने छ । एथलेटिक्स अन्तर्गत ट्रयाक तर्फ एकसय, दुईसय, चारसय, आठसय, १५ सय मिटर दौडसँगै ३ हजार मिटर, एकसय तथा चार सय मिटर रिले दौड हुने छ । एथलेटिक्सकै फिल्ड तर्फ छात्र तथा छात्राको हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो (छात्र ८ सय ग्राम, छात्रा ६ सय ग्राम) र सटफुट(छात्र १२ पाउण्ड, छात्रा ८ पाउण्ड)मा प्रतिस्पर्धा हुने पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले जानकारी दिए । त्यसैगरी मार्शल आर्ट खेलमा कराँते, तेक्वान्दो र उसुमा प्रतिस्पर्धा हुने छ । कराँतेमा छात्र तर्फ ४२, ४७, ५२, ५७ र ६२ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । एकल कातामा समेत पदक प्रतिस्पर्धा हुने छ । छात्रा तर्फ ४०, ४५, ५०, ५५ र ६० केजी तौल मुनि प्रतिस्पर्धा हुने छ र एकल काता गराईने छ ।

तेक्वान्दो छात्र तर्फ ४५, ४८, ५१ ५५ र ५९ केजी मुनि र एकल पुम्सेमा प्रतिस्पर्धा हुने छ । छात्रा तर्फ ४२, ४४, ४६, ४९ र ५२ केजी मुनि र एकल पुम्सेको विधालाई समावेश गरिएको छ । उसुको थाउलो छात्र र छात्रा दुवै इभेण्टमा छान क्वान,नान क्वान र ताईची क्वानमा प्रतिस्पर्धा गराईने छ । सान्सौ तर्फ ४२, ४५ र ४८ केजी तौल समावेश गरिएको छ । भलिबल छात्र तर्फ ४९ टिम र छात्रा तर्फ ३२ टिमले प्रतिस्पर्धा गर्ने महानगरपालिका खेलकुद विकास समितिले जनाएको छ ।

खेलाडीले एक फिल्ड दुई ट्रयाक तथा एक ट्रयाक दुई फिल्डमा प्रतिस्पर्धा गर्न पाउने प्रावधान छ । भलिबल प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयले नगद २०, १५ र १० हजार रुपैयाँ प्राप्त गर्ने छ । त्यस्तै कबड्डी तर्फ १५, १० र ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । एथलेटिक्स एकल छात्र तथा छात्रामा ११ जना विजेताले ३÷३ दोस्रोले २÷२ हजार र तेस्रो हुनेले १÷१ हजार रुपैयाँ प्राप्त गर्ने महानगरपालिका खेलकुद विकास समितिले जनाएइको छ । कराँते, उसु र तेक्वान्दो तर्फ पनि विजेताले ३, २ र १ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

आईतबार पोखरा रंगशालामा हुने प्रतिस्पर्धाको उदघाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने छन् । खर्च २३ लाखको अनुमान गरिएको छ ।