खेलकुदका लागि जीम अनिवार्य

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १३ गते २०८० मा प्रकाशित


पोखरा-स्वाथ्यका लागि खेलकुद । खेलकुदका लागि जीम । जीम खेलकुदको अनिवार्य सर्त हो । जीम विना स्वाथ्यको परिकल्पना गर्न सकिन्न । त्यसैले जीम खेलकुदको लागि अपरिहार्य छ ।युवापुस्ताले जीमलाई शारीरिक सुगठन तर्फ केन्द्रीत गर्दै आएका छन् । तर सबै प्रकृतिका खेललाई जीम नभई हुदैन् । बलिष्ठ शरीर बनाउनेले मात्रै जीम गर्छन भन्ने आम मानसिकता छ । तर जीम सबै एथलेट्सले गर्नै पर्छ । जीम विशेष जुन सुकै खेलका खेलाडीले पावर टे«निङको लागि नभई हुदैन् ।

पोखरा रंगशालाभित्र धेरै खेलका पूर्वाधार छन् । आर्चरी, क्रिकेट, एथलेटिक्स, व्याडमिन्टन, कराँते, तेक्वान्दो, बक्सिङ, फुटबल, ह्याण्डबल, भलिबल, उसु, जिमन्याष्टिक, जुडो लगायतका खेलहरु पोखरा रंगशालामा खेलिन्छ । लामो समयदेखि अभाव बन्दै आएको जीम दुईवर्ष अघिमात्रै पोखरा रंगशालाभित्र स्थापना भयो । एक दशक अघि जीम भएपनि बन्द भएको थियो । त्यही पूर्वाधारभित्र नयाँ जीम सेन्टरको स्थापनाले खेलप्रेमीलाई उत्साह थपेको छ ।

जीम स्थापनाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागि पावर टे«निङ गर्न सहज भएको थियो । त्यतिमात्रै नभई चीनमा आयोजना भएको एशियन गेम्सको केही खेलको तयारी पोखरामा गरिएको थियो । एशियन गेम्सको तयारीमा रहेका खेलाडीलाई पोखरा रंगशालाभित्रकै जीम सेन्टरमा अतिरिक्त प्रशिक्षण गरेका थिए । बुल्समेन इन्टरप्राईजेजले बुल्स प्लेग्राउण्डको नाममा आधुनिक सामानसहित जीम सेन्टरको स्थापना भएपछि रंगशाला बाहिर पावर टे«निङका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।

जीम निजी क्षेत्रबाट स्थापित हो । जिल्ला खेलकुद विकास समितिको स्वीकृतिमा जीम स्थापना भएको हो । स्वीकृतिसँगै जीमले सञ्चालन वापत समितिलाई मासिक भाडा बुझाउँदै आएको छ । एकातिार समितिको आन्तरिक स्रोत बनेको छ भने अर्को तर्फ पोखरा रंगशालाभित्रै जीम सेन्टरको स्थापनाले खेलाडीलाई जीम गर्नुपर्छ भन्ने भावनाको विकास गरिदिएको छ ।

निजी क्षेत्रबाट स्थापित जीमले शारीरिक सुगठनको खेलाडी बन्नेसहित विभिन्न प्रकृतिका खेलाडीसँग छुट्टछुट्टै शुल्क लिने गरेको छ । “अन्तराष्ट्रिय एरिनामा सहभागिता जनाउने जुनसुकै खेलका खेलाडीले निशुल्क प्रशिक्षण गर्न पाउँछन्।” बुल्समेन इन्टरप्राइेजजका सदस्य रुपेन्द्र गुरुङले भने—“संघले सिफारिस गरेको अवस्थामा पनि खेलाडीलाई सम्मान स्वरुप प्रशिक्षण गर्ने व्यवस्था गर्दै आएका छौं ।” जीमका लागि आवश्यक सबै सामान छन् । सामान आधुनिक छन् । इन्टरप्राईजेजले झण्डै एक करोड रुपैयाँ लगानी गरेको छ ।

जीम अहिले नाफामुलक भन्दा पनि खेलाडी उत्पादनमा ध्यान दिदैंआएको छ । “पोखरा रंगशालामा स्थापना भएको जीमले शोभा बढाएको छ । पावरको लागि जीम आवश्यक छ ।” पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष तथा कास्की जिल्ला खेलकुद विकास समितिका पूर्व कोषाध्यक्ष दिपकबहादुर गोदारले भने—“जीमले अन्तराष्ट्रिय खेलाडीलाई सुविधा दिएको छ । यो सुखद पक्ष हो ।” उनका अनुसार महानगरले जीमलाई अझै व्यवस्थित बनाउनुपर्छ । प्रत्येक खेलाडीले उपभोग गर्न पाउने मात्रै सहज पहुँच हुनुपर्छ ।

पोखरा रंगशालाभित्र सरकारले नै जीमको व्यवस्था गर्नुपर्ने थियो । तर निजी क्षेत्रबाट स्थापित गरिएको छ । खेलाडीहरुको लागि अनिवार्य हो । “पोखरा रंगशालामा जीम अत्यावश्क थियो । सरकारले व्यवस्था गर्नुपर्ने थियो ।” राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेलले भने—“तर निजी क्षेत्रबाट स्थापना भएको छ । खेलाडीहरुको लागि राम्रो हो ।” उनले खेलाडीले पाउनुपर्ने सुविधा निजी क्षेत्रले उपलब्ध गराउनु राम्रो भएको उल्लेख गरे । निजी क्षेत्रबाट स्थापित जीमले शुल्क लिएपनि खेलाडीलाई सहुलियत दिनुपर्ने बताए । उनले शुल्क तिर्न नसक्ने खेलाडीलाई निशुल्क प्रशिक्षण गराउने सर्त समेत उनीहरुले गर्दै आएका छन् जुन सह्रायिन रहेको बताए । न्टरप्राईजेजले जीम स्थापनासँगै सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आएको छ । विपन्न खेलाडीलाई आर्थिक सहयोग, पोखरा रंगशाला सरसफाई, खाद्यान्न वितरण लगायतका काम समेत गर्दै आएको छ ।