फागुन दोस्रो साता नवलपुरमा प्रदेश राष्ट्रपति रनिङशिल्ड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २३ गते २०८० मा प्रकाशित


पोखरा-गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्डको मिति सरेको छ । आगामी फागुनको दोस्रो साता आयोजना गर्ने प्रदेश खेलकुद परिषद गण्डकीले निर्णय गरेको छ । निर्णय अनुसार प्रतियोगिता फागुन १० देखि १२ गतेसम्म हुने छ ।

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवं उक्त प्रतियोगिता समन्वय समितिका संयोजक श्रीधर शर्माको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । यस अघि गत कार्तिक १५ गतेको बैठकले प्रतियोगिता यहि पौष २६ देखि २८ गते सम्म गर्ने निर्णय गरेको थियो ।

प्राविधिक कारणले केही जिल्लास्तरीय प्रतियोगिताहरु पूर्व निर्धारित समयमा हुन नसकेका कारण प्रतियोगिता आयोजनाको मिति सारीएको सदस्य सचिव श्रीधर शर्माले बताए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत ६ वटा खेलहरु आयोजना हुने गरेको छ । प्रतियोगिता अन्तर्गत छात्र–छात्रा एथलेटिक्स, भलिबल, कबड्डी, उसु, कराते र तेक्वान्दो हुने गरेको छ ।

नवलपुरमा प्रतियोगिता आयोजनाका लागि परिषदले गठन गरेको अध्ययन समितिले एथलेटिक्स नवदुर्गा खेल मैदान कावासोती, भलिबल देवचुली, तेक्वान्दो गैंडाकोट, उशु र कबड्डी कावासोतीमा तथा कराते मध्यविन्दुमा गर्ने गरी तय गरेको छ ।