असोज १२ गते ८ किलोमिटरको पर्वतीय दौड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २७ गते २०८१ मा प्रकाशित


पोखरा-आगामी असोज १२ गते पोखरा क्लिक प्रा.लि. आयोजनामा ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । दौड पोखरा वडा–२२ पुम्दीभुम्दीमा हुने छ ।

बिहीबार पत्रकार सम्मेलनमा पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले वडा २२ सँगै खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । पोखरा २२ पुम्दी–भुम्दीमा मानवनिर्मित विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति तथा बुद्ध पार्क पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएका छन् ।

‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथ हुने ८ किमी दौड प्रतियोगिता खुला प्रतिस्पर्धा हो । दौडको रुट विश्व शान्ति स्तुपदेखि सुरु भइ पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने छ । खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । यस्तै, महिला धावक र यू–१६ बालबालिका, पोखरा २२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । कार्यक्रममा ६ लाख ३९ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का नवनिर्वाचित अध्यक्ष तारानाथ पहारीले पोखराको समग्र पर्यटनमा प्रतियोगिताले सहयोग गर्ने भएकाले आफ्नै कार्यक्रम भएको बताए । विश्व शान्ति स्तुप समिति अध्यक्ष उत्तममान बुद्धाचार्यले करिब ५० वर्षअघि खुलेको विश्व शान्ति स्तुप प्रचार अभावमा छायामा परेको गुनासो गरे । उनले यसबाट थप प्रचार हुने अपेक्षा गरे । पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिवेशनमा अर्जुन पोखरेल प्यानलबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार बुद्धाचार्यले प्यानलतर्फबाट २० हजार रुपैयाँ हस्तान्तरण गरे ।