पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिताको तयारी अन्तिम चरणमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २६ गते २०८१ मा प्रकाशित


पोखरा– मंसिरको अन्तिम साता पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा प्रथम पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता हुदैं छ । कास्की जिल्ला गल्फ संघको पुर्नगठनपछि पहिलो पटक संघले एमेच्योर गल्फ प्रतियोगिता आयोजनाको जमर्को गरेको हो । प्रतियोगिता मंसिर २८ र २९ गते हुने छ । प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा छ ।

पार ६९ को कोर्षमा नेपालका विभिन्न गल्फ क्लबबाट एकसय भन्दा बढी एमेच्योर गल्फरको सहभागिता हुने कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङले आज बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको लागि काठमाडौं, धरान, चितवन, महोत्तरी लगायतका गल्फ क्लबका गल्फरको सहभागिता रहने कास्की जिल्ला गल्फ संघका अध्यक्ष गुरुङले बताए ।

प्रतियोगितामा टिम इभेण्ट पुरुष, पुरुष खुल्ला, महिला खुल्ला र यु—१६ गरी चार इभेण्टमा प्रतिस्पर्धा हुने छ । पहिलो दिन मंसिर २८ गते टिम इभेण्टको प्रतिस्पर्धा हुने छ । टिम इभेण्टमा दुई जना गल्फर रहने प्रावधान छ । पहिलो दिन बेटर बल(उत्कृष्ट स्कोर)को आधारमा विजेता घोषणा गरिने छ । विजेता, उपविजेता र तेस्रो स्थानमा रहने टिमलाई ट्रफीसहित नगद पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

दोस्रो दिन महिला तथा पुरुष र यु—१६ को इभेण्ट हुने छ । १८ होलको प्रतिस्पर्धा स्टेबलफोर्ड ३÷४ ह्याण्डीक्यापमा खेलाईने छ । उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्ने पुरुष तथा महिला एवं उमेर समूहको विजेता, उपविजेता र तेस्रो स्थानमा रहने गल्फरलाई नगदसहित ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक एवं संघका उपाध्यक्ष भक्तराज गुरुङले जानकारी दिए ।

प्रतियोगितालाई प्रभु बैंकले मुख्य प्रायोजन गरेको छ । अटोवेज प्रालिले सह प्रायोजन गरेको छ । सामाजिक विकास तथा युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद परिषद गण्डकी, नेपाल गल्फ संघ, प्रदेश गल्फ संघ गण्डकी, जिल्ला खेलकुद विकास समितिले सहयोग गरेका छन् । पोखरा महानगरपालिकाले प्रवद्र्धकको भूमिका खेलेको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च हुने संघले जनाएको छ। प्रतियोगिता सम्पन्न गर्न करिब ९ लाख ५० हजार खर्च हुने संघले जनाएको छ । प्रतियोगिताबाट बचत भएको रकम संघले स्थापना गर्न खोजेको पोखरा रंगशालाको गल्फ एकेडेमी निर्माणमा खर्च गर्ने छ । पोखरा र यस क्षेत्रमा गल्फ खेल पर्यटनको अथाह संभावना भएको प्रदेश गल्फ संघ गण्डकीका अध्यक्ष इन्द्रधारा विष्टले बताए । पोखरामा हरेक बर्ष सुर्य नेपाल गल्फ प्रतियोगिता हुदै आएको छ । पोखरामा दुरीका हिसावले हमिालयन गल्फ कोर्षमा मात्र गल्फ कोर्ष भएकोले अब रंगशालामा एकेडेमीको रुपमा विकास गर्न खोजिएको संघले जनाएको छ ।