
पोखरा-सांग्रिला क्रिकेट क्लब कास्की जिल्ला टी–२० क्रिकेट लिग च्याम्पियन बनेको छ ।राउण्ड रोविन लिगको शीर्ष दुईमा रहेका टोलीको फाईनल प्रतिस्पर्धा हुने क्रममा सोमबार सांग्रिलाले कास्की क्रिकेट क्लबललाई ५ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । पोखरा रंगशाला क्रिकेट मैदानमा सोमबार भएको फाईनल खेलमा नियमित कप्तान विपिन खत्रीको अलराउण्ड प्रर्दशनमा सांग्रिलाले उपाधि आफनो नाममा लेखायो । लिग चरणमा अपराजित रहेको कास्कीलाई सांग्रिलाले फाईनल खेलमा रोक्दै च्याम्पियन ट्रफी उचाल्यो ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा टस हारेर व्याटिङ गरेको कास्कीले शून्य रनमै पहिलो विकेट गुमायो । ओपनर सोहेल कुँवर विपिन खत्रीको बलमा दुई बलमै आउट भएपछि कास्कीको विकेट पतन शुरु भएको थियो । तेस्रो नम्बरमा आएका रोहित चन्द पनि विपिन खत्रीकै बलमा शून्यमै पभेलियन फर्किए । भरपर्दा व्याटर अर्जुन कुमालले भने ३३ रन बनाए । उनले २८ बल खेल्ने क्रममा तीन चौका र १ छक्का प्रहार गरेका थिए । कुमाल राज परियारको बलमा अर्जुन अधिकारीबाट क्याच भए ।

त्यसपछिका व्याटरले खासै रन बटुलेनन् । २० ओभर नै खेल्ने क्रममा कास्कीले ९ विकेटको क्षतिमा ९३ रनको सामान्य योगफल तयार पार्यो । विपिन खत्रीले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर दुई विकेट लिए । त्यस्तै राज परियारले ३ विकेट लिने क्रममा ३० रन खर्चिए ।
९४ रनको लक्ष्य पछ्याएको सांग्रिलाले विपिन खत्रीले ४९ रनमा अविजित रहँदै जित सुनिश्चित बनाए । उनले ४१ बलमा ५ चौका र १ छक्का हिर्काए । सांग्रिलाको पनि शुरुवाती राम्रो रहेन् । तीन रन जोड्ने क्रममा पहिलो विकेट गुमाउन पुग्यो ।

सिब्रिन श्रेष्ठ केवल १ रन बनाई खेल्ने क्रममा नितेश गिरीको बलमा विष्णुप्रसाद शर्माबाट क्याच भए । विराट दुवाडीले १८ रन बनाए । उनले २३ बल खेले । अरुण अधिकारी १० रनमा नटआउट रहँदै सांग्रिलाले १६ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै च्याम्पियन बन्यो ।
संघमा आवद्ध ८ क्लबले प्रतिस्पर्धा गरेका थिए । राउण्ड रोविन लिगमा प्रतिस्पर्धा गरिएको थियो । प्रत्येक क्लबले ७ म्याच खेले । शीर्ष दुईले उपाधि प्रतिस्पर्धा गरेका थिए ।

१५ दिनसम्म सञ्चालित प्रतियोगितामा बेष्ट व्याटर पोखरा क्रिकेट क्लबका सुवास भण्डारी भए । उनले बेष्ट बलरको पुरस्कार समेत प्राप्त गरे । भण्डारी प्लयेर अफ दि टुर्नामेन्टको पुरस्कार समेत प्राप्त गरे भने फाईनल खेलमा प्लयेर अफ दि म्याचको पुरस्कार विपिन खत्रीले पाए । विजेता र उपविजेता क्लबका खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य ऋषिराम गौतम, प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सन्जयकान्त सिग्देल लगायतले ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…