गठित महानगर खेल संघको वैधानिकतामा प्रश्न

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ६ गते २०८१ मा प्रकाशित


पोखरा-महानगरपालिका यतिबेला खेलकुद समिति विहीन छ । खेलकुद समिति विहीन हुदाँ खेलकुद प्रतियोगिता पनि शून्यता छाएको छ । समितिको समय सकिएको पनि एकवर्ष पुग्नै लाग्यो । महानगरपालिका खेलकुद विकास समितिको अध्यक्ष तथा पदाधिकारीको म्याद गएको जेठमा सकिएको हो । सदस्य सचिवको भने असारको पहिलो साता टुंगिएको थियो । त्यसयता महानगरपालिका खेलकुद विकास समिति विहीनको अवस्थामा छ ।

तत्कालिन समितिले महानगरपालिका खेलकुद विकास ऐन २०७५ अनुसार समिति गठन गरेको हो । गठित समितिले महानगरपालिका खेल संघ गठन गर्यो । गठित खेल संघको वैधानिकता माथि प्रश्न उठन थालेको छ । गठित समितिले नै खेल संघलाई वैधानिकता दिन सकेन् । गठित केही संघ अहिले पनि तदर्थ समितिमै छन् । केहीले साधारण सभा गरेर अगाडि बढेका छन् ।

गठित संघलाईले नै वैधानिकता दिने विषयमा भने निर्णय गर्न सकेन् । समितिले गठित संघलाई साधारण सभा तथा अधिवेशन गरेर कार्यसमिति तय गर्नुपर्ने थियो । कार्यसमितिलाई प्रमाणपत्र दिई सपथ खुवाईनुपर्ने कानूनी प्रावधान छ । तर समितिले अधिवेशन मार्फत संघका पदाधिकारीलाई प्रमाणपत्र वितरण गरी सक्रिय बनाउने तर्फ जोडबल नै गरेन् ।

‘समितिले संघ गठन प्रक्रिया गर्यो । संघ गठनकै प्रक्रियामा थियौं ।’ महानगर खेलकुद विकास समितिका निवर्तमान सदस्य सचिव सुवास खड्काले भने–‘समितिले संघ गठन गरियो तर गठित संघले बढीमा ६ महिनाभित्र साधारण सभा एवं अधिवेशन गरेर वैधानिकता दिनुपर्ने थियो । त्यो गरेनन् ।’ उनका अनुसार अधिवेशन नगर्दा संघलाई प्रमाणपत्र दिन सकिएन् । पोखरा महानगर बक्सिङ संघ गठन गरियो । तर अधिवेशन भएको छैन् । अधिवेशन नहुदाँ वैधानिकतामाथि नै प्रश्न उठन थालेको महानगर बक्सिङ संघका अध्यक्ष सन्तोष कार्कीले सुनाए । ‘तदर्थ समिति गठन गरियो । त्यसपछि साधारण सभा एवं अधिवेशन गर्नुपर्ने थियो । त्यो भएन् । प्रमाणपत्र पनि पाईएन् । तत्कालिन समितिले घचघच्याउनुपर्ने थियो ।’ उनको भनाई थियो ।

महानगरपालिकाले झण्डै डेढदर्जन संघ गठन गर्यो । पोखरा महानगर भलिबल संघको भने अधिवेशन गर्यो । अन्य गठित संघ भने अहिले यथावस्थामै छन् । अधिवेशन गर्ने नगर्ने दुविधा छ । गठित संघलाई सक्रिय बनाई पालिकाको खेलकुदलाई अझ मजबुत बनाउनुपर्नेमा सबैको जोड छ । तर समितिको समय सकिएपछि नयाँ समिति नबन्दा महानगरको पोखरा रंगशालाभित्र हुने खेलकुद गतिविधि कमजोर भएको छ ।
महानगरपालिका खेलकुद विकास समितिले अन्य जिल्ला संघसँगको सहकार्यमा खेलकुद गतिविधि गर्दै आएको थियो ।

पछि आफनै महानगर खेलकुद संघ गठन गरियो । गठित केही संघले महानगरको स्वीकृति र बजेटमा खेलकुद प्रतियोगिता भने आयोजना गरेका थिए । महानगरपालिका प्रवक्ता मोती तिमिल्सिनाका अनुसार पुरानो कार्यसमितिको म्याद सकिएको र नयाँ समिति गठनको प्रक्रियामा रहेको छ । ‘खेलकुद समितिको गठन प्रक्रियामा छौं । ’ उनले भने । तर उनले समिति मार्फत गठित खेल संघको वैधानिकताको विषयमा आफुले बुझ्नुपर्ने बताए ।