हिमश्री फुड्स लामाचौर कप भलिबलको मुख्य प्रायोजक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ३ गते २०८२ मा प्रकाशित


पोखरा-खेलकुद प्रतियोगिता आयोजनाको झण्डै तीन दशकपछि लामाचौरमा व्यापारीक घराना हिमश्री फुड्सले भलिबल प्रतियोगितालाई मुख्य प्रायोजन गरेको छ । फुटबल प्रतियोगिताको पर्याय बनेको सहारा क्लबद्वारा आयोजित आहा रारा गोल्डकपलाई प्रायोजन गर्दै आएको हिमश्री फुड्सले भलिबल प्रतियोगितालाई पहिलो पटक मुख्य प्रायोजन गरेको हो ।

लामाचौरको नवआर्दश सामुदायिक विकास समाजले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा वर्षेनी भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितालाई हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ । २९ औं वार्षित्कोत्सवको अवसरमा पुरुष भलिबल प्रतियोगितालाई रारा तयारी चाउचाउले प्रायोजन गरेको हो । यसै वर्षदेखि प्रतियोगिताको नाम पनि फेरिएर रारा लामाचौर कप पुरुष खुल्ला भलिबल प्रतियोगिता बनेको छ ।

भदौ ८ देखि १० गतेसम्म लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको प्रांगणमा प्रतियोगितासहित तीजे मेला सञ्चालन हुने छ । पुरुष भलिबल प्रतियोगिता विजेताले नगद ३ लाख उपविजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीको हकमा भने १० हजार नगद प्रदान गरिने प्रतियोगिताको प्रचारप्रसार संयोजकक विष्णुप्रसाद गौतमले जानकारी दिए । त्यस्तै पोखरा एक्सपर्ट एजुकेशनले मुख्य प्रायोजन गरेको अन्तरविद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगिताको विजेताले १ लाख, उपविजेता विद्यालयले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँसहितको पुरस्कार प्रदान गरिने संयोजक गौतमले बताए । ।

प्रतियोगितासँगै नवआदर्शले महिला लक्षित तीजे कार्यक्रम समेत गर्ने छ । तीज मेला भन्ने वित्तिकै लामाचौर जानुपर्छ भन्ने आम सर्वसाधारणको बुझाईलाई सार्थकता दिदैं समाजले तीजे गीत लगायत मनोरन्जनात्मक गतिविधिलाई प्राथमिकतामा राखेको छ । तीज गीत प्रतियोगिताको विजेताले ५० हजार, दोस्रो हुने समूहले ३० हजार र तेस्रोले २० तथा सान्त्वना पुरस्कार पाउनेले नगद १० हजार रुपैयाँ थाप्ने समाजका अध्यक्ष दिनेश भण्डारीले बताए । उनका अनुसार तीन दिने तीजे महोत्सवको लागि ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।