भलिबल उपाधिको लागि नेपाल पुलिस र शसस्त्र प्रहरी भिड्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २६ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- बागलुङको गल्कोट नगरपालिकाद्वारा आयोजित २२ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिको लागि शसस्त्र प्रहरी बलले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

शुक्रबार सम्पन्न सेमिफाईनलमा शसस्त्र प्रहरी बलले प्रदेश नं ५ लाई पराजित गर्दै फाईनल प्रवेश गर्दा विभागीय डर्बीमा नेपाली पुलिस क्लबले नेपाली सेनालाई सोझो सेटमा पराजित गर्दैै उपाधि भिडन्त पक्का गरेको हो ।

नेपाल भलिबल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताको पहिलो सेमिफाईनलमा प्रदेश नं ५ लाई २५–१०, २५–१५ र २५–१९ को सेटले पराजित गर्दै फाईनल सुरक्षित गरेको हो । अर्को खेलमा नेपाल पुलिस क्लबले नेपाली सेनाको टिमलाई २८–२६, २५–१५ र २५–१४ को सेटले पराजित गर्दै फाईनल सुरक्षित गरेको हो । तेस्रो स्थानको लागि नेपाली सेनाले प्रदेश नं ५ सँग प्रतिस्पर्धा गर्ने छ ।

बाग्लुङ गल्कोट नगरपालिकाको विशेष सहयोगमा आयोजित प्रतियोगितामा दक्षिण एशियाली खेलकुद प्रतियोगिताको लागि खेलाडी छनोट गरिने छ । नेपाल भलिबल संघको उपाध्यक्ष यामबहादुर गुरुङका अनुसार दक्षिण एशियाली खेलकुदको लागि २४ सदस्यीय टोली छनोट गरिने छ । २४ सदस्यीय छनोट गरी बन्द प्रशिक्षणमा राखिने छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । उपविजेताले ३० हजार रुपैयाँ पाउँदा तेस्रो हुनेले नगद २० हजार रुपैयाा पाउने नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले बताए । उत्कृष्ठ खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने छ । भने बेष्ट फाईभ विधाका खेलाडीलाई भने नगद ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ ।