मस्र्याङ्दीमा हिमालयन ह्वाइट वाटर च्यालेन्ज, दोस्रो दिन पनि गुरुङकै अग्रता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ९ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-साहसिक जलयात्रा मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित लमजुङको मस्र्याङ्दी नदीमा शनिबारदेखि शुरु भएको १७ औं सस्करणको कायाकिङ(हिमालयन ह्वाईट वाटर च्यालेन्ज) मा दोस्रो दिन आईतबार बेलायती प्रितम गुरुङले आफनो अग्रतालाई कायमै राख्दै शीर्षस्थानमा छन् । उनले दोस्रो दिनको ‘एक्स्ट्रिम सलालम’सलालोम बेष्ट तर्फको प्रतिस्पर्धामा ९३.८५ सेकेण्डमा पार गर्दै ै शीर्षस्थान जोगाई राखे ।

दुई चरणको हिटमा उनको उत्कृष्ठ स्कोरलाई आधार मानिएको थियो । पहिलो हिटमा उनले ९३.८५ सेकेण्ड लगाएका थिए । दोस्रो हिटमा सोही २ किलोमिटरको दुरीलाई ९७.२५ सेकेण्ड(एक मिनेट ३७ दशमलव २५ सेकेण्ड)को समय लगाएका थिए यद्यपी हिटमा उत्कृष्ठ समयलाई आधार मानिन्छ । दोस्रो स्थानमा भने नेपालका सागर गुरुङ छन् । सागरले पहिलो हिटमा १५६.८५ सेकेण्डमा पुरा गरे । तर दोस्रो हिटमा भने उत्कृष्ठ लयमा रहदै केवल ९८.२ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।

तेस्रो स्थानमा बेलायतकै माट स्टेफन रहेका छन् । उनले पहिलो हिट निकै खराब रह्यो । दुई किलोमिटरको दुरीको उक्त प्रतिस्पर्धामा १९९.५९ सेकेण्डको समय लगाउँदा निकै निराश देखिएका थिए । पहिलो दिनको प्रतिस्पर्धामा समेत तेस्रो स्थानमै रहेको स्टेफनले दोस्रो दिनको दोस्रो हिटमा भने उत्कृष्ठ टाईमिङ निकाले । उनले ९९.५६ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थानमा आफुलाई यथावत राखे ।

चौथो स्थानमा नेपालका सुरज गुरुङ छन् । उनको टाईमिङ पहिलो हिटमा २१७.८२ सेकेण्ड रहदाँ दोस्रो हिटमा भने सुधार्दै १०४.१९ सेकेण्डमा झार्दै चौथो स्थानमा चिक्त बुझाएका छन् । पाँचौ स्थानमा मनबहादुर कडेंल छन् । छैटौं स्थानमा सोमबहादुर मगर र सातौंस्थानमा राजेन्द्र गुरुङ छन् । राजेन्द्र पहिलो दिनेको प्रतिस्पर्धामा भने दोस्रो स्थानमा रहेको थिए । दोस्रो दिनको प्रतिस्पर्धामा १४४.९८ मिनेटको खराब समय लगाए ।

यसैगरी महिला तफको प्रतिस्पर्धामा जर्मनकी भेरा निस शीर्षस्थानमा उक्लिएकी छिन् । उनले दोस्रो दिनको एक्स्ट्रिम सलालोम प्रतिस्पर्धामा आईतबार २४६.५६ सेकेण्डको समय लगाईन् । पहिलो हिटमा निकालेको समय नै उत्कृष्ठ रह्यो । दोस्रो हिटमा भने उनको खराब समय निस्कियो । दोस्रो हिटमा पार गर्न उनले ३६०.६५ सेकेण्डमा पुरा गरिन् । दोस्रो स्थानमा भने आईसिसकी सुशन डोयले रहेकी छिन् । उनले आईतबार २९८ सेकेण्डको समयमा पार गर्दै दोस्रो स्थानमा चिक्त बुझाईन् । तेस्रो स्थानमा कास इमारे छिन् । उनले ३८६.८४ को टाईमिङ निकालिन् ।

तीन दिने जल प्रतिस्पर्धामा बेलायत, फ्रान्स, अमेरिका, क्यानडा, नर्वे, स्वीडेन, स्पेन, न्यूजिल्याण्ड तथा अष्ट्रलिया लगायतका पुरुष र महिला गरी १०० भन्दा बढी कायकरहरुको सहभागिता रहेको छ । प्रतियोगितामा अन्तिम दिन सोमबार ‘हेड टु हेड बोर्डर क्रस विद्या’मा खेलमा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने कायकरले हेलमेट, लाईफ ज्याकेट, कायक प्याडल, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५० हजार प्राप्त गर्ने छन । द्धित्तिय र तृतीय हुनेले हेलमेट, लाईफ ज्याकेट, कायक प्याडल, मेडल तथा प्रमाणपत्र सहित क्रमश नगद रु ३० हजार र २० हजार थाप्ने छन् । त्यसैगरी महिला तर्फको बिजेता, उपबिजेता र सान्त्वना स्थान हासिल गर्ने कायकरलाई हेलमेट, लाईफ ज्याकेट, कायक प्याडल, मेडल तथा प्रमाणपत्र सहित क्रमश नगद रु ३० हजार २० हजार र १० हजार प्रदान गरिने छ ।