बोरिङ छ, पानी छैन् , बजेट नहुदाँ थन्कियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २७ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—पोखरा रंगशालाभित्र खानेपानीको लागि बोरिङ खनिएको पनि आठ महिना वित्यो । लामो समय वित्दा पनि पानी भने जमिन मुनी नै छ । जमिनमुनिका पानी बाहिर ल्याउने काम अझै भएको छैन् । बोरिङ खनेर पाईप जडान गरेपनि थ्री फेजको लाईनसँगै पाईप विस्तारको योजना नहुदाँ बोरिङ प्रयोग विहीन अवस्थामा छ ।

भुतपुर्व खेलाडी मन्च कास्कीले पर्खाल घेराबन्दीसँगै खानेपानीको लागि बोरिङ गरेको थियो । खनिएको बोरिङ पनि लामो समय अलपत्र परेपछि पुन नयाँ जिल्ला तथा क्षेत्रीय खेलकुदमा कार्यसमिति आएपछि फेरी बोरिङबाट पानी निकाल्ने काम गरिएको थियो ।

१६ लाख ८० हजार रुपैयाको लागतमा बोरिङ गरिएको हो । पाईप विस्तार थ्री फेजको लाईन विस्तार नहुदाँ अझै अलपत्र छ । पाईप विस्तार गर्न बजेट नभएको गुनासो जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । डिप बोरिङ (१५० मिटर गहिराईमा) खनिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

बोरिङ सञ्चालनको लागि आवश्यक बजेट अभाव रहेको क्षेत्रीय खेलकुुद विकास समितिले जनाएको छ । बोरिङ सञ्चालन गर्न निजी कम्पनीले दिने योजना बनाएपनि बोर्ड मिटिङले नदिने निर्णय गरेको क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलक अनुसार प्राईभेट कम्पनीलाई दिने सोच बनाएपछि मिटिङबाट निर्णय नहुदाँ बोरिङ सञ्चालनमा आउन सकेको छैन् ।

थ्री फेजको लाईन विस्तार गर्नुपर्ने खाँचो छ । कार्यालय परिसरबाट थ्री फेजको लाईन विस्तार गर्न झण्डै दुईसय मिटर लाईन तान्नुपर्छ । लाईन विस्तारकै लागि डेढलाख खर्च हुने अनुमान गरिएको छ । त्यसपछि सबै ठाँउमा पाईप विस्तार गर्ने कामको लागि पनि उत्तिकै बजेट खाँचो छ । पानीको ट्यांकी व्यवस्थित गर्नुपर्ने खाँचो पनि छ ।

पानीकै अभावले पोखरा रंगशाला परिसरभित्र क्यान्टिनसँगै जोडिएको शौचालय समेत सफाई गर्न नसकिएको गुनासो जिल्ला खेलकुद विकास समितिले जनाएको छ । पाईपको व्यवस्था गरी रंगशालाभित्र निर्माण गरिएको भौतिक पुर्वाधारसम्म पानीको व्यवस्था गर्न सकिने छ । तस्वीर फाईल