नयाँ वर्षमा खेलाडी संघले विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २९ गते २०७४ मा प्रकाशित


पोखरा,(खेलाडी न्युज) -खेलाडी संघ कास्कीले नयाँ वर्ष बैशाख १ गते प्रभातफेरी गर्दै खेलकुदमा योगदान दिएका व्यक्तित्वलाई सम्मान गर्ने जनाएको छ । पोखरामा रहेर लामो समयसम्म स्वयंसेवक प्रशिक्षकको रुपमा कार्यरत फुल कन्ट्याक्ट कराँतेका प्रशिक्षक शिव गुरुङलाई प्रभातफेरीपछि पोखरा रंगशालामा आयोजित विशेष समारोहमा सम्मानित गरिने छ । गुरुङ लगायत पोखरा रंगशाला पर्खाल घेराबन्दी गर्न महत्वपूर्ण योगदान दिएका व्यक्तित्वलाई समेत सामूहिक रुपमा सम्मानपत्रबाट सम्मानित गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

नेपाल भुतपुर्व खेलाडी मन्चको अगुवाईमा गठित पोखरा रंगशाला पर्खाल घेराबन्दी निर्माण समिति गठन गरिएको थियो । डा. विरेन्द्रसिंह गुरुङको अध्यक्षतामा गठित समितिले २०६१ सालमा झण्डै एक करोडको लागतमा रंगशालाको तीन दिशामा पर्खाल घेराबन्दी गर्ने कार्य पुरा गरेको थियो । रंगशालाको पश्चिम तर्फ भने सेती नदी किनार छ । सेती नदी किनार तर्फ पनि विभिन्न व्यक्तित्वको पहलमा तारजाली लगाईएको छ ।

संघले पर्खाल घेराबन्दीमा महत्वपूर्ण योगदान पुर्याउने डा. विरेन्द्रसिंह गुरुङ, तेजबहादुर गुरुङ, खेम गुरुङ, बसन्त थकाली, प्राविधिक किसानसिंह गुरुङलाई सम्मान गरिने छ । त्यस्तै समितिमा रहेका स्व. शिवशंकर रन्जित र स्वं ईन्द्रबहादुर गुरुङलाई मरणोपरान्त परिवारजनलाई सम्मानपत्र प्रदान गरिने खेलाडी संघका अध्यक्ष दिपकबहादुर गोदारले जानकारी दिए ।

प्रभात फेरी पोखरा मानवाधिकार चोकदेखि महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुदैं पोखरा रंगशालामा पुगेर सम्मान समारोहमा परिणत हुने छ । संघका सचिव राजन पौडेलका अनुसार प्रभातफेरीमा विभिन्न खेलका खेलाडीहरुले सडकमै आफनो खेलको बारेमा डेमो देखाउने छन् । खेलकुदप्रति युवापुस्तालाई प्रेरित गर्ने लक्ष्य र उद्देश्यसहित गठित संघले पोखराको खेलकुद र खेलाडीको हकहितको लागि आफनो आवाजलाई निरन्तर उठाईरहने महासचिव हिमाल खड्काले बताए ।