वैशाख २१ गतेदेखि दशौं सस्करणको राष्ट्रपति रनिङ शिल्ड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ९ गते २०७५ मा प्रकाशित


पोखरा, (खेलाडी न्युज)-पोखरा रंगशालामा बैशाख २१ गतेदेखि १० औं सस्करणको विद्यलायस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुदैैं छ । दशौं सस्करणसम्म आईपुग्दा नवौं सस्करणसम्मको क्षेत्रीय विजेता भने कास्की जिल्ला रहदैं आएको छ । यो वर्षदेखि जिल्लास्तरीय हुदैं प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने छ । प्रदेशस्तरीय प्रतिस्पर्धामा प्रदेश नं ४ का ११ जिल्लाका विद्यालयले आफनो सहभागिता जनाउने जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

कास्कीले नवौं सस्करणसम्म क्षेत्रीय छनोटको उपाधि जितिसकेको छ । दशौं सस्करण प्रदेशस्तरीय हुने छ । २०६४ सालदेखि शुरु भएको राष्ट्रपति रनिङशिल्ड २०७३ सम्म कास्कीले एकलौटी रुपमा कब्जा जमाउँदै आएको छ । जिल्लास्तरीय प्रतिस्पर्धामा भने टप्स मावि, फिस्टेल एकेडेमी र सरकारी गौरीशंकर मावि हेमजाले जितेका छन् । टप्सले सात, फिस्टेलले दुई र गौरीशंकरले एक पटक जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड च्याम्पियन बनेका छन् ।

बैशाख २१ गतेदेखि पोखरा रंगशालामा हुने प्रतिस्पर्धामा भलिबल, कबब्डी, एथलेटिक्स र मार्शल आर्टका खेलहरु समावेश हुने छन् । ट्रयाक तर्फ छात्रले १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर १५ सय मिटर, ३ हजार मिटर, चार गुण एकसय मिटर रिले, चारगुण चारसय मिटर रिले मा प्रतिस्पर्धा गर्ने छन् । छात्रा तर्फपनि सोही इभेण्टमा प्रतिस्पर्धा गराईने जिल्ला खेलकुद विका समितिले जनाएको छ ।

त्यस्तै फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम तौलको, सटफुट (१२ पाउण्ड)मा छात्रहरुको प्रतिस्पर्धा गराईने छ । छात्रा तर्फ भने ६ सय ग्राम तौलको ज्याभलिङ थ्रो, ८ पाउण्डको सटफुट फ्याँक्ने छन् । मार्शल आर्ट तर्फ सितेरियो कराँते, उसु, तेक्वान्दो खेलमा प्रतिस्पर्धा हुने छ । सितेरियो कराँते अन्तर्गत छात्रले ४२ केजी, ४७ केजी, ५२ केजी र एकल कातामा प्रतिस्पर्धा गराईने खेलकुद विकास समितिले जनाएको छ । छात्रा तर्फ ४० केजी, ५० केजी र एकल कातामा भिड्ने छन् ।

तेक्वान्दो तर्फको प्रतिस्पर्धामा भने छात्रले ४५ केजी, ४८ केजी, ५१ केजीमा सहभागिता जनाउँदा छात्रा तर्फ भने ४२ केजी, ४४ केजी र ४६ केजी तौलमा प्रतिस्पर्धाको लागि एरिनामा उत्रिने छन् । उसु तर्फ छात्रले छान क्वान, नान क्वान र ताईची क्वानमा प्रतिस्पर्धा गर्ने छन् । छात्रा तर्फ भने छान क्वान, नान क्वान र ताईची क्वानमा प्रतिस्पर्धा हुने जनाईएको छ ।

जिल्ला खेलकुद विकास समितिका अनुसार एथलेटिक्स तर्फ प्रत्येक इभेण्टमा स्वर्ण, रजत र कास्य पदक जित्नेले ७, ५ र ४ अंक प्राप्त गर्ने छन् । चौथो पाँचौ र छैटौं हुनेले पनि ३, २ र १ अंक प्राप्त गर्ने नयाँ प्रावधान छ । रिलेमा प्रथम हुने १४ अंक प्राप्त गर्ने छ । दोस्रो हुनेले १० र तेस्रो हुनेले ८ अंक पाउँछ । चौथो, पाँचौ र छैटौं हुने विद्यालयको खातामा ६, ४ २ अंक जोडिने छ । भलिबल र कबब्डीमा प्रथम हुने र दोस्रो हुनेले क्रमश ४२ र २८ अंक प्राप्त गर्ने कार्यालय प्रमुख बरालले जानकारी दिए । सेमिफाईनलिष्ट टोलीलाई १४—१४ अंक प्रदान गरिने छ ।

भलिबल, कबब्डी र एथलेटिक्समा प्राप्त अंकको आधारमा विद्यालय च्याम्पियन घोषणा गरिने छ । नयाँ प्रावधान अनुसार एउटा विद्यालयले एथलेटिक्सको प्रत्येक इभेण्ट्समा दुई खेलाडीलाई मात्रै सहभागिता गराउन पाउने व्यवस्था छ । प्रत्येक खेलाडीले एक फिल्ड र दुई ट्रयाक अथाव दुई फिल्ड र एक ट्रयाकमा सहभागिता जनाउन सक्ने छन् ।

file photo