राष्ट्रिय ट्रायथोलनमा आर्मीको एकलौटी, साउथ एशियनमा भारतीयको बर्चस्व

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १५ गते २०७५ मा प्रकाशित


पोखरा,(खेलाडी न्युज)- छैटौं राष्ट्रिय ट्रायथोलन च्याम्पियनमा नेपाल आर्मीले बर्चस्व जमाउँदा साउथ एशियन र अन्तराष्ट्रिय पुरुष खुल्ला प्रतिस्पर्धामा भने भारतीय खेलाडीले प्रभुत्व कायम गरेका छन् । नेपाल ट्रायथोलन संघको आयोजना तथा कास्की जिल्ला ट्रायथोलन संघको व्यवस्थापनमा पोखराको लेकसाईडमा आयोजित च्याम्पियनसिपमा महिला तर्फ पनि भारतीय खेलाडीले उपाधि कब्जा गरेका छन् ।

राष्ट्रिय ट्रायथोलन च्याम्पियनसिपमा पुरुष तर्फ नेपाल आर्मीका बसन्त चौधरीले १ घण्टा १ मिनेट २ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जिते । आर्मीकै दिपेश चौधरीले १ घण्टा १ मिनेट र १८ सेकेण्ड लगाउँदै रजत पदक र आर्मीका रुद्र कटुवालले १ घण्टा ४ मिनेट ४३ सेकेण्ड लगाउँदै कास्य पदक जिते । महिला तर्फको प्रतिस्पर्धामा शसस्त्र प्रहरी बलकी सोनी गुरुङले १ घण्टा १३ मिनेट ८ सेकेण्डमा दुरी पुरा गर्दै स्वर्ण पदक लेखाईन् । काठमाडौंकी रोजा केसीले १ घण्टा १७ मिनेट ३३ सेकेण्ड र आर्मीकी यमकुमारी भुजेलले १ घण्टा २४ मिनेट १ सेकेण्डमा पुरा गरी रजत र कास्य पदक जिते । राष्ट्रिय तर्फ च्याम्पियन र उपविजेता खेलाडीद्वयले इण्डोनेशियाको जकार्तामा आयोजित १८ औं एशियाली ट्रायथोलन प्रतियोगितामा भने सहभागिता जनाउन छनोट भएका छन् । पुरुष तर्फ १० र महिला तर्फ ४ खेलाडीले सहभागिता जनाएका थिए ।

दक्षिण एशियाली ट्रायथोलन प्रतिस्पर्धा अन्तर्गत पुरुष तर्फको प्रतिस्पर्धामा भारतका मिनाचन्द्र सिंहले ५८ मिनेट २ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जित्दा भारतकै विश्वरजित सैखुमले ५९ मिनेट ५७ सेकेण्डमा पुरा गर्दै रजत पदक आफनो नाममा लेखाए । नेपालका बसन्त चौधरीले भने १ घण्टा १ मिनेट २ सेकेण्डमा पुरा गर्दै कास्य पदक जित्दै दरिलो उपस्थिति देखाए । पुरुष तर्फ ५ खेलाडीले सहभागिता जनाएका थिए । महिला तर्फको इभेण्टमा भारतीय खेलाडी समीर मरिम अब्राहमले १ घण्टा ४ मिनेट ५० सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितिन् । भारतकै प्रज्ञिना मोहनले १ घण्टा ८ मिनेट ४२ सेकेण्डमा पुरा गर्दै रजत र नेपालकी सोनी गुरुङले १ घण्टा १३ मिनेट ८ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितिन् । महिला तर्फ ४ जना खेलाडी सहभागि थिए । नेपाल, भारत, बंगालादेशका खेलाडीको सहभगिता रहेको थियो ।

अन्तराष्ट्रिय खुल्ला ट्रायथोलन च्याम्पियनसिपमा पुरुष प्रतिस्पर्धामा भारतीय खेलाडी मिनाचन्द्र सिंह भारतले स्वर्ण, विश्वरजित सैखुमले रजत र नेपालका बसन्त चौधरीले कास्य पदक जिते । खुल्ला तर्फको प्रतिस्पर्धामा १२ जना खेलाडीले सहभागिता जनाएका थिए । महिला तर्फको इभेण्टमा भने स्पेनकी इशोराले १ घण्टा ३ मिनेट ४७ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितिन् । भारतकी समीरा मरिम अब्राहमले रजत र प्रज्ञिना मोहनले कास्य पदक जित्न सफल भईन् । महिला तर्फको प्रतिस्पर्धामा ८ जनाको सहभागिता रहेको थियो ।

फेवाताल किनार गौरीघाटमा आयोजित समापन समारोहमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट लगायतले खेलाडीलाई पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । ट्रायथोलनको स्प्रिन्ट अन्तर्गत ७५० मिटर स्वीमिङ, ५ किलोमिटर दौड र २० किलोमिटर साईक्लिङमा प्रतिस्पर्धा गराईएको थियो । एक्वाथोलन-पोखराको लेकसाईडमा आयोजित ट्रायथोलनसँगै आयोजित एक्वाथोलनमा नेपाली सेनाका मानबहादुर थापाले स्वर्ण जितेका छन् । उनले उक्त दूरी ५४ मिनट १७ सेकेण्डमा पुरा गर्दै गरेका थिए । एपिएफका किरण मल्लले ५५ मिनट ३९ सेकेण्ड र लक्ष्मण मल्लले ५५ मिनट ५३ सेकेण्डमा पुरा गर्दै रजत र कास्य जित्न सफल भए । महिला तर्फ दुइ खेलाडीको मात्र प्रतिस्पर्धा भएकोमा एपिएफकी हुमा बुढा मगरले आफ्नै क्लबकी प्रतिमा चौधरीलाई पछि पार्दै स्वर्ण हात पारिन् । हुमाले १ घण्टा १० मिनट ९ सेकेण्ड र प्रतिमाले १ घण्टा १५ मिनट २३ सेकेण्डमा दूरी पुरा गरेकी थिईन् । दौड—साईक्लिङ—दौड(५कि.मी दौड—२० कि.मी साईक्लिङ, २.५ कि.मी दौड)को प्रतिस्पर्धा गराईएको थियो ।

हानिकारक पानीमा पौडी –फेवातालको पानी स्वास्थ्यको लागि निकै हानिकारक छ । ट्रायथोलन संघले तालको पानीको ल्याब परीक्षण गर्दा हानिकारक रहेको रिपोर्ट निकालेको थियो ।त्यही हानिकारक पानीमा पौडी गराउँदै ट्रायथोलन शुरु गरियो । क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयको रिपोर्ट अनुसार तालको पानीमा ई—कोली (मलमुत्र)को मात्रा अधिक रहेको उल्लेख छ । पानीमा कुहिने घुलित फोहोरको मात्रा, नउत्रिने र नथिग्रिने फोहोरसँगै क्षारीय रहेको रिपोर्टमा छ ।

छैटौं पर्वतीय खेलकुद उद्घाटन-छैटौं पर्वतीय खेलकुद पर्यटकिय नगरी पोखरामा शनिबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (बि.क.)ले एक कार्यक्रमबिच शुभारम्भ गरे । उक्त अवसरमा बोल्दै मन्त्री सुनारले पोखरालाई पर्यटकिय खेलकुद क्षेत्रको रुपमा बिकास गर्नु पर्ने र त्यसका लागि आफुले पहल गर्ने बताए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पोखरालाई साहशिक खेलकुदको स्थल बनाउनु पर्नेमा जोड दिए । पर्वतिय खेलकुद अन्तरगत रहेका ¥याफ्टिङ्ग एण्ड क्यानोईङ्ग, प्याराग्लाइडिङ्ग, ट्रायथोलनका खेलहरु सम्पन्न भई सकेका छन् । तस्बिर सन्जय शाक्य