कबड्डीमा विद्यालयको आकर्षण, शान्तिदिप र महेन्द्र माविलाई स्वर्ण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २४ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-कुनैबेला सुस्ताएको कबड्डी खेल यतिबेला पोखरामा निकै चर्चामा छ । विद्यालयस्तरदेखि नै खेलकुदको विकास गर्ने लक्ष्य र उद्देश्यसहित आयोजित राष्ट्रपति रनिङ सिल्डमा कबड्डीको चर्चा चुलिएको छ । कब्बडी तर्फको आकर्षण बढ्दै गएको छ । गतवर्ष २० विद्यालयको सहभागिता रहेको कबड्डीमा यो वर्ष छात्रा र छात्र गरी ३८ विद्यालयले सहभागिता जनाएको जिल्ला खेलकुद विकास समिति कास्कीको तथ्यांकले देखाएको छ ।

दशौं संस्करणको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अन्तर्गत कबड्डीको छात्र तर्फको स्वर्ण पदक महेन्द्र माविले जित्यो । गौरी शंकरी मावि हेमजालाई फाईनलमा ३६—२० अकंको फराकिलो जितसँगै स्वर्ण पदक जित्दा गौरीशंकरले रजतमा चिक्त बुझायो । तेस्रो स्थानको लागि प्रतिस्पर्धामा हिलप्वाईन्टले कास्की मोर्डनाइज्डलाई ४३—४२ मा केवल एक अंकको अन्तरले पराजित गर्दै कास्य पदक जित्न सफल भयो ।

छात्रा कब्बडीमा नै शान्ती दिपले गौरी शंकरलाई ३१–११ ले पाखा लगाउँदै स्वर्ण पदक जित्दा गौरी शंकरले छात्रा प्रतिस्पर्धामा पनि रजत मै चिक्त बुझायो । त्रिवेणीले ४६–२० अंकले पराजित गर्दै तेश्रो हुदैं कास्य पदक जित्यो । विजेता टिम तथा खेलाडीलाई जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष दिपकबहादुर गोदार, सदस्य देशभक्त कुंवर, कार्यालय प्रमुख प्रकाश बराल, कास्की जिल्ला कब्बडी संघका अध्यक्ष पदमबहादुर कार्की लगाएतले पदक, प्रमाणपत्र र कप वितरण गरेका थिए ।

यसैगरी एथलेटिक्स छात्रतर्फ गोगन माविका स्माईल भण्डारीले व्यक्तिगत दोस्रो स्वर्ण पदक जितेका छन् । उदघाटन समारोहमा १५ सय मिटरमा स्वर्ण पदक जितेका उनले सोमबार विहान आयोजित ३ हजार मिटर दौडमा पनि स्वर्ण पदक जिते । पोखरा मल्टी मोडलका सोमराज गुरुङ द्वितिय हुदैं रजत र टप्स मावीका गोपाल दुरा तृतिय भई कास्य पदक भिरे ।
छात्रा तर्फको ३ हजार मिटर दौडमा गौरीशंकरका मिना नेपालीले स्वर्ण पदक जितिन् । कास्की मोर्डनाइज्डकी कृतिका गिरी रजत र टप्स मावीकी सम्झना नेपालीले कास्य पदक जित्न सफल भईन् । यता ८ सय मिटर छात्र दौड तर्फ त्रिवेणीका विवेक अधिकारी प्रथम, पोखरा मल्टि मोडलका कृष्ण गुरुङ द्वितिय र सगरमाथाका सोमराज हमाल तृतिय भए ।
छात्रा ज्याभलिन थ्रोमा कास्की मोर्डनाइज्डकी रितु पुन प्रथम, सगरमाथाकी सेविका आचार्य द्वितिय र कास्की मोर्डनाइज्डकी इशा गुरुङ तृतिय भइन भने छात्र तर्फ ग्यालेक्सीका राहुल बिक प्रथम, कास्की मोर्डनाइज्डका दिपक थापा द्वितिय र गौरी शंकरका शंकर परियार तृतिय भए ।
छात्रा भलिवलको फाइनलमा टप्स माबी र जनप्रिय माबी भिड्ने भएका छन । तेश्रो स्थानका लागि कास्की मोर्डनाइज्डले सृजना माबीसंग भेट पक्का गरेको छ । सोमबार नै सम्पन्न खेलमा टप्सले कास्की मोर्डनाइज्डलाई २–० को सेटमा र जनप्रियले सृजनालाई २–०को सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।