वडास्तरीय मेयरकप भलिबल प्रतियोगिता शुरु, वडा नं १६ र १७ को विजयी शुरुवात

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २७ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा लेखनाथ महानगरपालिका वडास्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगितामा वडा नं १६ ले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्र बिहीबारदेखि शुरु भएको प्रतिस्पर्धामा वडा नं १६ ले वडा नं २ लाई २५—१८, २५—२२ को सोझो सेटले पराजित गर्दै प्रिक्र्वाटरफाईनल प्रवेश गरेको छ ।

दोस्रो खेलमा वडा नं १७ ले वडा नं २२ लाई पराजित गर्दै प्रिक्र्वाटरफाईनलमा प्रवेश गरेको छ । १७ ले २२लाई २५—१४ र २५—१६ को सोझो सेटमा पराजित गरेको थियो । पोखरा लेखनाथ महानगरपालिकाको आयोजना तथा कास्की जिल्ला भलिबल संघको संयोजनमा आयोजित प्रतियोगिताको उदघाटन भने पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले गरे । उनले पोखरालाई खेलकुदको शहर बनाउन तर्फ महानगरपालिकाको ध्यान केन्द्रीत भएको उल्लेख गरे । प्रतियोगिता बेष्ट अफ थ्रीमा खेलाईएको छ ।

प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये २३ वटा वडाको सहभागिता रहेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघको समन्वय र पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समितिको बिशेष सहयोग रहेको छ । प्रतियोगितामा सहभागि हुने खेलाडी सम्बन्धीत वडाकै हुनुपर्ने प्रावधान छ ।

गैर वडाको खेलाडी समावेश गरिएको अवस्थामा सम्बन्धीत वडालाई कारवाही समेत गरिने संघका अध्यक्ष भीम पराजुलीले बताए । उनका अनुसार प्रत्येक वडामा नौ जना खेलाडी, प्रशिक्षक र टिम म्यानेजर गरी ११ जना सम्बन्धीत वडाकै हुनुपर्ने छ । टिमको सर्टिफाई भने सम्बन्धीत वडाध्यक्षले गर्नुपर्ने प्रावधान छ । खेलाडीको बारेमा उजुरी परेको अवस्थामा सम्बन्धीत वडाको मताधिकार(भोटिङ लिष्ट) परिचय पत्र हेरिने उनले बताए । ‘बसाईसराईको कागजलाई मान्यता दिइएको छैन् ।’ उनले भने ।

भलिवल खेलको विकास गरी खेलाडी उत्पादन गर्ने उद्धेश्यले महानगरपालिकासँगको पहिलो सहकार्यमा प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पराजुलीले प्रष्टयाए । प्रतियोगितामा विजेताले एक लाख रुपैया साथमा सिल्ड, पदक तथा प्रमाण–पत्र प्राप्त गर्ने संघका सचिव कुमार गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा उपविजेतालाई ५० हजार, तेश्रो हुनेलाई २५ हजार साथमा ट्रफी पदक प्रमाण पत्र वितरण गरिने भएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, त्यसैगरी प्रतियोगितामा उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट सर्भरलाई जनही ३÷३ हजार पुरस्कार प्रदान गरिने भएको संघले जनाएको छ । चार दिनसम्म संचालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख ३० हजार रुपैया खर्च हुने अनुमान गरिएको छ । महानगरपालिकाले खेलकुद विकासको लागि वार्षिक २५ लाख रुपैयाँ बजेट छुट्टाउँदै आएको छ ।