तेस्रो पोखरा स्पोटर्स अवार्ड, खेलाडी मनोनयन सार्वजनिक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-खेलकुद पत्रकार मन्च कास्कीले यही जेठ १८ गर्ने तेस्रो संस्करणको पोखरा स्पोर्टस अवार्ड २०७४ मा मनोनयन खेलाडीको नाम सार्वजनिक गरेको छ । तेस्रो संस्करणलाई बतास ब्रदर्शले प्रायोजन गर्दै टिभिएस मोटरसाईकल प्रदान गरिने छ । मनोनयनमा क्रिकेटका तीन जना परेका छन् ।

सार्वजनिक गरिएको नाम अनुसार वर्ष खेलाडी पुरुष तर्फ कमलबहादुर भण्डारी (शारिरीक सुगठन) करण केसी(क्रिकेट) र तिलक पुन मगर(आर्चरी) हुन् । यसैगरी वर्ष खेलाडी महिलाको विधामा विमला नेपाली (सितेरियो कराँते), कमला पुन (हकी) र केशरी आलेमगर(आर्चरी) छन् । करण दोस्रो संस्करणमा समेत वर्ष खेलाडी पुरुष मनोनयनमा परेका थिए ।

भण्डारीले गत वर्ष दक्षिण कोरियामा सम्पन्न एशियन शारिरीक सुगठन प्रतियोगितामा ५५ केजी तौल समूहमा कास्य पदक जितेका थिए । त्यस्तै करण केसी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य हुन् । गत वर्ष नै नामिवियामा सम्पन्न विश्वकप छनोट प्रतियोगिता अन्तर्गत क्यानडालाई पराजित गर्दै क्रिकेटको अन्तराष्ट्रिय एक दिवसिय मान्यता प्राप्त गर्नमा महत्वपूर्ण भूमिका खेलेका थिए । तिलकले दक्षिण एशियाली आर्चरी प्रतियोगिता अन्तर्गत रिकभमा कास्य पदक जितेका थिए ।

वर्ष खेलाडी महिला तर्फकी विमला नेपाली गतवर्ष राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको राष्ट्रिय प्रतियोगिता(राखेप च्याम्पियनसिप)मा स्वर्ण पदक जितेकी थिईन् । हेटौंडामा आयोजित दोस्रो राष्ट्रिय महिला हकी प्रतियोगितामा पश्चिमाञ्चलले रजत पदक जित्दा कमला पुन महत्वपूर्ण सदस्य थिईन् । उनी टिम कप्तान समेत हुन् । केशरी आले मगरले गतवर्ष आयोजित राष्ट्रिय खेलकुद परिषद(राखेप च्याम्पियनसिप) अन्तर्गत आर्चरी इण्डोर स्टान्डर्ड इभेण्ट अन्तर्गत १८ मिटर र खुल्ला तर्फ ३० मिटरमा उनले स्वर्ण पदक जितेकी थिईन् ।

उत्कृष्ठ वर्ष पुरुषले टिभिएस कम्पनीको अपाचे मोटरसाईकल र महिला खेलाडीले टिभिएसको विगो स्कुटरसहित नगद २५ हजार समेत प्रदान गरिने छ । मोटरसाईकल तथा स्कुटर प्राप्त गर्ने खेलाडीले भने २० प्रतिशत कर तिर्नुपर्ने छ ।
वर्ष उत्कृष्ट उदीयमान खेलाडीतर्फ विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर ‘कविता’ (कबड्डी) मेघबहादुर सेन (क्रिकेट) मनोनयनमा परेका छन् । यस्तै, वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा जीवन घिमिरे (शारिरीक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् । यी दुइ विधामा अवार्ड प्राप्त गर्नेलाई नगद १५ हजार, ट्रफी र दोसल्ला प्रदान गरिने मञ्चले जनाएको छ ।

चारै विधामा उत्कृष्टलाई वल्र्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक÷एक थान सामसुङ कम्पनीको मोबाइल समेत प्रदान गरिने मञ्च कास्कीका अध्यक्ष केशव पाठकले जानकारी दिए । मञ्चले यस वर्ष सर्वोत्कृष्ट उत्कृष्ट संघबाट कास्की जिल्ला ब्याडमिन्टन संघलाई पुरस्कृत गर्ने निर्णय गरिसकिएको छ । अवार्ड वितरण समारोहमा संघलाई नगद १० हजारसहित ट्रफी प्रदान गरिनेछ ।

खेलकुद पत्रकार मञ्च कास्कीले यस वर्षदेखि खेल पर्यटन पत्रकारिता पुरस्कारको नयाँ बिधा थपेको छ । कास्कीमा रही कम्तिमा ५ वर्ष खेलकुदलाई पर्यटनसँग जोडेर कलम चलाउँदै आएका एक जना पत्रकारलाई हरेक वर्ष नगद १५ हजारसहित दोषल्ला र ताम्रपत्रले पुरस्कृत गर्ने उद्धेश्यले यस वर्षदेखी यो विधा थपेको मञ्च कास्कीका सचिव रञ्जन अधिकारीले जनाए । खेलसम्बन्धी गीत गाएर योगदान दिएको भन्दै गायक बिनोद बानियाँलाईसमेत सम्मान गरिने भएको छ ।

लाइफटाइम अचिभमेन्ट अवार्ड गुरुङलाई र उत्कृष्ठ संघ व्याटमिन्टन –खेलकुद पत्रकार मञ्च कास्कीले लाइफटाइम अचिभमेन्ट अवार्डबाट खेल पूर्वाधारका अभियन्ता प्रा.डा. वीरेन्द्रसिंह गुरुङलाई सम्मान गर्ने छ । प्राज्ञिक क्षेत्रका व्यक्तित्व रहेर पनि पोखरामा खेलकुदका विकासमा उनको योगदानको कदर गर्दै मञ्चले सम्मान गर्न लागेको हो । उनी पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व प्रमुख हुन् । पोखरामा हकी खेल भित्राउने श्रेय उनलाई नै जान्छ । लनटेनिससँगै अहिले लोकप्रिय बनेको क्रिकेट खेलको विकास र पूर्वाधार निर्माणमा उनको महत्वपूर्ण योगदान छ ।

भूतपुर्व खेलाडी मञ्च नेपालका पूर्व अध्यक्ष समेत रहेका गुरुङ २०६१ सालमा पोखरा रंगशाला पर्खाल निर्माण समितिको संयोजक पनि हुन् । क्यानका पूर्व उपाध्यक्ष, कास्की क्रिकेटका पूर्व अध्यक्ष, क्रिकेट मैदान निर्माण संयोजक समेत भएर काम गरिसकेका छन् । उनलाई पोखरा स्पोर्टस अवार्ड वितरण समारोहमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक दिननाथ बरालले जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पत्रकारले आयोजना गरेको यो अवार्ड पत्रकार र खेलाडीको मात्र नभई सम्पूर्ण पोखरेलीको प्रतिष्ठाको विषय भएको बताए ।