पारस र शोमा उत्कृष्ठ खेलाडी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ३ गते २०७५ मा प्रकाशित


काठमाडौं (खेलाडी न्युज) पल्सर स्पोर्टस् अवार्ड २०७४ मा क्रिकेटले बर्चस्व कायम गरेकोछ । आठ विधा मध्ये चार विधामा क्रिकेटले अवार्ड हात पारेको छ । पल्सर स्पोर्टस अवार्ड अन्तर्गत वर्ष पुरुष खेलाडीमा पारस खड्काले पुरस्कार थाप्दा सन्दीप लामिछाने युवा खेलाडीबाट सम्मानित भए । प्रशिक्षक जगत टमाटा उत्कृष्ठ प्रशिक्षक घोषित हुदाँ करण केसीलाई स्पेशल अवार्डबाट सम्मानित गरिएको थियो ।

करणले गत माघमा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ मा उत्कृष्ट प्रदर्शन गरेका कारण उनलाई स्पेशल अवार्ड दिइएको आयोजक खेलकुद पत्रकार मञ्चले जनाएको छ । उनले डिभिजन २ मा क्यानडासँगको खेलमा अन्तिम विकेट रहँदा ३१ बलमा ३ चौका र ४ छक्कासहित ४२ रन बनाएर नेपाललाई जिताएका थिए । जसले विश्वकप छनोटको ढोका खोलिदिएको थियो ।

उत्कृष्ट युवा खेलाडीमा क्रिकेटर लामिछानेसँगै, क्रिकेटबाटै दीपेन्द्र सिंह ऐरी, फुटबलबाट दिनेश हेम्जन, जुडोबाट मनिता श्रेष्ठ प्रधान, बक्सिकबाट पुनम रावल मनोनयनमा परेका छन् । लामिछाने वर्षका उत्कृष्ट युवा खेलाडी र वर्षका उत्कृष्ट पुरुष खेलाडीसँगै पिपुल्स च्वाईस अन्तर्गत पनि मनोनयनमा थिए ।

उत्कृष्ट प्रशिक्षकको मनोनयनमा क्रिकेट प्रशिक्षक जगत टमाटासँगै क्रिकेटबाटै बिनोद दास, फुटबल प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ, बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ मनोनयनमा थिए । सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट खेल्न भारतमा रहेकाले उत्कृष्ट युवा खेलाडीको अवार्ड र उनी मनोनयनमा परेका विधामा सम्मान ग्रहण गर्न प्रशिक्षक विनोस दास गएका थिए । जसले गर्दा आर्मी अफिसर्स क्लब भद्रकालीमा भएको कार्यक्रममा दास बारम्बार मञ्चमा पुग्नुपरेको थियो ।

उत्कृष्ट पुरुष खेलाडी पारससँगै, सन्दिप लामिछाने, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्र बहादुर श्रेष्ठ, गल्फका टंक बहादुर कार्की पनि मनोनयनमा परेका थिए । लाइफटाइम अचिभमेन्ट अवार्डबाट फुटबलर अशोक केसी सम्मानित भए । ‘पारा एथलिट अफ दि इयर’ बाट हृविलचेयर बास्केटबल तथा हृविलचेयर क्रिकेट टिमका कप्तान हिमाल अर्याल सम्मानित भए । उत्कृष्ट महिला खेलाडी ब्याडमिन्टनकी शोभा गौचन भइन् । शोभासँगै उत्कृष्ट महिला खेलाडीमा बक्सिङकी विमला श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, फुटबलबाट सावित्रा भण्डारी र टेबलटेनिसबाट नविता श्रेष्ठ मनोनयनमा थिए । पिपुल्स च्वाइस अवार्डमा क्रिकेटका सन्दिप लामिछाने, फुटबलका किरण चेम्जोङ, भलिबलका मानबहादुर श्रेष्ठलाई पछि पार्दै टेबलटेनिसका स्यान्टु श्रेष्ठले बाजी मारे । तस्वीर सुदर्शन रन्जित