कराँतेको बन्द प्रशिक्षण, वैदेशिक प्रशिक्षण नहुदाँसम्म पदकको अपेक्षा गर्न सकिन्न—प्रशिक्षक श्रेष्ठ

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १२ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-एशियाडमा नेपालले दुई खेलमा पदकको आशा गरेकोछ । प्याराग्लाइडिङ र कराँतेमा । दुबै खेलको बन्द प्रशिक्षण पोखरामा चलिरहेको छ । कराँतेका आठ खेलाडीलाई दुई प्रशिक्षकले नियमित रुपमा प्रशिक्षण गराईरहेका छन् । प्रशिक्षणमा चार पुरुष र चार महिला खेलाडीले विभिन्न तौल र एकल कातामा प्रतिस्पर्धा गर्ने छन् ।

महिला तर्फ चञ्चला दनुवार र पुरुष तर्फ परशुराम बास्तोलाले एकल कातामा प्रतिस्पर्धा गर्ने छ । महिला तर्फ अनु अधिकारीले ५० केजी, सुनिता महर्जनले ६३ केजी र रिता कार्कीले ६८ केजीमाथिको तौल समूहमा एशियाडको एरिनामा पदकको लागि प्रतिस्पर्धा गर्ने छिन् । त्यस्तै गरी पुरुष तर्फ सोनम लामाले ५५ केजी, नविन रसाईलीले ६७ केजी र दिवस श्रेष्ठले ८४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक दिपक श्रेष्ठले सुनाए । खेलाडीहरुले विहान साढे दुई घण्टा र साँझ दुई घण्टा पोखरा रंगशालास्थित कभर्ड हलमा प्रशिक्षण गरिरहेका छन् । प्रशिक्षणले पदकको अपेक्षा गर्न सक्ने आशा रहेपनि अन्तराष्ट्रिय(वैदेशिक) प्रशिक्षण भने अनिवार्य हुने प्रशिक्षकको भनाई छ । उनीहरुलाई श्रेष्ठ र हिरासिंह डंगोलले प्रशिक्षण गराउँदै आएका छन् ।

‘एशियाडमा पदकको लागि चुनौति र अवसर दुवै छ ।’ कराँतेका प्रशिक्षक दिपक श्रेष्ठले भने—‘पोखरामा मात्रै बन्द प्रशिक्षण गरेर पदकको आशा भने गर्न सकिन्न । बैदेशिक प्रशिक्षण जतिसक्दो छिटो गराउनुपर्छ ।’ एशियाड झण्डै साढे दुईमहिनापछि इण्डोनेसियामा हुदैै छ । उनले पोखरामा मात्रै प्रशिक्षणले नपुग्ने बताए । आपसमा मात्रै भिडाएर प्रशिक्षण गराउँदैमा पदकको अपेक्षा गर्न नसकिने उनको ठम्याई छ । ‘उत्कृष्ठ देशका उत्कृष्ठ खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्छ ।’ उनले भने—‘आफैं बीचमा प्रतिस्पर्धाले पदकको सम्भावना रहदैन् । जतिसक्दो छिटो बैदेशिक प्रशिक्षण गराई अन्य देशका खेलाडीसँग खेलाउन जरुरी छ । त्यसपछि मात्रै पदकको आशा गर्न सकिन्छ ।’ उनका अनुसार अन्तराष्ट्रिय एरिनामा ८—१० फाईट गराउनु आवश्यक छ ।

प्रशिक्षक श्रेष्ठका अनुसार पदकको लागि संघर्ष गर्ने हो । ‘प्रेसर पनि छ । अवसर पनि छ।’ उनको भनाई थियो । तर सरकारले एशियाड खेल्ने खेलाडीलाई सेवा सुविधा भने दिन नसकेको गुनासो उनको छ । खेलाडीलाई १४ सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । राष्ट्रिय प्रतियोगिता खेल्ने र एशियाड खेल्ने खेलाडीलाई उस्तै नजरले हेर्नु नै सरकारको गलत भएको भन्दै त्यसबाट पदकको आशा गर्न नसकिने उनले सुनाए ।

‘खेलाडीले १४ सय रुपैयाँ पाउँछन् । त्यसबाट खाने बस्ने पु¥याउनुपर्छ ।’ उनले भने—‘खेलाडीले त्यसबाट आफनो स्टाण्डर्ड मेन्टेन गर्न सक्दैनन् ।’ अर्थमन्त्रालयले खेलकुदको बजेट काटेर दिएको भरमा खेलाडीले खेल्नुपर्ने बाध्यता छ । सरकारले खेलाडीले कुन स्तरको खेल खेल्ने हो त्यो अनुसारको नीति अबलम्बन गर्नुपर्ने खाँचो प्रशिक्षक श्रेष्ठले औंल्याए ।
सरकारी पर्याप्त सेवा र सुविधा नभएपछि जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समितिले आवश्यक सहयोग गरेको उनको भनाई थियो । ‘स्थानीय जिल्ला र क्षेत्रीय खेलकुदको सहयोगले उत्साहित छौं ।’ उनले भने । अनु अधिकारी, परशुराम बास्तोला र दिवस श्रेष्ठ भने एशियाडका अनुभवी खेलाडी समेत हुन् । उनीहरुबाट पदकको अपेक्षा गरिएको छ । अनु अधिकारी साउथ एशियन गेम्सका पदकधारी समेत हुन् ।

एक साता देखि प्रशिक्षणमा व्यस्त काता तर्फका प्रशिक्षक हिरा सिंह डंगोल पोखराको वातावरणमा खेलाडीले प्रशिक्षण लिने मौका पाउनु सुखद रहेको बताए । इण्डोनेशिया र पोखराको हावा पानीमा खासै फरक नर्पने भएकोले पनि पोखरालाई रोजिएको बताए । उनी राष्ट्रिय खेलकुद परिषद प्रशिक्षण तथा तालिम विभागमा समेत कार्यरत छन । नेपालमा २०३९ सालमा स्थापना भएको कराते खेल १९९४ को १२ एशियाली खेलकुदमा काश्य पदक प्राप्त गरेको थियो । सिता राइले उक्त पदक ल्याएकी थिइन । थाइलैण्डमा सम्पन्न १६ औ एशियाडमा सम्मर बहादुर गोलेले रजत पदक र इन्चोइनमा सम्पन्न १७ औ एशियाडमा बिमला तामाङले रजत पदक ल्याएकी थिइन । तस्बिर—सुदर्शन रन्जित