प्रदेश नं ४ क्रिकेट टीम काठमाडौं, आईतबार शसस्त्र प्रहरीसँग खेल्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १२ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि प्रदेश नं ४ को टोली शनिबार काठमाडौं प्रस्थान गरेको छ । प्रदेश नं ४ ले आईतबार उदघाटन खेल शसस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्ने छ ।

विधान श्रेष्ठको कप्तानीमा १४ सदस्यीय टोली प्रस्थान गरेको हो । पुराना भेट्रान खेलाडी गोविन्द प्रधान, आकाश थापा, राजु गुरुङ, विपिन खत्री, हरिबहादुर चौहान, सुमन घिमिरे,सन्तोष न्यौपाने, मेखबहादुर सेन, अशोक श्रेष्ठ, रमेश बस्नेत, मन्जिल न्यौपाने र अनिल गुरुङ रहेका छन् । प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापकमा चन्द्रकुमार गुरुङ रहेका छन् । प्रदेश नं ४ अन्तर्गत विभिन्न ९ जिल्लाबाट ती खेलाडी छनोट गरिएको प्रशिक्षक प्रजुले जनाएका छन् ।

एकदिनको बन्द प्रशिक्षणबाट खेलाडी छनोट गरिएको थियो । जेठ ५ गते पोखरा रंगशालामा सम्पन्न राउण्ड रोविन लिग क्रिकेट प्रतियोगिताको समापनपछि कास्कीबाट १४ सदस्य टोली चयन गरिएको थियो । त्यसपछि अन्य आठ जिल्लाबाट खेलाडीहरुको उपस्थितिमा बन्द प्रशिक्षण गराई प्रदेशको टीम तयार पारिएको व्यवस्थापक चन्द्रकुमार गुरुङले बताए । बाग्लुङ, स्याङजा, तनहुँ, म्याग्दी, गोरखा, लम्जुङ, पर्वत र नवलपरासी बर्दघाट सुस्ताबाट प्रशिक्षणमा खेलाडीहरु सहभागि रहेको कास्की जिल्ला क्रिकेट संघले जनाएको छ ।

किर्तिपुर मैदानमा प्रदेश नं ४ ले एपीएफसँग खेल्ने छ । प्रदेश नं ४ को समूहमा एपीएफ, नेपाल आर्मी, प्रदेश नं १ र २ रहेका छन् । अर्को समूहमा प्रदेश नं ३, ५, ६, ७ र नेपाल प्रहरी रहेका छन् । भर्खरै नेपालले क्रिकेटको अन्तराष्ट्रिय एकदिवसिय मान्यता पाएसँगै सरकारले ठूलो धनराशीको लिग क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । प्रधानमन्त्री कप नाम दिईएको प्रतियोगिताका विजेताले २० लाख रुपैयाँसहित ट्रफी पदक तथा प्रमाणपत्र पाउने छ । उपविजेता बन्ने टोलीले भने नगद १० लाख रुपैयाँ पाउने छ । कास्की वर्ष खेलाडीको मनोनयनमा परेको नेपाली राष्ट्रिय टोलीका सदस्य करण केसी भने सशस्त्र प्रहरी बलसँग आवद्ध भएका छन् । उनी कास्कीको प्रारम्भिक छनोटमा परेका थिए । यद्यपी उनले शसस्त्र प्रहरीबलसँग सम्झौता गर्दै कास्कीबाट नखेल्ने निर्णय गरेका थिए ।