तेस्रो पोखरा स्पोर्टस अवार्ड, उत्कृष्ठताको होड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १४ गते २०७५ मा प्रकाशित


धन बस्नेत, (खेलाडी न्युज)-खेलकुद पत्रकार मञ्च पोखराले जेठको १८ गते खेल, खेलकुद, खेलाडीको प्रवद्र्धन गर्ने उद्देश्यसहित स्पोर्टस अवार्ड गर्दै छ । अवार्डको तेस्रो संस्करणमा आईपुग्दा वर्ष खेलाडी महिला तथा पुरुषले मोटरसाईकल पाउने छन् । खेलकुद क्षेत्रमा हुने गतिविधिसँगै पदक जित्ने खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यलाई आत्मगर्दै अवार्डको थालनी गरिएको हो । अवार्डलाई बतास ब्रदर्शले सहकार्य गरेको छ । टिभिएस मोटरसाईकल प्रदान गरिने छ । मोटरसाईकलको लागि कर भने खेलाडी स्वयंले तिर्ने छन् । कास्की जिल्लाबाट विभिन्न प्रतियोगिता खेल्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक विजेता खेलाडीलाई खेलकुद पत्रकार मन्चले अवार्डमा समावेश गर्दै आएको छ । पुरस्कारले पोखराको खेलकुद प्रवद्र्धन र खेलाडीलाई थप उर्जा एवं हौसला प्रदान गर्ने विश्वास भने खेलकुद पत्रकार मन्च पोखराले लिएको छ । वर्ष खेलाडी पुरुष तर्फ तीन खेलाडी मनोनयनमा परेका छन् ।
कमलबहादुर भण्डारी—(शारीरिक सुगठन)

कद होचो छ । तर खेलकुदको उचाई छ । होचो कदका उनले विश्व च्याम्पियनसिपको एरिनामा आफुलाई उभ्याईसकेका छन् । १७ वर्ष अघि शारीरिक सुगठन खेलमा होमिएका कमलबहादुर भण्डारीले गतवर्ष मंगोलियामा आयोजित शारीरिक सुगठनको ‘वल्र्ड च्याम्पियनसिप’सहभगिता भई फर्किएका छन् । उनले त्यसभन्दा अघि दक्षिण कोरियामा ५५ केजी तौल समूहमा कास्य पदक जित्दै नेपालको नाम लेखाई फर्किए ।

उनै भण्डारी यतिबेला टिभिएस पोखरा स्पोर्टस अवार्डको पुरुष वर्ष खेलाडीको मनोनयनमा छन् । जतिबेला उनले शारीरिक सुगठन खेल शुरु गरे त्यतिबेला पोखरामा जिम हल भने औंलामा गन्न सकिन्थ्यो । नयाँ बसपार्कमा मात्रै जिम थियो राजु केसीको । ‘त्यही जिम शुरु गरे’ उनले विगत सम्झिए—‘अहिले जस्तो आधुनिक र धेरै जिम थिएनन् ।’ १९ वर्षको हुदाँ एसएलसी दिएपछि जिमखाना छिरेका उनी अहिले आफै जिमखाना चलाईरहेका छन् ।
उनले शारीरिक सुगठनमा पहिलो पदक भने पोखरामा जितेका हुन् । २०६० सालमा आयोजित मिष्टर पोखरामा उनले ५५ केजी तौल समूहमा कास्य पदक जिते जुन करियरको पहिलो पदक थियो । त्यसपछि काठमाडौं हानिए धर्म श्रीको लागि । तर उनको उपलब्धी सहभागितामा सीमित भयो । ३१ जनामा उनी आफनो तौल समूहमा उत्कृष्ठ दशभित्र रहेर फर्किएका थिए ।

उनले खेलको दोरानमा १६ वटा स्वर्ण पदक जितेका छन् । ६ रजत र ५ कास्य पदक उनको नाममा लेखिएको छ । २०७३ सालमा आयोजित दोस्रो मिष्टर बुल्समेनमा ५५ केजीको तौल समूहमा उनले स्वर्ण जिते । १४ औं धर्मश्रीमा आफनो तौलमा प्रथम नै भए । त्यसपछि मिष्टर हिमालयनमा समेत उनले स्वर्ण जित्दै एकैवर्ष तीन स्वर्ण पदक जित्दै ह्याट्रिक गरे । जुन करियरकै सबैभन्दा महत्वपूर्ण वर्षको रुपमा उनले लिने गरेका छन् । नेपालगन्जमा सम्पन्न पाँचौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा उनले कास्य पदक जितेका थिए । अहिले पनि उनी निरन्तर शारीरिक सुगठनमा व्यस्त छन् । नयाँलाई सिकाउने र आफु पनि जिममै समय विताउँदै आएका छन् । युवापुस्ताको लागि शारीरिक सुगठनका प्रेरक समेत बन्दै आएका छन् ।

तिलक पुन मगर(आर्चरी)

मनमा उमंग छ । शरीरमा जोस । भर्खरै बंगलादेशमा सम्पन्न साग गेम्समा नेपाललाई आर्चरीमा कास्य पदक जिते । एसियाडको लागि काठमाडौमा बन्द प्रशिक्षणमा छन् तिलक पुनमगर ।

उनै मगर यतिबेला टिभिएस पोखरा स्पोर्टस अवार्डको लागि वर्ष खेलाडीमा मनोनयनमा छन् । कास्कीको माछापुच्छ«े गाउँपालिकामा जन्मिएका पुनमगरले आर्चरी खेल्न थालेको पनि लामो समय भने भईसकेको छैन् । उनले खेल्न थालेको छ वर्षको अवधिमा यो उपलब्धी हासिल गरेका हुन् । यद्यपी खेल क्षेत्रमा ल्याउने काम भने चिनजानको दाजु देव पुनले गराए । देव पुनकै सहयोगबाट आधुरिक बो(धनुष) चलाउन सिके ।

‘रहर सानैदेखि थियो । आर्चरीको आधुनिक इकुपमेन्ट भने देव पुन दाइसँग भेटमा हेर्ने र खेल्ने अवसर पाएँ’ उनले आफनो खेलकुदको पृष्ठभूमि सुनाए—‘उहाँसँग आधुनिक बो(धनुष)बाट सिक्ने अवसर पाँए । रहर झनै बढ्यो । निखारतको लागि प्रशिक्षक किशोरकुमार गुरुङसँग प्रशिक्षण गर्ने मौका पाँए ।’ उनले गुरुङकै घरमा रहेको टे«निङ सेन्टरबाट निशाना लगाउन शुरु गरे ।

उनले करियरको पहिलो पदक भने २०७० सालमा जिते । प्रथम लुम्बिनी च्याम्पियनसिप अन्तर्गत पाँचौ राष्ट्रिय आर्चरी प्रतियोगितामा उनले रजत पदक थापे । उनले व्यक्तिगत विधा अन्तर्गत ३० मिटर स्टाण्डर्ड मेन्स टिममा पनि रजत जित्दै पदकसंख्या बढाए । २०७१ सालमा पनि उनले व्यक्तिगत प्रतिस्पर्धामा कास्य पदकमा चिक्त बुझाए । लक्ष्मण श्रेष्ठको स्मृतिमा आयोजित दोस्रो इण्डोर आर्चरीमा उनले कास्य पदक जित्दा मिक्स टिममा भने उनले स्वर्ण पदक जितेका थिए ।

२०७२ र ०७३ साल भने उनको लागि निराश नै रह्यो । उनले दुई वर्ष कुनैपनि प्रतियोगितामा सहभागिता जनाएनन् । २०७४ मा भने आठौं राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रतियोगितामा उनले कास्य पदक जिते । बंगलादेशमा सम्पन्न तेस्रो दक्षिण एशियाली आर्चरी प्रतियोगितामा कास्य पदक र दोस्रो आईएसएसएफ इन्टरनेशनल सोलिडारिटी आर्चरी च्याम्पियनसिपमा मेन्स टिममा भने रजत पदक जितेका थिए ।

करण केसी (क्रिकेट)

खेलले मात्रै होईन भाग्य पनि चाहिन्छ । एकै खेलले भाग्य चम्काईदिन्छ । यस्तै भएको छ क्रिकेटर करण केसीलाई । लाहुरे बन्ने धुनमा पोखरा आईपुगेका केसी एकाएक क्रिकेटर बन्न पुगे । नाम इतिहासमा लेखाए । उनकै एक इनिङमा गरेको प्रदर्शनले नेपालले क्रिकेटमा नयाँ आयाम लियो । क्यानडासँगको खेलमा उनले नटआउट ४१ रन हिर्काउँदै जित निकाल्दा नेपालले अविस्मरणीय नजितासँगै विश्वकप छनोटको लागि क्वाईलिफाईङ हुन पुग्यो ।

उनै करण टिभिएस पोखरा स्पोर्टस अवार्डमा पुरुष वर्ष खेलाडी मनोनयन सूचीमा छन् । उनी गतवर्षको सस्करणमा पनि पुरुष वर्ष खेलाडीमा मनोनयनमा परेका थिए । क्रिकेट करियर उनको त्यति लामो भने छैन् । तर नेपाली क्रिकेटको राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य हुन् । उनले युवावस्थाको अधिकांश भारतमा विताए । २७ वर्षिय भारतको चण्डीगढमा वित्यो । २०१४ उनी नेपाल फर्किएका हुन् । चण्डीगढको गर्भमेन्ट मोडल सिरियर सेकेण्डरी स्कुलबाट दशजोड दुई पास गरेका करणले नेपालको राष्ट्रिय टोलीमा २०१४ र अन्तराष्ट्रिय डेब्यु भने २०१५ मा गरे ।

बाग्लुङको सिगानामा जन्मिएका उनले क्रिकेटको करियर भने पोखरा रंगशालाबाटै शुरु गरे । उनले एनपिएल काठमाडौंको पन्चकन्या तेजबाट खेल्दै म्यान अफ दि म्याचको पुरस्कार थापे । पुर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा शसस्त्र प्रहरीबलबाट खेल्दै स्वर्ण पदक जिते । धनगढीमा आयोजित ईपिएलको पहिलो संस्करणमा पन्चकन्याबाट खेले जहाँ उनले म्यान अफ दि म्याचको हकदार समेत बने । दोस्रो सस्करणमा भने विराटनगरबाट खेल्दै उपाधि उचाले ।

अन्तराष्ट्रिय क्रिकेट करियर भने उनले श्रीलंकाबाट शुरु गरे । उनले जहाँ पहिलो खेल खेल्दै पाँच विकेट लिए । नामिवियामा डिभिजन टुमा क्यानडा विरुद्ध पाँच विकेट लिएका थिए । स्कटल्याण्डमा आयोजित टी—२० विश्वकप क्वालिफायरमा समेत नेपाली क्रिकेट टोलीको महत्वपूर्ण सदस्यको रुपमा उपस्थिति जनाए । डिभिजन टुमा क्यानडा विरुद्ध उत्कृष्ठ प्रदर्शन गरेका करण म्यान अफ दि म्याच घोषित भए । केही महिना अघिमात्रै उनले विश्वकप क्रिकेट लिग खेलेका थिए ।