ह्याण्डबल कोर्ट बनाउन ९० लाख सुनिश्चितताको बजेट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १५ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाभित्र अर्को पुर्वाधारको काम शुरु गरिएको छ । रंगशालाभित्र छुट्टाइएको जग्गामा ह्याण्डबलको कोर्ट निर्माण शुरु गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले सुनिश्चितताको बजेट मार्फत ९० लाख रुपैयाँ उपलब्ध गराएपछि जिल्ला खेलकुद विकास समिति कास्कीले निर्माण शुरु गरेको हो ।

‘सुनिश्चिततको बजेट आएको छ । जेठ २५ गतेभित्रमा रकम निकासाको लागि काम शुरु ग¥यौं’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने—‘उपभोक्ता समिति मार्फत काम गरिएको हो । तर उपभोक्ता समिति भने गठन गरिसकिएको छैन् ।’ उनका अनुसार सुनिश्चिततको बजेट भएकोले जेठ २५ गतेभित्रमा विल पेश गरी बजेट निकासा गर्नुपर्ने भएकोले उपभोक्ता समिति गठन विनै काम अगाडि बढाइएको हो ।

पोखरा रंगशालाभित्र मन्त्रालय मार्फत पुर्वाधारका काम भैरहेका छन् । १५ महिनामा सक्ने गरी शुरु गरिएको बहुउद्देश्यीय कभर्ड हल अहिले पनि निर्माणाधिनकै चरणमा छ । चार वर्ष वित्यो । बजेट १ करोड ९५ लाख रुपैयाँ थप भईसकेको छ । १४ करोड ३२ लाखमा निर्माण ठेक्का दिइएको थियो । कर्भड हलसँगै आर्चरी खेल मैदान, लन टेनिस कोर्ट, र व्याडमिन्टन कोर्ट निर्माणको चरणमा छ । भलिबल प्रशिक्षण केन्द्र भने निर्माण भईसकेको छ ।

ह्याण्डबल कोर्ट आउट डोर हुने छ । कोर्ट अन्तराष्ट्रिय मापदण्ड अनुसार २० मिटर चौडाई र ४० मिटरको बनाईने छ । यद्यपी कोर्ट २७ मिटर चौडाई र ४९ मिटर लम्बाईको बनाईने छ । कोर्टसँगै आवश्यक अन्य पुर्वाधार समेत बनाईने जिल्ला खेलकुद विकास समिति कास्कीले जनाएको छ । समितिका इन्जिनियर प्रनिस ताम्राकारका अनुसार कोर्टसँगै चेन्जिङ रुम, शौचालय, प्यारापिट समेत निर्माण गरिने छ ।

कोर्ट प्राकृतिक बनाईने छ । अफिसियल रुम, दर्शकको लागि शौचालय समेत बनाईने छ । दुई टिमलाई आवश्यक पर्ने चेन्जिङ रुम र दुई स्टेपको प्यारापिट कोर्टको चारै दिशामा बनाईने उनले सुनाए । ‘काम गरेपछि मात्रै बजेट निकासा हुने हुदाँ फटाफट काम गर्नुपर्ने देखिएको छ ।’ कार्यालय प्रमुख बरालले भने—‘कोर्ट निर्माणपछि प्रतियोगिता आयोजना गर्न सहज हुने छ ।’

नेपाल ह्याण्डबल संघका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङले जतिसक्दो छिटो कोर्ट निर्माण सम्पन्न गर्ने उद्देश्य रहेको बताए । ‘प्रतियोगिता आयोजना गर्दा खेलाडीलाई चेन्जिङ र शौचालयको समस्या थियो’ उनले भने—‘अब त्यो परिस्थिति अन्त्य हुने छ । पुर्वाधार तयार भएपछि राष्ट्रियस्तरको ह्याण्डबललाई पोखरामा ल्याउन सकिन्छ ।’

राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशालाभित्र डोम र फुटबल स्टेडियमको लागि टेण्डर आह्वान गर्ने जनाएको छ । ११ करोडको लागतमा डोम र एक अर्ब भन्दा बढी लागतको फुटबल स्टेडियम बनाउने परिषदले जनाएको छ । आगामी साग गेम्सलाई लक्षित गर्दै फुटबल स्टेडियम बनाउने परिषदको योजना छ । तस्बिर सुदर्शन रन्जित