तेस्रो पोखरा स्पोर्टस अवार्ड, उपाधिको पर्खाईमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १६ गते २०७५ मा प्रकाशित


धन बस्नेत, पोखरा(खेलाडी न्युज)-आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति बिस्तारै नजिकिदैं गएको छ । राष्ट्रिय प्रतियोगिताको लागि खेलाडीले पनि आन्तरिक तयारी गर्ने अभियानमा छन् । खेलाडीलाई अझ उर्जाशिल बनाउन खेलकुद पत्रकार मञ्च कास्की पुरस्कार थमाउने संघारमा छ । मञ्चले आगामि शुक्रबार तेस्रो संस्करणको पोखरा स्पोर्टस अवार्ड गर्दैछ । स्पोर्टस अवार्डलाई बतास ब्रदर्शले साथ दिदैं उत्कृष्ठ महिला तथा पुरुष खेलाडीलाई मोटरसाईकल प्रदान गरेर साथ दिएको छ । कास्कीका महिला खेलाडीले महिलाको विभिन्न विधामा स्वर्ण पदक जितिसकेको अवस्था छ । कास्की वर्ष महिला खेलाडीको सूचीमा तीन खेलाडी छन् । हकीकी कमलदेवी पुन, सितेरियो कराँतेकी विमला नेपाली र आर्चरीकी केशरी आलेमगर । उनीहरु आफनो खेलमा अब्बल छन् । वर्ष खेलाडी बन्ने होडमा रहेको उनीहरुलाई जेठ १८ गते पोखरा सभागृह हलको ¥याम्पमा उतार्ने छ र उत्कृष्ठको सम्मान थमाउने छ ।
कमलदेवी पुन(कमला)—हकी
भर्खरै ११ कक्षामा अध्ययनरत कमलाले हकी खेल्न थालेको वर्षदिन मात्रै भएको छ । वर्षदिनकै अवधिमा उनले भने निकै अनुभव गर्ने अवसर समेत पाउँदै पदक समेत जितेकी छन् । पोखरा १५ नयाँगाँउमा बस्दै आएकी पुनले २०७४ सालबाटै खेल्न शुरु गर्दै पहिलो सहभागिता नै सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन पुग्यो । ‘भर्खरै सिक्दै थियौं त्यत्तिकैमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न पुर्वाञ्चल गयौं’ उलने भनिन—‘जुन प्रतियोगिता हाम्रो सहभागिता मात्रै बन्न पुग्यो ।’
हकीमा उनलाई नयाँगाँउकै हित गुरुङले ल्याए । गुरुङले नयाँगाँउमा सामान्य प्रशिक्षण दिदैं आएका थिए । उनकै प्रशिक्षणबाट खेल्न थालेपछि पोखरा रंगशालामा हकीको नियमित प्रशिक्षण गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाउने अवसर पाईन् । ‘हित गुरुङले खेल्न बोलाउनुभयो । सिक्यौं । अनि पोखरा रंगशालामा प्रशिक्षण गर्दै प्रतियोगितामा सहभागिता भयौं । छोटै अवधिमा पनि उपलब्धी हासिल ग¥यौ।’ उनले भनिन् ।
कालिका मावि रामबजारमा अध्ययनरत उनले नयाँवर्षको शुरुवातसँगै हेटौंडामा आयोजित राष्ट्रिय महिला हकी प्रतियोगितामा प्रदेशबाट सहभागिता जनाईन् । प्रदेश नं ४ को लागि उनी सम्मिलित टोलीले रजत पदक जित्दै हकीको नया आयाम शुरु हुन पुग्यो । लामो समय हकीको प्रशिक्षण नभईरहेको अवस्थामा पोखरामा हकी प्रशिक्षक अश्विनीकुमार अधिकारी हुदाँ प्रशिक्षणले रफ्तार लिएको थियो । तर उनीपनि प्रमुख प्रशिक्षकको रुपमा काठमाडौं प्रस्थान गएपछि कास्की हकी प्रशिक्षक विहीन अवस्थामा छ ।
यद्यपी सिनियर खेलाडीले प्रशिक्षण दिदैंआएका छन् । पछिल्लो समय कास्की हकी संघ केही सक्रिय छ । संघको सक्रियताले प्रशिक्षण समेत हुदैं आएको छ । नियमित प्रशिक्षण गराउन सकिए राष्ट्रियस्तरमा सहजै पदकको आशा हकीबाट गर्न सकिने उनको भनाई थियो । हुन त हकीको प्रशिक्षण गर्ने मैदान छैन् । फुटबल मैदान एवं अन्य ठाँउमा प्रशिक्षण गर्नुपर्छ । विदेशमा टर्फ मैदानमा खेल्नुपर्छ ।
नियमित रुपमा प्रतियोगिता हुने गरेको छैन् । तीन वर्ष अघि पोखराको नगरप्रशिक्षण केन्द्रको मैदानमा पुरुष राष्ट्रिय हकी प्रतियोगिता आयोजना गरिएको थियो । त्यसभन्दा अघि पोखरामा हकीको अवस्था सुसुप्त आवस्थामा थिए । २०४४ सालमा गण्डकी अञ्चलले हेटौडामै आयोजित राष्ट्रिय पुरुष हकी प्रतियोगितामा रजत पदक जितेर फर्किएको इतिहास छ ।
केशरी आलेमगर(आर्चरी)
व्यक्तिगत महेनत, खेलप्रतिको लगाव अनि नियमित प्रशिक्षणले मात्रै पदक दिलाउँछ । खेलाडीको उपलब्धी उसको प्रशिक्षणबाट प्राप्त हुन्छ । परिश्रमको फल मिठो हुन्छ । त्यो केशरी आलेमगरलाई राम्ररी थाहा छ । नियमित प्रशिक्षणसँगै कडा परिश्रमको प्रतिफल उनले सानै उमेरमा पाईसकेकी छिन् । आर्चरी खेलमा उनको स्वर्णपदक धारी खेलाडीको सूचीमा सबैभन्दा कम उमेरमा जित्ने लेखिएको छ ।
हुने विरुवाको चिल्लो पात भने झैं केशरी आले मगर आर्चरीको राष्ट्रिय खेलाडी हुन् । हुन त उनले खेल्न थालेको लामो समयपनि भएको छैन् । परिश्रमसँगै मेहनतबाट उपलब्धी सबैभन्दा महत्वपूर्ण हुन्छ । त्यो आलेमगरले बुझेकी छिन् । ‘सिनियर प्रतिस्पर्धामा भिड्ने तयारीमा छु ।’ उनी भन्छिन्—‘त्यसको लागि प्रशिक्षण गरिरहेकी छु ।’ उनलाई नियमित प्रशिक्षण भने र्आचरी प्रशिक्षक किशोरकुमार गुरुङले प्रशिक्षण गराउँदै आएका छन् ।’
भर्खरै कक्षा ९ मा अध्ययनरत केशरीले आर्चरी खेल्न थालेको चार वर्ष पुग्दै छ । २०७१ सालभन्दा अघिसम्म आधुनिक आर्चरीको बो देख्न नपाएकी उनले अहिले लाख रुपैयाँ पर्ने आधुनिक बो(धनुष)ले खेल्छिन् । समयको परिवर्तनसँगै उनले आफुलाई आर्चरीमा निर्खादै ल्याएकी छिन् । श्रीकृष्ण माविमा अध्ययन गर्ने उनी आमासँगै तनहुँको सदरमुकाम दमौलीबाट पोखरा आएपछि मात्रै आर्चरी के हो भन्ने बुझ्ने मौका पाईन् । प्रशिक्षक किशोरकुमार गुरुङले आफनै घरको ट्रेनिङ सेन्टरमा राखेर उनलाई प्रशिक्षण गराएका थिए । ‘शुरुमा कालो पाईपको धुनष बनाई हान्न सिकें ।’ उनी विगत सम्झिन्छिन्—‘त्यसपछि विस्तारै बाम्बो(बाँस)को धुनष बनाई प्रशिक्षण शुरु गरे, निकै नै मेहनतको फल अहिले हात पर्न थालेको छ । त्यसले मलाई हौसला दिएको छ । यो खेलप्रति लाग्न प्रोत्साहन मिलेको छ ।’
प्रशिक्षण शुरु गर्दा उनी केवल ९ वर्षकी मात्रै थिईन् । प्रशिक्षणमा उनको लगाब बढ्दै गएपछि प्रशिक्षक गुरुङले २०७३ सालदेखि प्रतियोगितामा भिडाउन उतारे । क्लबस्तरीय प्रतियोगितामा उनको सहभागिता हुन पुथ्यो । जुनियर तर्फ उनले रजत पदक जित्दै आर्चरीमा करियर खोज्न थालिन् । २०७४ सालमा भने स्वर्ण पदक नै जित्दै आर्चरीमा लक्ष्य कोर्न सफल भईन् । राष्ट्रिय खेलकुद परिषद(राखेप)ले आयोजना गरेको आर्चरी प्रतियोगिताको आउटडोर ३० मिटर दुरीको प्रतिस्पर्धामा उनले स्वर्ण पदक जित्दै इतिहास कोरिन् । उनै केशरी यतिबेला यही जेठ १८ गते खेलकुद पत्रकार मञ्च कास्कीले आयोजना गरेको तेस्रो पोखरा स्पोर्टस अवार्ड अन्तर्गत महिला वर्ष खेलाडीको मनोनयन सूचीमा छन् ।
विमला नेपाली(सितेरियो कराँते)
विमलाको सानैदेखिको कराँतेमा रुची थियो । पोखरा फूलबारीमा जन्मिएकी उनी लिटिल बेस स्कुलमा अध्ययनरत छँदै ६ कक्षामा यो क्षेत्रम पाइला थालिन । विद्यालयबाट सुरु भएको सितेरियो कराँतेको उनको यात्रा अहिले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म फैलिइसकेको छ । धेरै प्रतियोगितामा स्वर्णपदक समेत हात पारेकी उनको लक्ष्य आगामि मंसिर तेश्रो साता नेपालगञ्जमा हुने आँठौ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने धोको छ ।
मंसिरमा हुने आठौं राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सकेको खण्डमा उनलाई १३ औं संस्करणको साग गेममा खेल्नका लागि ढोका अझ बलियो हुनेछ । पोखरा गैह्रापाटनबाट पश्चिमाञ्चल माविबाट यसैवर्ष मानविकी संकायबाट १२ कक्षाको परीक्षा दिएर बसेकी उनी अहिले पनि रंगशालामा व्यस्त छिन् । ‘स्कुलदेखि नै मेरो सितेरियो कराँतेको ययात्रा सुरु भयो । ७ वर्ष अवधिमा धेरै कुरा सिकिसकेकी छु’ उनले भनिन, ‘अबका दिनमा पनि अझ राम्रो गर्ने धोको छ । त्यसको लागि म अहिले पनि अभ्यासमै छु ।’
विमलाले अहिलेसम्म राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका केही प्रतियोगितामा सहभागिता जनाएर स्वर्णपदक समेत हात पारेकी छिन् । गतवर्ष लम्जुङको भोटेओडारमा भएको राष्ट्रियस्तरको प्रतियोगितामा महिलातर्फ एकल कातामा पहिलो हुँदै स्वर्ण पदक हात पारिन । ती बाहेक सानातिना थुप्रै प्रतियोगितामा उनले स्वर्ण जितिसकेकी छिन् । अघिल्लो वर्ष नै धनगढीमा भएको अन्तर्राष्ट्रियस्तरको कराँतेमा पनि उनी दोश्रो हुँदै रजत पदक हात पारिन । फाइट (कुमुते) र कातामा उनले रजत पदक पाएकी थिइन् । त्यस्तै अघिल्लो वर्ष नै भएको राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको (राखेप) च्याम्पियनशिपमा पनि उनले रजत पदक हात पारेकी थिईन । भक्तपुरमा भएको प्रथम महिला आमन्त्रित खुला कराँते प्रतियोगितामा पनि उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन ।
त्यस्तै केही समय अघि मात्र भारतको गोवामा भएको सोतोकान कराँते एशोसिएसन अफ इन्डिया (एसएकेआई) अन्तर्राष्ट्रिय च्याम्पियनशिपमा पनि उनले एकल कातामा १८ वर्ष उमेर मुनिको प्रतियोगितामा गरेर दुई स्वर्ण हात पारेकी थिइन् । ‘मेरो सुरुवात मात्र हो । अझै धेरै गर्नुपर्ने छ । त्यसका लागि सबैको साथ र समर्थन चाहिन्छ,’नेपालीले भनिन, ‘अहिलेसम्मको मेहनत अनुसार सफताल मिलेको छ । आगामि दिनमा पनि यस्तै सफलताका लागि भिड्ने हो ।’ उनी केही समयपछि झापामा आयोजना हुने प्रतियोगितामा सहभागि हुने गरि तयारी गरिरहेकी छिन् । ‘नेपालको नाम उच्च राख्ने मेरो धोको हो,’ उनले भनिन ।