आर्मीको दोश्रो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १८ गते २०७५ मा प्रकाशित


काठमाडौ(खेलाडी न्युज)एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ए अन्तर्गत त्रिभुवन आर्मीले लगातार दोस्रो जित हासिल गरेको छ । टियू क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा आर्मीले प्रदेश नम्बर १ लाई १०६ रनले पराजित गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगिताको खेल वर्षाले प्रधावित भएपछि ४५ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले आठौं नम्बरमा ब्याटिङमा आएका कप्तान बिनोद भण्डारीको विष्फोटक पारीको सहयोगमा निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर २२५ रन बनाएको थियो । भण्डारीले विष्फोटक पारी खेल्दै २९ बलमा ६४ रन बनाए । अन्तिम बलमा आउट हुनुअघि उनले ६ छक्का र ४ चौका प्रहार गरे ।

ओपनर सागर पुन ८ रनमै आउट भएपछि आएका नरेश बुढायरले अर्का ओपनर अनिल मण्डलसँग मिलेर ५२ रनको साझेदारी गरे । मण्डल ३६ रनमा आउट भएपछि आएका राजु रिजालले पनि ४ रनमात्र बनाउन सके । चौथो विकेटमा रुपमा नरेश बुढायर व्यक्तिगत ३२ रनमा आउट हुँदा आर्मीले २५।१ ओभरमा ८८ रन बनाएको थियो ।

मध्यक्रममा आर्मीका भीम सार्कीले १४ र सोमपाल कामीले २२ रन जोडे । त्यसपछि आठौं नम्बरमा ब्याटिङमा आएका भण्डारीले विष्फोटक पारी खेल्दै इनिङ उकासे । अन्तिम ओभरको पाँच बलमा भण्डारीले सबै बल बाउण्ड्री कटाएका थिए । जसमा तीन चौका र २ छक्का थियो । आर्मीका लागि बिक्रम सोबले पनि १६ रन जोडेका थिए ।

बलिङतर्फ प्रदेश नम्बर १ का मनोज तामाङले ३ विकेट लिँदा मिनास थापा र फिर्दोस अन्सारीले २–२ विकेट लिए ।
२२६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको प्रदेश नम्बर १, २९।३ ओभरमा ११९ रनमै समेटिएपछि आर्मीको १०६ रनको विशाल जित निश्चित भयो । कप्तान पुष्प थापाले ५९ र राजन मगरले २४ रन जोड्नुबाहेक प्रदेश नम्बर १ का अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन् । उसका चार ब्याट्सम्यानले त खाता नै खोल्न सकेनन् ।

चौथो नम्बरमा ब्याटिङमा आएका कप्तान थापाले एउटा एण्डबाट पारी संहाल्ने प्रयार गरिरहे पनि अर्को एण्डबाट लगातार विकेट झर्न रोकिएन । थापाले ७२ बल खेलेर ६ चौका र १ छक्का प्रहार गरे । प्रदेश १ को इनिङ धराशायी बनाउने क्रममा आर्मीका शुसान भारीले ४ विकेट लिए । ६।३ ओभरमा बलिङ गरेका उनले १ मेडनसहित १५ रन खर्चिए । त्यस्तै सोमपाल कामी, सागर पुन र साहव आलमले पनि २–२ विकेट लिए ।

यसैबीच प्रतियोगिताको समूह बी अन्तर्गत मूलपानी मैदानमा हुनुपर्ने नेपाल पुलिस र प्रदेश नम्बर ६ बीचको खेल वर्षाका कारण मैदानमा पानी जमेपछि टस पनि नभई स्थगित गरिएको छ । खेल स्थगित भएपछि दुवै टिमले एक एक अंक बाँडेका छन् ।