सुस्तायो महिला भलिबल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २४ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-न्यु डायमण्डको उदय, सरस्वती चौधरीको शसस्त्र प्रहरी बल प्रवेश । त्यसपछि पोखराको भलिबल खराब लयबाट गुज्रिन शुरु गर्यो । खराब लयबाट गुज्रिएको झण्डै आधा दशक वित्यो । उठ्नै नसक्ने गरी थलिएको पोखराको भलिबलले उठ्न अझै समय लाग्ने प्रष्ट छ ।

कुनै समय महिला भलिबलमा पोखराले एकतत्र कब्जा जमाएको थियो । तर अहिले खेलाडी नै अन्य क्लबबाट खेल्नुपर्ने बाध्यता सृजना भएको छ । पोखराले दुई भलिबल प्रतियोगितामा आफनो उपस्थिति नै जनाएन् । नेपालगन्जमा भएको प्रधानमन्त्री कपमा पोखरा वा पश्चिमाञ्चल टोलीको सहभागिता रहेन् । राष्ट्रिय भलिबल प्रतियोगितामा समेत सहभागिता नजाउदाँ काठमाडौंमा चलिरहेको आरबिबी एनभिएमा पश्चिमाञ्चलले प्रवेश नै पाएन् । पश्चिमाञ्चलले प्रवेश नपाउँदा खेलाडीहरु मन्जु गुरुङ र अरुणा शाहीले न्यु डायमण्डको टोलीमा समावेश भए ।

आरबिबी कप चलिरहँदा चार जना पश्चिमाञ्चलका खेलाडीहरु यमकली चौहान, पवित्रा जिसी, पुनम चन्द र सरस्वती खत्री चितवनको टोलीमा आवद्ध छन् । छैटौं ढोरपाटन कप महिला लिग भलिबल प्रतियोगिताका उपाधि पोखरा (ज्ञानुबाबा) र पश्चिमाञ्चल टोलीले कब्जा जमायो । त्यतिबेलासम्म सरस्वती चौधरीले पोखराबाटै खेल्दै आएकी थिईन् । त्यसपछि उनको रोजाई शसस्त्र प्रहरी बल हुन पुग्यो । शसस्त्र प्रहरीको प्रवेशसँगै रोजगारीको सुनिश्चितता भयो । अनि पश्चिमाञ्चल भलिबल टोलीको ओरालो लाग्न शुरु गर्यो ।

‘नियमित प्रशिक्षण छैन् । जुनियर लेभलबाटै परीक्षण शुरु गराउनुपर्ने खाँचो छ ।’ कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले भने–‘राम्रो खेलाडी विभागीय टोलीको आकर्षणमा परेपछि खेलाडीको अभाव हुदैं गयो । त्यसपछि नतिजापनि कमजोर आउन थाल्यो ।’ उनका अनुसार पश्चिमाञ्चलबाट खेल्ने खेलाडीहरु अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीमा आवद्ध भएका छन् । उनका अनुसार पश्चिमाञ्चलबाट खेल्ने खेलाडीहरु एपीएफमा ५ जना, नेपाल प्रहरीमा ५ जना र नेपाल आर्मीमा ४ जना खेलाडी आवद्ध भईसकेका छन् ।

पश्चिमाञ्चलको भलिबल सुस्ताउँदै गएको छ । सुस्ताएको भलिबलको नजिताले पनि प्रष्टयाएको छ । १३ औं सस्करणको ढोरपाटन महिला लिग भलिबलमा चौथो स्थानमा सीमित हुन पुग्यो । गत वर्ष पोखरामै आयोजित सृजना आमन्त्रित महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान रह्यो । पश्चिमाञ्चल टोलीले आधा दशकदेखि यस्तै नजिता आत्मसात गर्दै आएको छ ।

भलिबल उकास्न पोखरा रंगशालाभित्र भलिबल प्रशिक्षण केन्द्र निर्माण गरिएको छ । सवा करोडको लागतमा निर्मित प्रशिक्षण केन्द्रमा चारवटा भलिबल कोर्ट छन् । स्वयंसेवक भलिबल प्रशिक्षकले प्रशिक्षण दिदैंआएका छन । ‘महिला र पुरुष टिम छनोट गरी नियमित प्रशिक्षण गराउनुपर्ने आवश्यकता छ’ उनले भने–‘टिमलाई होस्टेलमै राखेर प्रशिक्षण दिने योजना जिल्ला र क्षेत्रीय खेलकुद विकास समिति एवं भलिबल संघले बनाउनुपर्छ ।’ भलिबल खेल्न चाहने खेलाडीहरुलाई प्रशिक्षण दिने व्यवस्था मिलाउनुपर्नेमा उनको जोड छ । उनका अनुसार प्रशिक्षकलाई पारिश्रमिक नै व्यवस्था गरी भलिबल प्रशिक्षण गराउनुपर्ने खाँचो छ । नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका गुरुङले पोखराको भलिबललाई पुरानै लयमा फर्काउने चुनौतिपूर्ण भएपनि जुनियर लेभलबाटै प्रशिक्षण गराए लय फर्किनेमा दृढ विश्वास रहेको सुनाए ।

पछिल्लो समय विद्यालयले पनि भलिबल खेलप्रति खासै अभिरुचि देखाएको देखिदैन् । टप्स, फिस्टेल र ज्ञानुबाबा छात्रा(महिला) भलिबलका उर्वर भूमि हुन् । ती विद्यालयमा अहिले भलिबलको चासो विगतको तुलनामा निकै कम छ । ज्ञानुबाबाले विभागिय टोली भन्दा अघिदेखि नै आफनो टिम बनाई प्रभुत्व कायम गरिसकेको थियो । त्यसको सिको गर्दै फिस्टेल र टप्सले पनि टोली बनाउँदै प्रतिस्पर्धामा उतार्दै आएको थियो ।

राम्रो खेलाडीलाई अहिले विभागिय टोलीले टपक्कै उठाउँछ । ‘पहिला जस्ता विद्यालयमा भलिबलको चार्म छैन्’ भलिबल प्रशिक्षक कौशिला खत्रीले भनिन¬–‘नियमित प्रशिक्षण समेत छैन् । त्यसैले खेलाडीको अभाव हुदैं नजिता पनि ओरालिदैं गएको छ ।’ विद्यालयमा जस्तै भलिबलको एकेडेमी बनाउन नसकिएको गुनासो भने उनको थियो ।
भ्लिबलको लागि हिजो बातावरण थिएन् । खेलाडी थिए । अहिले बातावरण छ तर खेलाडी छैनन् । भलिबल प्रशिक्षण केन्द्रको निर्माणले बातावरण बनेपनि खेल्ने खेलाडीमा उत्सुकता छैन् । ‘खेल्न चाहने खेलाडीलाई बिहानी समयमा प्रशिक्षण दिदैं आएका छौं ।’ प्रशिक्षक खत्रीको भनाई थियो ।

कास्की जिल्ला भलिबल संघले पनि भलिबलको स्तरबृद्धि गर्न ग्रास लेभलबाटै शुरु गर्नुपर्नेमा जोड दिदैं आएको छ । स्कुलबाटै खेलाडीले उत्पादन गर्दै लैजान आवश्यक रणनीति अख्तियार गर्नुपर्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुली स्वीकार्छन् । ‘खेलाडी उत्पादन भए । तर संरक्षण भएनन् । त्यसैले खेलाडी अन्यत्र गए ।’ उनले भने–‘स्कुलले लगानी अनुसारको प्रतिफल पाउन सकेनन् । त्यसले गर्दा भलिबलप्रतिको चासो विस्तारै स्कुलमा घट्दै गएको छ ।’ प्रतिफल पाउने बेलामा खेलाडीलाई विभागीय टोलीले लैजाने प्रवृत्ति बढ्दै गएको छ ।

भलिबलप्रति हेर्ने दृष्टिकोण पनि सकारात्मक बन्नुपर्छ । भलिबलमा काम गर्ने बातावरण नै नभएको ठम्याई उनको छ । ‘हौसला भन्दा हतोत्साहित बनाउने तत्वको हावी छ । त्यसैले भलिबलको स्थिति दयनीय बन्दै गएको हो ।’ उनले भने¬–‘काम गर्नेको सम्मान नहुदाँ भलिबलको गति उँधो लागेको हो ।’ संघले पुर्वाधार निर्माणमा जोड दिदैं प्रशिक्षण केन्द्रको निर्माणपछि नियमित प्रशिक्षण शुरु गरिएको छ । केन्द्रमा स्वयं सेवक प्रशिक्षक बुद्धि सिंहले प्रशिक्षण दिदैं आएका छन् । file pic-Agency