पुरुष तर्फ जुम्लाका बुढा र महिला तर्फ राईलाई तेस्रो ट्रेल रेसको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २६ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा ट्रेल रेस तेस्रो सस्करणको उपाधि जुम्लाका धिरबहादुर बुढाले जितेका छन् । २५ किलोमिटरको रेस उनले २ घण्टा ४ मिनेटमा पुरा गर्दै उपाधि जिते । मालेपाटनस्थित मनकामना मन्दिरबाट शुरु भई सराङकोटको मेथ्लाङ, ग्यारजाती, कास्कीकोट, गुन्टेचौर, तोरीपानी, रातोमाटो डाडाँ हुदैं मनकामना मन्दिरमा आई टुगिएको दौडमा सुमन कुलुङ राई दोस्रो स्थानमा चिक्त बुझाए ।

पहिलो र दोस्रो सस्करणका विजेता समेत रहेका राईले २ घण्टा १६ मिनेट लगाउँदै दोस्रो स्थानमा सीमित हुदैं नगद ५ हजारमा चिक्त बुझाए । प्युठानका दामोदर बुढामगर भने तेस्रो बन्न सफल भए । उनले २५ किलोमिटरको दुरीलाई २ घण्टा २३ मिनेटको समय लगाई पुरा गरे । उनी एकसाता अघि जेठ २० गते भएको अन्नपूर्ण म्याराथनमा समेत सहभागिता जनाउँदै दशौंस्थानमा रहदै दौड पुरा गरेका थिए ।

महिला तर्फको सोही इभेण्टमा अनिता राईले ३ घण्टा २५ मिनेट लगाउँदै प्रथम स्थान हासिल गर्दै नगद १० हजार पुरस्कार जितिन् । लम्बुटी लामाले ३ घण्टा ३७ मिनेटमा २५ किलोमिटरको ट्रेल रेस पुरा गरेर दोस्रो स्थानमा रहँदै नगद ५हजार पुरस्कार थापिन् । त्यस्तै इन्द्रकला राईले ३ घण्टा ४५मिनेटको समय लगाउँदै दौड पुरा गरेर तेस्रो स्थानको हकदार बनिन् । उनले नगद २ हजार ५ सय रुपैयाँ पुरस्कार स्वरुप थापिन् ।

यु–१८ पुरुष तर्फको प्रतिस्पर्धामा किरण क्षत्रीले २ घण्टा ४८ मिनेटमा पुरा गर्दै प्रथम, प्रेम विकले २ घण्टा ५३ मिनेटमा दोस्रो र खेमराज गुरुङले २ घण्टा ५४ मिनेटमा समयमा पुरा गर्दै तेस्रो स्थानको पुरस्कार थाप्दै प्रतियोगिता टुग्याए । महिला तर्फको प्रतिस्पर्धामा लम्बुटी लामा प्रथम हुदाँ खेन्दो लामाले ४ घण्टा ९ मिनेट ४ सेकेण्डमा पुरा गरेर दोस्रो स्थानमा सीमित भईन् ।

७ किलोमिटर दौड पुरुष तर्फको उपाधि नरबहादुर कार्कीले जित्न सफल भए । उनले दौड ३७ मिनेटमा पुरा गरेका थिए । अनिल माझकोटीले ३८ मिनेटमा पुरा गर्दै दोस्रो र ३९ मिनेटमा दौड पुरा गरेका सागरबहादुर क्षत्री तेस्रो स्थानमा चिक्त बुझाए । महिला तर्फको प्रतिस्पर्धामा नेपाल आर्मीकी धाविका बास्ना थापाले ५१.५७ मिनेटमा पुरा गर्दै नगद पुरस्कार ३ हजार जितिन् । अनिता राई एक मिनेट पछि पर्दै दोस्रो स्थानमा रहिन् । न्युजिल्याण्डकी रेविका सेण्डर्सले १ घण्टा ३ मिनेटको समय लगाउँदै तेस्रो पुरस्कारको हकदार बनिन् ।

यु–१६ सातकिलो मिटर दौडमा पुरुष तर्फको इभेण्टमा प्रविन शेर्पा, साजन सुनार र सागर थापामगर क्रमश प्रथम, द्धितीय र तृतीय भएका छन् । महिला तर्फको प्रतिस्पर्धामा भने बाराही मावि मालेपाटन पोखराका विद्यार्थीत्रय रेणु थापा, उर्मिला तामाङ र विनिता सुनारले प्रथम, द्धितीय र तृतीय स्थानको पुरस्कार जिते । भेट्रान्स तर्फ दामोदर बुढा मगरले जिते । त्यस्तै ५५ वर्षिय धावक तेजबहादुर गुरुङले समेत भेट्रन्स खेलाडीको पुरस्कार पाउन सफल भए ।

हराउँदै गएको पदमार्गको पहिचान, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरा ट्रेल रेस सिरिजले एक वर्षमा चार पटक फरक फरक स्थानमा ट्रेल रेस प्रतियोगिता गर्दै आएको छ । रेसलाई रेडबुलले मुख्य प्रायोजन गर्दै आएको छ । तेस्रो सस्करणमा दश विदेशीसहित १२० जनाले विभिन्न विधामा प्रतिस्पर्धा गरेको सिरिजका अध्यक्ष विकास गुरुङले जानकारी दिए । पुरुष र महिला तर्फको विजेताले नगद १०, ५ र २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पाए ।

यु १८ का विजेता महिला तथा पुरुष खेलाडीले नगद पुरस्कार क्रमश ३, २ र १ हजार पाउन सफल भए । ७ किलोमिटर यु १६ इभेण्टको विजेता महिला तथा पुरुषले पनि नगद ३, २ र १ हजार पुरस्कार स्वरुप थापेका छन् । विजेता खेलाडीहरुलाई जिल्ला खेलकुद विका समितिका कार्यालय प्रमुख प्रकाश बरालले नगदसहित पदक तथा प्रमाणपत्र वितरण गरेका थिए
ट्रेल रेस पुरा गरेवापत धावकले १ अंक समेत प्राप्त गर्नेछ ।

चार अंक प्राप्त गरेको अवस्थामा ट्रेल रेसको अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाउने पाउने पोखरा ट्रेल रेस सिरिजका अध्यक्ष विकास गुरुङले जानकारी दिए । चार अंक प्राप्त गरेको अवस्थामा ट्रेल रेसको अन्तिम प्रतिस्पर्धामा सहभागितासँगै विजेताले नगद एकलाख रुपैयाँ पाउने मात्रै नभई अन्तराष्ट्रिय ट्रेल रेसमा समेत सहभागिता जनाउन पाउने जानकारी दिए । ट्रेल रेसका ग्राण्ड फिनाले भने आगामी असोजमा गरिने छ । उनका अनुसार ट्रेल रेसको अन्तिम सस्करणमा उपविजेता हुनेले ५० हजार र तेस्रो हुनेले नगद २५ हजारसहित ट्रफी पाउने छन् ।