खेलकुदको पुर्वाधार विकासमा महानगर र प्रदेशको चासो, क्रिकेट मैदान बनाउन सुझाव

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १९ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) –प्रदेश सरकारले एक नगरपालिका एक रंगशाला निर्माण गर्ने नीति बनाएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा रंगशाला निर्माणको लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पार्न आवश्यक छलफल गरिरहेको छ । प्रदेश सरकारले पोखरा लेखनाथ महानगरपालिकासँग समेत आवश्यक सरसल्लाह गरेको छ । महानगरपालिकाले पनि जिल्ला खेलकुद विकास समितिलाई परिपत्र गर्दै भौतिक सरंचनाको अवस्था र आवश्यक पुर्वाधारको विषयमा जानकारी मागेको छ । पोखरा रंगशाला ४१७ रोपनी क्षेत्रफल छ । अन्तर्राष्ट्रियस्तरको पोखरा फुटबल स्टेडियम बनाउन युवा तथा खेलुकद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद मार्फत ५३ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । स्टेडियम बनाउन ग्लोबल टेण्डर समेत आह्वान भईसकेको छ । क्रिकेटको पेभेलियन सहितको मैदान बनाउन आवश्यक डिपिआर तयार भईसकेको छ ।

‘प्रदेश सरकार र महानगरपालिकाले खेलकुदको पुर्वाधार विकासमा सहकार्य गर्ने तयारीमा छौं ।’ पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले भने–‘प्रदेशस्तरीय रंगशाला बनाउन लक्ष्यसहित आवश्यक छलफल भईरहेको छ ।’ पोखरा रंगशालाभित्र भलिबल प्रशिक्षण केन्द्र, ह्याण्डबल कोर्ट, सेमी कभर्डहल, व्याडमिन्टन कोर्ट, लनटेनिस कोर्ट, स्क्वास सेन्टर, आर्चरी मैदान तथा बहुउद्देश्यीय कभर्ड हल छन् । बहुउपयोगी डोम निर्माणको लागि ४ करोड बजेट विनियोजन भईसकेको छ ।

महानगरपालिकाले पोखरा रंगशालाभित्र विस्तृत अध्ययन प्रतिवेदन समेत तयार भईसकेको क्रिकेटको पुर्वाधार बनाउनुपर्नेमा जिल्ला खेलकुद विकास समितिले जोड दिएको छ । क्रिकेटको लागि परिषदले केवल १० लाख रुपैयाँ मात्रै विनियोजन गरेको छ । ‘प्रदेश सरकार र महानगरपालिकाले डिपिआर तयार भईसकेको भौतिक पुर्वाधारसहितको क्रिकेट मैदान बनाउन लगानी जुटाउदाँ उपयुक्त हुन्छ ।’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘अन्य खेलको आवश्यक खेलकुद पुर्वाधार रंगशालाभन्दा बाहिर बनाउनुपर्छ ।’

उनले पुर्वाधार निर्माण गर्ने नाममा रंगशाला सानो सानो खण्डीकरण हुदैं गएको भन्दै रंगशालाभन्दा बाहिर पनि खेलकुदको पुर्वाधार बनाई खेलकुदको विकास गर्नुपर्ने बताए । मन्त्रालयले नगरपालिकासँगको सहकार्यमा रंगशाला निर्माणको लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने नीति तथा कार्यक्रम बनाएको छ । त्यसको लागि मन्त्रालयले तीन करोड रुपैयाँ बजेट छुट्टाएको छ । सम्भाव्य अध्ययनपछि मात्रै नगरपालिका र मन्त्रालय बीच छलफल गरी विस्तृत अध्ययन प्रतिवेदन तयार परिने छ ।

खेलकुदको पुर्वाधारको लागि चीनले समेत चासो दिएको मेयर जिसीले सुनाए । प्रदेश सरकार भौतक योजना तथा निर्माण मन्त्रालयसँग खेलकुदको पुर्वाधार निर्माणमा चीनले चासो दिईरहेको मेयर जिसीले बताए । ‘प्रदेस सरकारसँग चीनले पुर्वाधार बनाउने विषयमा चासो दिईरहेको छ ।’उनले भने–‘त्यसको लागि आवश्यक ठाँउ हेरेर निर्णयमा पुग्ने छौं ।’

प्रदेशमा बहुउपयोगी खेल मैदान बनाउने योजना अनुरुप भौतिक तथा पूर्वाधार बिकास मन्त्रालयले महानगरपालिकासँग जग्गा माग गरेको मेयर जिसीले सुनाए । चिनिया कम्पनीले प्रदेश ४ का लागि बहुउपयोगी खेल मैदानको पहिलो चरणमा डिपिआर तयार गर्ने भएपछि मन्त्रालयले महानगरलाई उपयुक्त जग्गा माग गरेपछि महानगरपालिकाले जिल्ला खेलकुद विकाससँग भइरहेको पुर्वाधारसहितको विवरण माग गरेको थियो । माग गरिएको परिपत्र अनुसार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले मेयर जिसीलाई विवरणसहितको पत्र सोमबार पेश गरेका छन् ।