क्रिकेट स्टेडियम अन्यत्र बनाउन उपयुक्त नहुने खेलकुदकर्मीको सुझाव

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २० गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा बाहेक अन्यत्र जिल्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र गल्फ कोर्षको पुर्वाधार निर्माणको सम्भावना नभएको पोखराका खेलकुदकर्मीले सुझाव दिएका छन् । भौतिक पुर्वाधार, सुरक्षा, आवास(होटल), स्वास्थ्य सेवाको आधारमा जिल्लामा आवश्यक जग्गा हेरिएपनि पोखरा भन्दा अन्य जिल्लामा उपयुक्त नहुने निष्कर्ष उनीहरुको थियो ।

सामाजिक विकास मन्त्रालयले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र गल्फ कोर्षको सम्भाव्य अध्ययनको लागि पाँच जिल्लाको २६ ठाँउ हेरिएको जनाएको छ । हेरिएको जग्गामध्ये दुई वटा गल्फ कोर्षका छन् । बाँकी २४ स्थान भने क्रिकेटको लागि अध्ययन गरिएको थियो । गल्फको लागि हेरिएको दुई ठाँउमध्ये एक पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्ष पनि रहेको छ । प्रतिवेदनमा निजी क्षेत्रबाट सञ्चालित गल्फ कोर्षलाई सरकारले सहयोग गर्न सके अझै राम्रो हुने उल्लेख छ ।

‘हामीले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने मात्रै भनेर हुदैन् । त्यसको भौगर्भिक अवस्था हेरिनुपर्छ ।’ प्रा.डा. विरेन्द्रसिंह गुरुङले भने–‘आउटफिल्ड भन्दा पनि पिच बनाउने उपयुक्त जमिन हुनुपर्छ ।’ अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट पिच बनाउन फिल्ड(जमिन) राम्रो हुनुपर्नेमा उनको जोड थियो । उनले पोखरा रंगशालाको मैदान भौतिक पुर्वाधारसहित अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन राम्रो हुने अभिव्यक्ति दिए । उनकै अगुवाईमा क्रिकेट मैदान निर्माण गरिएको हो ।

क्रिकेट मैदान निर्माण समितिका तत्कालिन सदस्य अशोक पालिखेले अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम बनाउन पोखरा बाहेक अन्यत्र उपयुक्त नहुने जिकिर गरे । ‘रंगशालाभित्रको मैदानलाई अन्तर्राष्ट्रियस्तरको म्याच ग्राउण्ड बनाउन ठिक छ ।’ उनले भने–‘प्राक्टिसको लागि पोखराभित्रै अन्य ठाँउमा मैदान बनाउन जरुरी छ ।’ उनले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्दा खेलाडी र खेलपदाधिकारीलाई दिईने सुविधा पोखरा भन्दा बाहेकका अन्य जिल्लामा नभएको दावी गरे ।

‘बजार, स्वास्थ्य सेवा, यातायातको पहुँच र होटल जस्ता पुर्वाधार हेर्ने हो भने काठमाडौपछि पोखरा नै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताको लागि उपयुक्त हो ।’उनको भनाई थियो । उनले पोखरामा अन्तर्राष्ट्रिय मैदान बनाउने र अन्यत्र प्राक्टिस म्याचको लागि मैदान बनाउने काम पनि उपयुक्त देखिने स्पष्ट पारे । उनले जिल्लाको क्रिकेटस्तर बढाउन प्राक्टिस मैदान बनाउनुपर्ने सुझाव समेत दिए ।

पोखरा रंगशालाभित्रको क्रिकेट मैदानको भौतिक संरचनासहितको पुर्वाधारको लागि विस्तृत कार्ययोजना प्रतिवदेन (डिपिआर) तयार भईसकेको छ । २० हजार दर्शक क्षमताको पेभेलियन बनाउने लक्ष्यसहितको डिपिआर भएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । उनका अनुसार पेभेलियनसहितको पुर्वाधार बनाउन एक अर्ब २० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान समेत गरिएको छ ।

सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत कृष्ण तिमिल्सिनाका अनुसार २६ स्थानमध्ये केही ठाँउहरुमा मैदान बनाउन सकिने धारणा राखे । मंगलबार मन्त्रालयमै आयोजित छलफलमा जानकारी दिदैं उनले केही जग्गा उपयुक्त भएपनि खर्चको हिसाबले धेरै गर्नुपर्ने देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरेका छन् ।

क्रिकेटको लागि स्याङजाको श्रवणकुमार मालेबगर, लामापाटन क्रिकेट मैदान पोखरा १५ फुलबारी रिसोर्ट पछाडिको जग्गा उपयुक्त ठहर गरिएको छ । अन्य ठाँउमा भने जग्गा थोरै भएकोले प्राक्टिस खेल मैदान बनाउन मात्रै सकिने प्रतिवेदनमा उल्लेख छ । गल्फको लागि विपी खेलकुद ग्राम गैडाकोट नवलपुरमा हेरिएको छ । नारायणी नदीको पानी पस्ने भएकोले तटबन्ध लगाउन खर्च लाग्ने देखिएको छ । नदीमा तटबन्ध बाँधिएको अवस्थामा गल्फसँगै अन्य खेलहरु समेत सञ्चालन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

छलफलमा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, कार्यालय प्रमुख प्रकाश बराल, कास्की जिल्ला क्रिकेट संघका पदाधिकारी, क्षेत्रीय क्रिकेट संघका पदाधिकारी एवं अध्ययन टोलीका सदस्यहरुको उपस्थिति रहेको थियो ।